वीरगञ्ज, २ भदौ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष रमेश प्रसाद यादवले पार्टी र पदबाट राजीनामा दिएका छन्। जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित वडाअध्यक्ष यादवले पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन्।
राजीनामा पत्रमा उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै पार्टीबाट र पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। टेलीफोन संवादमा भने पार्टीले र महानगरपालिकाले आफुलाई असहयोग गरेको उनले प्रतिक्रिया दिए।
जनताको सेवा गर्ने ध्येयका साथ वडाअध्यक्षमा निर्वाचित भएपनि पार्टी र महानगरपालिकाका प्रमुखले असहयोग गरेको यादवले बताए। उनले भने, ‘जुन पार्टीले जनताको हितका लागि काम गर्दा असहयोग गर्छ, त्यस्तो पार्टीमा रहनुको कुनै अर्थ छैन। मैले आफ्नो वडामा बिकासको काम गर्न मागेको सहयोग पनि महानगरपालिकाले उपलब्ध गराएन।
असफल वडाअध्यक्ष भएर बस्नुभन्दा राजीनामा दिनु राम्रो भनेर राजीनामा दिन बाध्य भएको हुँ; उनले भने। उनी थप्छन्, ‘वडाको कामका लागि ट्याक्टर, स्विपर लगायतको सहयोग माग गर्दा मेरो मागको बेवास्ता भयो। वडाबासीले मलाई काम गर्नका लागि निर्वाचित गरेका हुन्। काम गर्ने वातावरण भएपछि सोही पार्टी र सोही पदमा बसीरहन कुनै औचित्य देखिन।’
जनताको गाली खाएर असक्षम वडाअध्यक्षको रुपमा चिनीनुभन्दा राजीनामा दिनु बेश हुने देखिएपछि राजीनामा दिएको उनले बताए। जसपाका केन्द्रीय सदस्य एवम् संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले आफ्नो राजनीतिक यात्रा धरापमा पार्न खोजेको आरोप पनि उनले लगाएका छन्।
जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवले भने आफु काठमाण्डौमा भएको बताए। आफु काठमाण्डौबाट वीरगञ्ज फर्किएलगत्तै छलफल गरेर समस्या समाधान हुने जसपा पर्साका अध्यक्ष यादवको भनाई छ।
उनले भने, ‘वीरगञ्ज महानगरपालिकाले विभिन्न समिति निर्माण गरेको छ, कुनै समितीमा बस्ने उहाँको पनि इच्छा थियो, उहाँ चयन नभएपछि रिसाउनुभएको होला।’
सामाजिक सञ्जालमा राजीनामा पत्र देखेपनि आधिकारीक रुपमा जसपा पर्साले पत्र नपाएको जसपा पर्साका सचिव तबरेज अहमदले बताए। कुनै असन्तुष्टी भएपनि छलफल गरेर समाधान गर्ने राजीनामा स्विकृत नहुने सचिव अहमदको भनाई छ।
यस विषयमा मेयर राजेशमान सिंहसँग प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाएनन्।