वीरगञ्ज १३ भाद्र। पर्सा जिल्लामा नेपाली कांग्रेस र मधेशवादी दलको दबदबालाई दबाएर आफु स्थापित हुन नेकपा एमालेले रणनीति लिएको छ।
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ५ दलीय गठबन्धनका बिच पनि नेकपा एमालेले राम्रो मत ल्याएको निस्कर्ष निकाल्दै नेकपा एमालेले पर्सा जिल्लाका कम्तीमा ३ वटा क्षेत्र कब्जा गर्ने रणनीति लिएको नेकपा एमाले पर्साका नेताहरु बताउँछन्।
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधी सभाको निर्वाचनका लागि नेकपा एमालेले पर्सा जिल्लामा चुनावी गतिविधिलाई पनि तिव्रता दिएको छ । नेताहरुले पनि सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरीरहेका छन्। नेकपा एमाले पर्साका अध्यक्ष जयप्रकाश थारुका अनुसार नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सा जिल्लालाई गम्भिर रुपमा लिनुका साथै नजिकबाट नियालीरहेका छन्।
२०७४ सालको संसदीय चुनावमा तत्कालिन संघीय समाजवादी फोरमले ३ वटा निर्वाचन क्षेत्र र १ वटामा तत्कालिन रापजाले जित हाँसिल गरेपछि मधेशवादी दलको गढको रुपमा पर्सा जिल्ला परिचित बनेको थियो । अबको प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा उक्त परिचयलाई फेरेर नेकपा एमालेको गढ बनाउने संविधान सभा सदस्य राजकुमार गुप्ताको दावी छ।
एकताका नेपाली कांग्रेसको गढको रुपमा चिनिएको नेपाली कांग्रेस गठबन्धनको चक्करमा पछिल्लो समय कमजोर बन्दै गएको बताउँदै गुप्ताले अबको बलियो सम्भावना नेकपा एमालेको मात्रै भएको जिकिर गरे।
स्थानीय तहको निर्वाचन अघिदेखि नै पर्सा जिल्लामा नेकपा एमालेप्रतिको बढ्दो आकर्षण अँझै रोकिएको भने छैन । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट छिपहरमाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित मनोज गुप्ता, माओवादी केन्द्रबाटै जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका जालिम मियाँदेखि लिएर बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पराजय बेहोरेका पूर्व पालिका प्रमुख एवम् उपप्रमुखहरु पनि एमालेमै प्रवेश गरेका छन्।
मधेश आन्दोलनको रापमा मधेशवादी दलले २०७४ को चुनावमा जित हासिल गरेपनि अबको निर्वाचनमा पत्तासाफ हुने नेकपा एमालेका नेता बिचारी यादव बताउँछन्।
वन तथा वातावरण मन्त्री भएका कारण प्रदीप यादवले क्षेत्र नम्बर १ मा जित हासिल गर्न सक्ने प्रबल सम्भावना देखिएपनि अन्य ३ क्षेत्रमा एमाले नै भारी पर्ने यादवको अडान छ । उनका अनुसार पर्साको निर्वाचन क्षेत्र नम्बर २, ३ र ४ मा एमालेलाई जसरी पनि जिताउने एमाले अध्यक्ष ओलीको पनि लक्ष्य छ।
क्षेत्र नम्बर ३ बाहेकका क्षेत्रमा नयाँ अनुहार एवम् फरक व्यक्तिलाई उम्मेदवार बनाउने आन्तरीक तयारी भइरहेको पनि नेकपा एमालेले जनाएको छ।