वीरगञ्ज, १९ साउन। पर्साको सखुवाप्रसौनी गाउँपालिकामा कार्यरत करारका कर्मचारीहरु आन्दोलित छन् । नविकरण नगरेको र करार सम्झौताको अवधि नथपेको भन्दै करारका कर्मचारीहरु आन्दोलित भएका हुन्।
पिडित करार कर्मचारी संघर्ष समिति गठन गरेर उनीहरुले आफुहरुको सम्झौता अवधि थप्नुपर्ने र हाजिरी गर्न दिनुपर्ने माग राखेका छन्।
संघर्ष समितिका संयोजक अभ्यास राउत कम्करले राजनीतिक प्रतिशोध साध्न र आफ्ना आफन्तलाई नियुक्त दिन दबाब दिइएको आरोप लगाए। उनले भने, ‘हामीलाइ पटकपटक दबाब दिइयो, काम गर्ने वातावरण भएन । हामीमाथि अन्याय गरियो।’
१८ जना करारका कर्मचारीहरुले गाउँपालिका अध्यक्ष जसवन्त यादव र जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफलाई ज्ञापन पत्र बुझाएका छन्। गाउँपालिकामा नयाँ नेतृत्व आएसँगै करारका कर्मचारीलाई काम गर्न नदिने वातावरणको सृजना गरी राजीनामा दिन दबाद दिइएको उनीहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
आ–आफ्नो काम जिम्मेवारीपूर्ण ढंगले निर्वाह गर्दा पनि ३१ असार २०७९ मा गाउँपालिकाले फेसबुक पेजमा सूचना प्रकाशीत गरेर कराकरका कर्मचारीलाई साउन १ गतेभित्र कार्य सम्पादन मूल्यांकन फाराम भरेर बुझाउन निर्देशन दिनुले करारका कर्मचारी हटाउन खोजेको स्पष्ट भएको उनको भनाइ छ। हतारहतारमा कर्मचारीले फारम भरेर बुझाएपछि पनि करार नविकरणपछि हाजिरी गराउने भन्दै हाजिरीसमेत गर्न नदिएको संघर्ष समितिले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ।
१८ जना करारका कर्मचारीद्वारा हस्ताक्षरीत ज्ञापन पत्रमार्फत करार सम्झौताको म्याद थप नगर्ने अन्यायपूर्ण कार्य बन्द गरी करार सम्झौता नविकरण गर्न माग गरिएको छ। सोही पदका लागि आह्वान गरिएको नयाँ विज्ञापन रद्द गर्नुपर्ने मागसमेत समेत उनीहरुले राखेका छन्।
गाउँपालिका अध्यक्ष जसवन्त यादवले भने गाउँपालिकाको आर्थिक भार कम गर्न खोज्दा विरोध गरेको बताए । अध्यक्ष यादवले भने, ‘स्थानीय तहको चुनाव हुनुभन्दा ३ महिना अघिसम्म १२ जना कार्यालय सहयोगी थिए । जबकी गाउँ कार्यपालिकाको कार्यालयमा त्यति धेरै कार्यालय सहयोगी आवश्यक नै छैनन् । त्यस्तै ५ जना सामाजिक परिचालक कुनै काम नहुँदा पनि नियुक्त दिइएको छ। यसले गाउँपालिकालाई आर्थिक रुपमा भार परीरहेको छ।’
सबै करारका कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकनका आधारमा ८० प्रतिशतभन्दा बढी भएकालाई राखिएको र अरुलाई ३० गतेसम्म दैनिक ज्यालादारीमा राखिएको अध्यक्ष यादवको भनाई छ । उनले भने, ‘यदि राजनीतिक प्रतिशोध नै राख्ने हो भने हाम्रै पार्टीका कार्यकर्ताहरु हुनुहुन्छ, कति धेरै जनाले नियुक्ती दिनुहोस् भनिरहनुभएको छ।’
नयाँ विज्ञापन आह्वान गरिएको र त्यसको परीक्षा लिएर सक्षम व्यक्तिहरुलाई छनौट गरेर नियुक्त गर्ने तयारी गाउँपालिकाले गरीरहेको अध्यक्ष यादवले जानकारी दिए। उनका अनुसार कार्यालय सहयोगीमा २ जना, बी वर्गको सवारी चालक ४ जना, जि वर्गको सवारी चालक १ जना, आई टु वर्गको सवारी चालक १ जना, जे वान वर्गको सवारी चालक १ जना, पाँचौ तहको हेल्थ असिस्टेन्ट ३ जना, चौथो तहको ल्याब असिस्टेन्ट २ जना, चौथो तहकै अहेब ४ जना, चौथो तहको अनमी ६ जना, पाँचौ तहका मनोसामाजिक परामर्शकर्ता १ जना र चौथो तहको ना.प्र.स. २ जनाका लागि विज्ञापन आह्वान गरिएको छ।