वीरगञ्ज, २३ भाद्र। नेपाली कांग्रेसबाट पर्साको क्षेत्र नम्बर २ (क) बाट निर्वाचित मधेश प्रदेशसभा सदस्य राजेश्वर साह तेलीलाइ कारवाही गर्न सिफारिस गरिएको छ। नेपाली कांग्रेस पर्साको जिल्ला अनुशासन समितिले स्थानीय निर्वाचनमा पार्टीलाईहराउन भूमिका निर्वाह गरेको भन्दै प्रदेश अनुशासन समितिलाई आवश्यक कारवाही गर्न सिफारिस गरेको हो।
जिल्ला अनुशासन समितिका संयोजक रमेश पाण्डेयद्वारा हस्ताक्षरित पत्रमार्फत आफ्नै पार्टीलाई पराजित गरेर अन्तरघात गरेको भन्दै कारवाही गर्न सिफारिस गरिएको छ। बितेको स्थानीय तहको निर्वाचनमा बहुदरमाई र पर्सागढी नगरपालिकाको नेपाली कांग्रेसका आधिकारिक प्रमुख उम्मेदवार र बहुदरमाई नगरपालिका ६ का आधिकारिक वडाअध्यक्षका उम्मेदवारका विरुद्धमा आफ्नै दाई प्रमोद साह तेलीलाई वागी वडाअध्यक्षको रुपमा स्वतन्त्र उम्मेदवार खडा गरेर पार्टी विपरित गतिविधि गरेको पत्रमा उल्लेख छ।
खुलेयाम रुपमा पार्टीभन्दा बाहिरका उम्मेदवारलाई मत मागेर पार्टी विरुद्ध प्रचारप्रसार गरेको भनि नगर÷क्षेत्रीय कार्य समिति र आधिकारिक प्रमुख एवम् वडाअध्यक्षका उम्मेदवारले दिएको उजुरीका आधारमा नेपाली कांग्रेसको विद्यान २०१७ (संशोधनसहित) को धारा ३४ दफा ४ को ङ अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाइएको अनुशासन समितिका संयोजक पाण्डेयले बताए।
उनका अनुसार जिल्ला अनुशासन समितिले पहिलो चरणमा ७ दिनको म्याद दिएर हुलाकमार्फत स्पष्टिकरण सोधिएपनि नबुझेर फिर्ता आएपछि पुनः दोस्रो चरणमा ३ दिनको म्याद दिएर स्पष्टिकरण सोधिएको थियो। दोस्रो पटकको स्पष्टिकरणमा चित्त बुझ्दो जवाफ नदेखिएपछि विद्यानअनुसार कारवाहीका लागि प्रदेश अनुशासन समिति जनकपुरधामलाई सिफारिस गरिएको संयोजक पाण्डेयले बताए।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समिति काठमाण्डौलाई बोधार्थ बनाएर जिल्ला अनुशासन समितिको निर्णयको प्रतिलिपि, आधिकारिक उम्मेदवारहरुको उजुरी निवेदन, बहुदरमाई नगर कार्य समितिको निर्णयको प्रतिलिपि, क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर २ को निर्णयको प्रतिलिपि, सोधिएको स्पष्टिकरण पत्र, स्पष्टिकरणको प्राप्त जवाफ र स्पष्टिकरण फिर्ता आएको खामसहित कारवाहीका लागि सिफारिस गरिएको छ।