सिरहा, २२ असोज। लेखक, पत्रकार तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रामरिझन यादवले सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। कसैसँग कुनै सहयोग र चन्दा नलिई आफैले लेखेको पुस्तक ‘मानव साङ्गलो’ बेचेर आएको पैसाबाट चुनाव लड्ने घोषणा गरेका हुन्।
यादवले आफ्नो फेसबुक स्टाटसमा कुनै व्यक्ति वा संस्थाको सहयोग नलिई ‘एक भोट एक पुस्तक’ अभियानका साथ स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेको बताए। उनले भने, ‘क्षेत्रका प्रत्येक मतदातासँग मत माग्न जाने र त्यो पुस्तक खरिद गर्न आग्रह गर्ने बताउँदै उनले त्यहीँ पुस्तक बिक्री भएको आम्दानीबाट चुनाव लड्छु’ कसैसँग अनुचित चन्दा सहयोग लिन्न।’
उनी आफू नेपाल समाजवादी पार्टीमा नरहेको दावी गरे। उनले भने, ‘‘जसपा नेपाल विभाजन हुँदा म अस्पतालमा थिए, त्यो विभाजनसँग मेरो कुनै सरोकार थिएन, तैपनि मेरो नाम नेपाल समाजवादी पार्टीमा राखिएको छ।’
नेता यादव दलको उम्मेदवार भएर चारपटक चुनाव लडेका छन् । उनी चारै पटक पराजय भएका थिए। २०५६ को आमनिर्वाचन र २०६४ को संविधानसभा चुनाव तत्कालीन संयुक्त जनमोर्चाबाट लडेका थिए भने २०७० को संविधानसभा चुनाव माओवादीको तर्फबाट लडेका थिए। २०७४ को चुनावमा उनी तत्कालीन नयाँ शक्ति पार्टीबाट समानुपातिक उम्मेदवार थिए।
यो पटक भने यादवले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। हालै उनको मुटुको अप्रेसन पनि भएको छ। उनलाई डाक्टरले आराम गर्न लागि भने पनि उनी चुनावमा होमिने भएका छन्।