बर्दिवास, १ कात्तिक। नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेलले सांसद र मन्त्री हुँदा महोत्तरीमा आफूले गरेका काम नै यसपटक आफ्नो चुनाव जित्ने आधार भएको बताएका छन्।
त्यसक्रममा पूर्वमन्त्रीसमेत रहेका पोखरेलले सांसद र मन्त्री हुँदा महोत्तरीमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफूले दीर्घकालिन महत्व राख्ने धेरै काम गरेको बताए।
विगतमा आफूले गरेका काम र सत्ता गठबन्धनका दलको साथले आफू पुनः चुनावमा विजयी हुने विश्वास पनि उनले व्यक्त गरे।
सांसद र मन्त्री हुँदा आफू सधैं महोत्तरीका जनताको साथमा रहेकाले पनि आफूलाई जनताले पुनः विजयी बनाउने विश्वास पनि उनले व्यक्त गरे।
उनले जिल्लामा चार दलीय गठबन्धनबाट उम्मेदवार बनेका सबै उम्मेदवारलाई विजयी बनाउने गरी दलहरुबीच समन्वय र समझदारी बनेको बताए।
महोत्तरी १ का दुबै प्रदेशसभाका क्षेत्रमा माओवादी केन्द्रबाटै बागी उम्मेदवारी परेको छ। महोत्तरी १ को (क) मा नेता राजन ढुंगाना र ९ख०मा विष्णु लामाले उम्मेदवार दिएका छन्। महोत्तरी १ को (ख) मा माओवादीले भरत साहलाई उम्मेदवार बनाएको छ।
‘बागी उम्मेदवारी निस्क्रिय बनाउन पार्टी केन्द्रले नै आग्रह गरेको छ,’ पोखरेलले भने, ‘उहाँहरुले आफ्नो उम्मेदवारीमा पुनर्विचार गर्नुहन्छ भन्ने मेरो विश्वास छ।’ बागी उम्मेदवारी फिर्ताको लागि पहल भइरहेको पनि उनले जानकारी दिए।
नेपालखवरबाट।