काठमाडौं, १८ असोज। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताका सहितको कार्यक्रम सार्वजनिक भएको छ।

yash momo Ad i

आयोगका अनुसार प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहनेहरूले यही असोज २३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गर्न सक्नेछन्। अब उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने दिन आउन ५ दिन मात्र बाँकी छ। 
असोज २३ गते नै साँझ ५ बजेदेखि ७ बजेसम्म मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन गरिने आयोगले जनाएको छ। 

आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय उम्मेदवारको विरोधमा उजुरी दिनका लागि तोकिएको छ। 

यस्तै असोज २४ र २५ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णयका लागि समय तोकिएको छ। आयोगका अनुसार असोज २५ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशनका लागि समय तोकिएको छ।

असोज २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय उम्मेदवारी फिर्ता लिने चाहनेका लागि छुट्याइएको छ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय उम्मेदवारको अन्तिम नामावली प्रकाशनका लागि तोकिएको आयोगले जनाएको छ। 

आगामी मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चयनका लागि एकसाथ चुनाव हुँदै छ।