रौतहट, ७ असोज। मधेश प्रदेशमा दैनिक १४ वटा सवारी दुर्घटना हुने गरेको एक तथ्यांकले देखाएको छ। प्रदेशका ८ वटा जिल्लामा दैनिक १४ वटा सवारी साधन दुर्घटना हुँदा १ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते हुने गरेको मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्याङ्कले देखाएको हो।
चालु आर्थिक वर्ष २०७९÷८० को साउन र भदौ महिनामा मात्रै मधेश प्रदेशमा ८ सय १४ वटा सवारी दुर्घटना भएका छन्। २ महिनाको अवधिमा भएका दुर्घटनामा ४७ जना पुरुष, ११ जना महिला र ५ जना बालबालिका गरी ६३ जनाले ज्यान गुमाएको ट्राफीक प्रहरी कार्यालय पथलैयाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
सोही अवधिमा भएका दुर्घटनामा परेर १ हजार २ जना पुरुष, २ सय ७४ जना महिला र १ सय ३१ जना बालबालिका घाइते भएका छन्। बढ्दो सवारीको चाप, तिव्र गति, साँघुरो बाटो तथा कतिपय अवस्थामा चालकको लापरवाहीका कारण सवारी दुर्घटना हुनेगरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ्ले बताए।
बाटोको क्षमताभन्दा बढी गतिमा चलाउने ३० सवारी साधनलाई सिसिटिभी तथा राडार गन क्यामराको माध्यमले कार्वाही गरिएको पनि गुरुङ्ले जानकारी दिए। कार्वाहीमा परेका उक्त सवारी साधनबाट जरिबाना स्वरुप २३ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरीएको टफिक प्रहरीको तथ्यांकमा उल्लेख छ।
मधेश प्रदेशको आठै जिल्लामा ट्राफीक नियम विपरित चलेका ४७ हजार ९६ सवारी साधनलाई कार्वाही गरीएको छ। कार्वाहीबाट कुल ३३ करोड ५८ लाख ५ हजार राजश्व संकलन भएको सूचना अधिकारी एवम् डिएसपी लक्षमी भण्डारीले बताए।
गत आर्थिक बर्षमा मापदण्ड भन्दा बढी गतीमा चलेका २ हजार ९ सय ६९ सवारीलाई राडार गनको सहयोगले भएको कार्वाहीबाट १८ लाख ४१ हजार रुपैयाँ राजश्व संकलन भएको थियो।
त्यस्तै सोही अवधिमा मधेश प्रदेश भरीमा ट्राफीक नियम विपरित चलेका २ लाख ६४ हजार ३ सय १० वटा सवारीलाई गरीएको कार्वाहीबाट २ अर्ब २४ करोड ४४ लाख ५ सय रुपैया राजश्व संकलन भएको प्रदेश ट्राफीक प्रहरी कार्यालय पथलैयाको तथ्याङ्कमा उल्लेख छ।