वीरगञ्ज, ३१ असोज। मधेश प्रदेशको राजधानी वीरगञ्ज नबनेर जनकपुर बन्नु नै मधेश प्रदेशका मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दीका प्रतिद्वन्द्वीहरुले उठाउने प्रमुख एजेण्डा बनेको छ । पर्साको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निकटम प्रतिद्वन्द्वीलाई २ हजार ९ सय ७५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका गद्दी प्रदेशको राजधानीका विषयमा मौन बस्नु यस क्षेत्रका जनताका लागि भोट नदिने कारण बनेको देखिन्छ।

333 (2)

राजधानीको विषयसँगै पछिल्लो समय व्यापक चर्चा चलेको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियानअन्र्तगतको साइकल वितरण प्रकरणमा भएको अनियमितता पनि उनका विपक्षीहरुले निरन्तर रुपमा औँल्याइरहेका छन्।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ (क) बाट १ हजार ४ सय २२ मतले पराजित भएका नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण प्रसाद कुर्मी यसपटक मुख्यमन्त्रीको विरुद्धमा उभिएका छन्। कुर्मी नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार हुन् भने मुख्यमन्त्री राउत जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनका उम्मेदवार हुन्।

कुर्मी तत्कालिन संघिय समाजवादी फोरम हाल जसपाका जन्नत अन्सारीसँग पराजित भएका थिए। कुर्मीले ७ हजार १ सय ७१ मत पाउँदा अन्सारी ८ हजार ५ सय ९३ मत पाएर निर्वाचित भएका हुन् । यसपटक निर्वाचन क्षेत्र नम्बर १ (क) नेकपा माओवादी केन्द्रको भागमा परेपछि कुर्मीलाई १(ख) को उम्मेदवार बनाइएको हो। ५ दलीय गठबन्धनबाट कुर्मी र जसपा–एमाले गठबन्धनबाट मुख्यमन्त्री गद्दीसँगै प्रतिस्पर्धा गर्न २ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

मुख्यमन्त्रीको विकल्पमा मेरो उम्मेदवारी : सर्राफ
सामाजिक अभियानता एवम् लोसपा वीरगञ्ज महानगर समितिका अध्यक्ष ओमप्रकाश सर्राफले मुख्यमन्त्रीको विकल्पमा आफुले उम्मेदवारी दिएको भन्दै दावी गरीरहेका छन्। सर्राफ सामाजिक कार्यमा लामो समयदेखि सक्रिय छन्। वीरगञ्जले मुख्यमन्त्री पाएकोमा गर्व गर्नुपर्ने भएपनि मुख्यमन्त्रीले वीरगञ्जको लागि केही दिन नसक्दा अब उनलाई बिस्थापित गर्नुपर्ने सर्राफको अडान छ।

सर्राफले २०७४ सालको निर्वाचनमा पनि मुख्यमन्त्रीकै विरुद्धमा स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए। त्यतिबेला ५ सय ७१ मत ल्याएर उनी चौथो स्थानमा रहे। यसपटक पहिलो स्थानमा आफु नै हुने र जनताले आफ्नो मूल्यांकन गर्नेमा सर्राफ बिश्वस्त देखिन्छन्। राजधानी जनकपुर बनाउने, साइकल प्रकरणमा अनियमितता, मुख्यमन्त्री स्वच्छता अभियान लगायतका योजनामा पनि अपारदर्शीता मात्रै नभएर आफ्नो क्षेत्र अँझ विशेष गरी वीरगञ्जको लागि विकासको सिन्को समेत भाँच्न नसकेका गद्दीलाई पुनः जिताउने कुनै आधार नभएको सर्राफ बताउँछन्।

गठबन्धनबाट जनता असन्तुष्ट छन् : मियाँ
मधेश आन्दोलनका संस्थापक नेता शशिकपुर मियाँ पनि मुख्यमन्त्री गद्दीको भ्रष्ट प्रवृतिको विरुद्धमा उम्मेदवारी दिएको दावी गर्छन्। लोसपाका केन्द्रीय सदस्यसमेत रहेका मियाँले टिकट नपाएपछि राजीनामा दिएर स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन्। भ्रष्टाचार, दलिय सिन्डिगेटको विरुद्धमा उम्मेदवारी दिएको बताउँदै उनले शिक्षा, स्वास्थ्य र रोजगार आफ्नो प्राथमिकतामा रहने बताए। दलीय गठबन्धनले देशलाई निकास नदिने हुँदा जनता गठबन्धनदेखि आक्रोशित बनेको उनको भनाई छ। एकातिर ५ दलीय गठबन्धन र अर्काेतिर जसपा एमाले गठबन्धनका अघि स्वतन्त्रलाई जनताले पत्याउन् भन्ने प्रश्नको जवाफ दिँदै मियाँले भने, “यो गठबन्धन हैन, ठगबन्धन हो। नेताहरुको टाउको मात्रै मिल्दैमा जनताले गठबन्धनलाई नै मत दिनुपर्ने भन्ने छैन। केन्द्रका नेताहरु मिलेर गठबन्धन गरेपनि जिल्लाका अधिकांश नेतादेखि कार्यकर्ता र आम जनता पनि यसबाट असन्तुष्ट छन्।” उनी थप्छन्, “विगतमा आन्दोलन गरेको र निरन्तर जनताकै माझमा रहेका कारण जनताले नै मलाई उम्मेदवार बनाएका हुन् अब जनताले नै जिताउँछन्।”

