जनकपुर, ८ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरका युवाहरुले कालो झण्डा देखाउँदै विरोध गरेका छन्। केपी ओली मधेशविरोधी नेता भएको भन्दै उनीविरुद्ध चर्को नारालगाउँदै युवाहरुले कालो झण्डा देखाइएका हुन्।
जनकपुर विमानस्थलबाट जनकपुर– जयनगर रेल चढ्न जाने क्रममा उनलाई जसपा र एकीकृत समाजवादीका कार्यकर्ताले कालो झण्डा देखाउँदै नाराबाजी गरेका थिए। उनीहरुले ओलीले मधेशविरोधी गतिविधि गरेको र राष्ट्रपतिलाई ओलीले नै नागरिकता विधेयक पारित गर्न नदिएर देशमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएका छन्।
धनुषाको विदेह नगरपालिकास्थित तीनकौरियामा पार्टी प्रवेश कार्यक्रममा जान ओली रेल चढेर महिनाथपुर स्टेशनसम्म पुगेका छन्।
यसअघि भदौ २७ गते जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा आउँदा नागरिकता विहीन युवाहरुको समूहले कालो झण्डा देखाएका थिए।
जनकपुर विमानस्थलबाट ओली गाडीमा अगाडि बढ्न खोजेपछि नजिकै सडकमा कालो झण्डा लिएका युवाहरुले नाराबाजी गरेका थिए। सो क्रममा युवाहरु र प्रहरीबीच सामान्य झडप समेत भएको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुमा नेकपा एमालेको मुख्य भूमिका रहेको भन्दै मधेशका विभिन्न जिल्लामा विरोध भइरहेको छ।