वीरगञ्ज, २८ भाद्र। वीरगञ्जका एक ईन्जिनियरले अवसर दिएमा एक महिनाभित्र वीरगञ्जलाई व्यवस्थित गरेर देखाउने दावी गरेका छन्। विद्युतीय पावर प्लान्टको क्षेत्रमा २२ वर्षदेखि कार्यरत ईन्जिनियर अफजल हुसैनले एक महिनाभित्रै वीरगञ्जलाई व्यवस्थित बनाउने दावी गरेका हुन्।
जर्मनीको इलेक्ट्रो–मेकानिकल कम्पनीमा सिमेन्सको दुबई शाखामा कार्यरत एक्लो नेपाली सिनियर ईन्जिनियर हुसैनले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै वीरगञ्जलाई व्यवस्थीत बनाउने अवसर दिन अपिल गरेका छन्।
त्यसको लागि कुनै बजेट नचाहिने पनि उनले आफ्नो पोस्टमार्फत स्पष्ट पारेका छन्। केही प्रशासन र कर्मचारी उपलब्ध गराएर अवसर प्रदान गरेमा एक महिनाको अवधिमा वीरगञ्जलाई पूर्ण रुपमा व्यवस्थित गरेर देखाउने ईन्जिनियर हुसैनको दावी छ। उनले लेखेका छन्, ‘अपिल, मलाई वीरगञ्ज बनाउन दिनु, यसका लागि मलाई कुनै बजेट चाहिएको होइन। केही प्रशासन र कर्मचारी दिनु। एक महिनाभित्र वीरगञ्ज व्यवस्थित गर्ने जिम्मा मेरो।’
अरु व्यवस्था गर्नुभन्दा पहिला आफै व्यवस्थित हुनुपर्ने उनले लेखेका छन्। आफुले प्राप्त गरेको अधिकार एवम् कार्यक्षेत्रको बारेमा स्पष्ट हुनुका साथै आफु मातहतकाकर्मचारीको अधिकार एवम् उनीहरुको कामको जिम्मेवारीको बारेमा जानकार हुनुपर्ने हुसैनले बताए।
महानगरपालिकाभित्र ग्रामिण वडादेखि शहरी क्षेत्रसम्म भएका स्वास्थ्य चौकीदेखि अस्पतालहरुको अवस्थाको बारेमा विवरण संकलनदेखि आवश्यक औषधीसहित अन्य उपकरणको परिपुर्ती गर्नुका साथै पहिलो प्राथमिकता स्वास्थ्यलाई दिनुपर्ने उनी बताउँछन्।
अस्थायी रुपमा व्यवस्था नभएर दीर्घकालिन रुपमा परिवर्तनको आवश्यक्ता भएकाले विज्ञहरुसँग छलफल गरेर दीगो रुपमा टिकाउ हुने गरी व्यवस्थित गर्नुपर्ने उनको सुझाव छ।
सिमन्स कम्पनीमा विद्युत उत्पादनमा प्रयोग हुने मेकानिकल पार्टसका साथै तेल तथा ग्यास टर्वाईनका विज्ञका रुपमा पनि उनी दुबईमा परिचित छन्। जर्मनीपछि दुबईमा रहेको सिमेन्स कम्पनीको दोस्रो ठूलो कार्यालयमा कार्यरत उनी मध्यपूर्व युरोप, उत्तर अमेरिका लगायतका देशहरुमा पनि विद्युतीय मेशिनमा खराबी आउँदा हुसैन नै पुग्ने गरेका छन्।
लामो समय विदेशमा बसेका हुसैनले आफ्नै देशमा विकास र परिवर्तनका साथै जनताको सेवा गर्ने अठोट भएपनि अवसर नपाएको दुखेसो पोखे। अवसरकै खोजीमा उनी स्थानीय तहको निर्वाचन हुनुभन्दा अघि नेपाल फर्किए। पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारीसमेत दिएका हुसैनले ५ सय ६८ मत प्राप्त गरेर चौथो स्थानमा चित्त बुझाए।