हिजोसम्म केपी ओली हत्यारा हो भन्ने पार्टीले मनोनयन गर्नुभन्दा २४ घण्टा अघि ओलीसँगै घाँटी मिलाउनुले जनता र देशका लागि नभई आफ्नो कुर्सी र सिट जोगाउन गठबन्धन गरेको स्पष्ट हुने उनको जिकिर छ। मुख्यमन्त्री गद्दीले पदका लागि राजधानी बेचेको आरोप लगाउँदै पर्साबासीको शिर झुकाउने काम गरेको मियाँको टिप्पणी छ।

जनताको आँखामा छारो हाल्ने योजना बिफल हुन्छ : कुर्मी
मियाँ र सर्राफजस्तै नेपाली कांग्रेस पर्साका उपसभापतिसमेत रहेका रामनारायण प्रसाद कुर्मी पनि मुख्यमन्त्री राउतको विकल्पमा आफुलाई उभ्याएको बताउँछन्। पर्सा जिल्लाबाटै मुख्यमन्त्री बन्दा जनताले धेरै आशा गरेपनि राउतले आशालाई पूरा गर्नुको साटो उल्टै निराशा बनाएको कुर्मीको बुझाई छ।

यसअघिकै निर्वाचनमा जनताको माझमा गरिएको प्रतिबद्धता र एजेण्डाहरुमा केही विकास नभएको अवस्थामा अब फेरी जनताको आँखामा छारो हाल्ने योजनालाई विफल बनाउन जनता सचेत भइसकेको कुर्मीले बताए। उनले भने, “अवसर पाउँदा पनि जनताको लागि र आफ्नो ठाउँको लागि केही गर्न नसक्ने व्यक्तिलाई फेरी अवसर दिनु हुँदैन।”

यसअघि पराजित भएर पनि निरन्तर जनताकै माझमा रहेका कारण आफुलाई जनताले बिश्वास गर्ने र मतदान गर्ने उनी बताउँछन्। देशको आवश्यक्तालाई मध्यनजर गरेर गठबन्धन भएको बताउँदै उनले ५ दलीय गठबन्धनलाई कसैले हराउन नसक्ने दावी गरे।


फेरी निर्वाचित हुनेमा मुख्यमन्त्री राउत बिश्वस्त
आफ्नो कार्यकालमा गरेका कामकै कारण आफु पुनः निर्वाचित हुने मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीको दावी छ । मधेश प्रदेश नामाकरण गरेर प्रदेशवासीलाई पहिचान दिलाउन सक्नु मुख्य उपलब्धी भएको उनको ठम्याई छ।

आफ्नो कार्यकालमा ल्याएका लोकप्रिय एवम् प्रभावकारी कार्यक्रमकै मूल्यांकन गरेर जनताले फेरी आफुलाई नै मतदान गर्नेमा उनी ढुक्क छन् । राजधानी पदका लागि बेचेको आरोप लगाउनेहरुलाई इंकित गर्दै उनले भने, “राजधानी बनाउने मुख्यमन्त्रीको काम हैन, मैले मात्रै चाहेर हुने भए म किन जनकपुर बनाउँथे ?” कतिपय योजनाहरु ठेकेदार एवम् निर्माण कम्पनीको कारण अधुरा रहेपनि आफ्नो कार्यकाल समग्रमा सफल भएको हुँदा जनताले निसंकोच मत दिने उनी दावी गर्छन्। साइकल वितरणमा भएको अनियमितताका विषयमा उनले मुख्यमन्त्रीको काम खरिद गर्ने नभएको भन्दै न्यायलयमा गएको विषयमा धेरै नबोल्ने बताए। आफ्नै प्रहरी प्रशासन हुने जनलोकपाल विद्येयक लगायतका राम्रा कामहरु आफ्नै पालामा हुनुका साथै महिला तथा छोरीको क्षेत्रमा उल्लेख्य परिवर्तन आएको जिकिर गरे।

संघिय सरकारको विरुद्धमा मधेश प्रदेशले आधा दर्जन बढी मुद्दा लगाएर पनि ५ वर्ष सम्म सरकार टिकेकोमा उनी इतिहास रचिएको बताउँछन्।

यद्यपी वीरगञ्ज महानगरपालिकामा गर्नुपर्ने काम धेरै भएको उनी स्विकार गर्छन्। वीरगञ्ज महानगरपालिका भएपनि महानगरका लागि आवश्यक पर्ने आधारभुत पूर्वाधारको कमी भएको बताउँदै उनले पहिलो कार्यकालमा नीति निर्माणदेखि केही अन्यौलताका बिच बितेपनि अबको समयमा विकासले तिव्रता पाउने उनको भनाई छ। युवाहरुलाई स्वरोजगार बनाउने, दलित एवम् गरिबहरुको आवास निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, कृषिलाई बढी प्राथमिकता दिने उनले बताए।

ab mall