गृहसचिवको संयोजकत्वमा केन्द्रीय कमाण्ड पोष्ट
काठमाडौं, ३० साउन। गृहमन्त्रालयले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको संभावित सुरक्षा चुनौतीबारे छलफल गरेको छ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई प्रभाव पार्न सक्ने विभिन्न राजनीतिक तथा अन्य स्वार्थ समूहका गतिविधि र त्यसको नियन्त्रणबारे छलफल भएको हो।
सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोकेको छ। सुरक्षा समितिको बैठकले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने सुरक्षा रणनीतिका बारेमा समेत छलफल गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निर्वाचनको व्यवस्थापन, तयारी, निर्वाचन सुरक्षा योजना र सुरक्षामा जनशक्ति परिचालनलगायतका विषयमा बैठकमा छलफल भएको बताए।
बैठकले निर्वाचन सम्पन्न गर्न गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डको संयोजकत्वमा ६ सदस्यीय ‘केन्द्रीय कमाण्ड पोष्ट’ गठन गरेको छ । त्यस्तै, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ‘केन्द्रीय संयुक्त निर्वाचन सेल’बनाउने निर्णय गरेको छ।
पोखरेलकै संयोजकत्वमा ‘गृह मन्त्रालय, निर्वाचन सेल’बनाइने भएको हो।
त्यस्तै, प्रत्येक प्रदेशका लागि सम्पर्क र समन्वयका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा रहने गरी ‘प्रदेश समन्वय तथा सम्पर्क सेल पनि बनाइने बैठकले निर्णय गरेको छ। प्रदेश स्तरमा कमाण्ड पोष्ट तथा प्रदेश निर्वाचन सेल र जिल्ला स्तरमा जिल्ला कमाण्ड पोष्ट तथा जिल्ला निर्वाचन सेल बनाउने निर्णय भएको मन्त्रालयले जनाएको छ।
बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा सांगठनिक आवश्यकता अनुसार निर्वाचन सेल बनाउने निर्णय गरेको छ।
बैठकमा गृहसचिव पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाका प्रमुख यदुलाल खरेललगायत सहभागी थिए। अन्नपूर्णपोष्टबाट।