काठमाडौं, १३ भाद्र। नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीलाई केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको अध्ययादेशअनुसार नै नागरिकता विधेयक संसदबाट पारित गरिएको प्रष्टिकरण दिएको छ। 
LMP-INDUSTRY
 
राष्ट्रपति भवन शीतलनिवासमा सोमबार भएको भेटमा कांग्रेस नेतृत्वले राष्ट्रपति भण्डारीलाई पूर्ववर्ती सरकारले ल्याएको अध्ययादेशअनुसार नै नागरिकता विधेयक संसदबाट पारित गरिएको प्रष्टिकरण दिएको हो। 
1 copy
 
छलफलपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकताबारे राष्ट्रपति भण्डारीका जिज्ञासालाई आफूहरुले प्रष्ट्याएको प्रतिक्रिया दिए। 
‘उहाँका नागरिकता सम्बन्धमा केही केही जिज्ञासाहरु थिए। राजनीति, चुनाव यिनै कुराबारेमा छलफल भयो। हामीले यसबारे प्रष्ट पार्यौँ,’ उनले भने, ‘विगतमा केपी ओली सरकारले अध्ययादेश ल्याएको थियो। त्यही अध्यादेशअनुसार नै विधेयक अहिले पार्लियामेन्टले पास गरेको हो।’  

छलफलका क्रममा राष्ट्रपति भण्डारीले मंसिर ४ का लागि तय गरिएको संघीय र प्रादेशिक निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिएको कार्कीको भनाइ थियो।

‘राष्ट्रपतिले चुनाव निष्पक्ष रुपले सम्पन्न होस् भन्नुभयो,’ उनले भने।   

दुवै संसदबाट पारित नागरिकता विधेयक फिर्ता पठाएपछि शीतलनिवाससँग बढ्दो दूरीकाबीच प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसका पदाधिकारीका साथमा राष्ट्रपति भण्डरीलाई भेट्न शीतलनिवास गएका थिए। 

उनी कांग्रेस सभापतिको हैसियतमा राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन्। सभापति देउवाले आफूसँग उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र केन्द्रीय सदस्य कार्कीलाई शीतलनिवास लगेका थिए।

नेपालखबरबाट ।

ab mall