वीरगञ्ज, १ भदौ। वीरगञ्जको मुख्य सडक बिस्तारको विषय यतिबेला चर्चामा छ। हुन त यो विषय उठेको आज भने हैन। लामो समयदेखि वीरगञ्जबासी मुख्य सडक बिस्तार हुने प्रतिक्षामा छन्।
यद्यपी यो प्रतिक्षाको घडि आउला भन्ने आश भने मारिसकेका छन्। साउन २८ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहमद इस्तियाक राइले एक साताभित्र सूचना प्रकाशन गरेर अतिक्रमण हटाउन निर्देशन दिएपनि अतिक्रमण हट्ने र सडक बिस्तारको काम अघि बढ्ने कुरामा वीरगञ्जबासी बिश्वस्त छैनन्। अँझ सोझो अर्थमा भन्ने हो भने मन्त्री राइको कुरालाई यहाँका जनताले पत्याएका छैनन्।
एकथरीले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् भने अधिकांशले झुठो आश्वासन भन्दै टिप्पणी गर्न थालेका छन् । सडक फराकिलो हुने आश्वासन पटकपटक सुन्दै आएको हुँदा यसपटक पनि सुन्नमै सिमित हुने वीरगञ्जका स्थानीय अजय पटेलको बुझाई छ । उनी भन्छन्, “धेरै पटक सडक चौडा हुने सुन्दै आएका छौँ, तर हुने कहिलै हैन, यो खाली राजनीतिक स्टन्ट र चुनावी एजेण्डा मात्रै हो ।”
अर्का स्थानीय बृजकिशोर गुप्ताले पनि सडक बिस्तारको योजनालाई चुनावी एजेण्डाकै संज्ञा दिएका छन् । अर्का स्थानीय सुबास सत्याल वीरगञ्जलाई नेताहरुले मजाक बनाउने थलो बनाएको बताउँछन् । उनी भन्छन्, “नेताहरुलाई अरु कुनै ठाउँ पाउँदैनन् कि क्या हो, खाली वीरगञ्जलाई मजाक बनाउँछन्, अनि वीरगञ्जबासीलाई मुर्ख ।”
वीरगञ्जकै सञ्जिव तिवारीले मुख्य सडक बिस्तार हुने मन्त्री राईको भनाईलाई गम्भिरतापूर्वक नलिन आग्रह गरेका छन् । “यो भनाई चुनावी खर्च निकाल्न र व्यापारीहरुबाट पैँसा असुल्नका लागि भनिएको हो, कृपया यस विषयलाई गम्भिरतापूर्वक नलिन आग्रह गर्दछु”, तिवारीले सामाजिक सञ्जालमा लेखेका छन् ।
वीरगञ्जकै स्थानीय राजेन्द्र वैद्य पनि मुख्य सडक बिस्तार नहुँदा आक्रोशित छन् । उनी प्रश्न गर्छन्, “यो भाषण हो कि आश्वासन हो मन्त्री ज्यु ?” उनी थप्छन्, “पूर्व मन्त्रीदेखि वर्तमान मन्त्रीसम्मले विभिन्न भाषणमा सडक बिस्तार गर्ने कुरा धेरै बोले, पर्सेली कानले पनि धेरै सुने, तर ठोस नीति र योजना कहिलै बनेन ।”
वीरगञ्ज बचाउ संघर्ष समितिका पूर्व अध्यक्ष जवाहर प्रसाद गुप्ताले अदालतमा बिचाराधिन विषयमा मन्त्री राईले हावाधारी गफ गरेर वीरगञ्जबासीलाई मुर्ख बनाएर माल असुल्ने दाउमा लागेको प्रतिक्रिया दिए ।
वीरगञ्जका १ सय जनाभन्दा धेरैले क्षतिपुर्ती एवम् चलनचल्तीमा रहेको मूल्य अनुसारको मुआब्जा दिएर मात्रै बिस्तार गर्न भन्दै अदालतमा मुद्दा दिएको पनि वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का वडाअध्यक्षसमेत रहेका गुप्ताले बताए । सो क्षेत्रमा घर तथा संरचना पर्नेहरुले आवश्यक मुआब्जा नदिएसम्म तोड्न नदिने अडान राखेको पनि गुप्ताको भनाई छ ।