सिरहा, ३१ भाद्र। नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले शिक्षा, स्वास्थ्य समाजिक सुरक्षालगायतका काममा एमालेले असाधारण योगदान गरेको दावी गरे। नेपाल कम्यूनिष्ट पार्टी (एमाले) सिरहाकाद्वारा आयोजित पार्टी प्रवेश तथा आमसभालाई सम्वोधन गर्र्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलील सरकारमा रहेका बेला विकास निर्माण सहित सामाजिक सुरक्षाको क्षेत्रम असाधारण कामगरेको दावी गरेका हुन्।
उनले लोकतन्त्र रक्षा, विकास निर्माण, सामाजिक सुरक्षाको क्षेत्रमा आफू सरकारमा रहेको बेला धेरै काम भएको बताए। उनले सडक, पुल पुलेसा देखि रेल र पानी जहाजसम्मको योजना आफ्नो पालोमा अघि बढेको बताए।
उनले लोकतन्त्र रक्षा, भुकम्पमा भएको क्षतिको पूनरनिर्माण, सदरमुकाम जोड्ने फराकिलो सडक देखि मदनभण्डारी लोकमार्ग निर्माणमा महत्वपूर्ण योगदान गरेको जिकिर गरे।
सोही क्रममा उनले भोली (शनिवार) बाट संसदको पाँच वर्षे सकिने जनाउँदै पार्टीले त्यसको समिक्षा गर्ने पनि जनाए।
लोकतन्त्र, सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रताका लागि नेकपा एमालेले असाधारण योगदान दिएको पनि ओलीले दाबी गरे।
ओलीले सम्वोधन सरुगरेलगतै पानी परेपछि कार्यक्रम विथोलिएको थियो। पानी पर्न थालेलगतै पार्टी नेता र सुरक्षाकर्मीले ओलीलाई गाडिमा चढाएर हेलिकप्टर पार्क गरिएको स्थलसम्म पुर्याएको थियो। झरी परिरहँदा ओली हेलिकप्टर चढेर काठमाडौं उडेपछि कार्यक्रम बिथोलिएको थियो।
अवेरमात्र कार्यक्रमस्थल पुगेका अध्यक्ष ओलीले लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्व अध्यक्ष तथा जसपाका नेता रामबल्लभ साह सहितका नेता–कार्यकर्तालाई एमाले पार्टी प्रवेश गराएपछि मौसम प्रतिकूल बनेको थियो। हतार हतार सहभागीलाई सम्बोधन गर्न उभिएका ओली बोल्न थालेको पाँच मिनट नवित्दै पानी पर्न थालेको थियो।
सिरहा पार्टीले पत्रकार सम्मलेन गरेर हजारौंको संख्यामा पार्टी प्रवेश गर्ने जिकिर गरेपनि प्रवेशीको संख्या भनेजस्तो देखिएन।
पार्टी प्रवेश कार्यक्रमलाई केन्द्रिय सचिव तथा प्रदेश इन्चार्ज रधुविर महासेठ, सह इन्चार्ज लिलानाथ श्रेष्ठ, पोलिटव्यूरो सदस्य ज्वाला साह लगाएतले सम्वोधन गरेका थिए।
ओलीलाई स्थानीय कार्यकर्ताले १०५ केजीको मालाले स्वागत गरेका थिए।
विद्यालय बन्द गरेर एकालेको सभा
सिराहामा विद्यालयको पठनपाठन नै ठप्प पारेर पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रम गरिएको छ। गोलबजार ८ मा रहेको जनता नमूना माध्यमिक विद्यालयको पठनपाठन नै ठप्प गरी ओलीको कार्यक्रम गरिएको हो।
कक्षा १२ सम्म कक्षा सञ्चालन भइरहेको यस विद्यालय परिसरमा शुक्रवार नेकपा एमाले जिल्ला कमिटीले पार्टी प्रवेश तथा आमसभा आयोजना गरेको थियो। जसका कारण यस विद्यालयमा अध्ययनरत विद्यार्थी शुक्रवार पठनपाठनबाट वञ्चित भएका छन् ।
विद्यालय बन्द गरिएकोबारे व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकले भने कुनै प्रतिक्रिया दिन चाहेनन्।