एक भारतीय अभिनेताले सञ्चालन गरेको एउटा टीभी कार्यक्रममा केही वर्ष पहिले खानामा विष र यसले भारतीय समाजमा पारेको प्रभावबारे लामो चर्चा गरिएको थियो । त्यो हेर्दा ढिलोचाँडो नेपालको नियति पनि त्यस्तै हुनेमा धेरै द्विविधा थिएन किनकि नेपाली कृषिले लिएको बाटो त्यही थियो ।
त्यो कार्यक्रममा पन्जाबको एउटा गाउँबाट क्यान्सर उपचारका लागि राजस्थान जान रेलको टिकट काट्न काउन्टरमा पुगेका एक यात्रुको ‘क्यान्सर रेल कति बेला आउँछ ?’ भन्ने प्रश्न र त्यसमा देखाइएको बिरामीको अवस्था मर्मस्पर्शी थियो । त्यस्तो रेल नेपालमा त छैन तर ‘क्यान्सर अस्पताल गेट, भरतपुर’ लेखिएका माइक्रो बसहरू भने देशका धेरै भागबाट चल्ने गरेका छन् !
त्यसो त हामी धेरैले याद नगरे पनि विषाक्त माटो, खाना र जीवनशैलीका कारण नसर्ने दीर्घरोगहरूको विस्तार कहालीलाग्दो छ । मधुमेह, मुटुरोग, क्यान्सर, थाइराइड, मस्तिष्काघात र रक्तचापका बिरामीहरू दिनदिनै थपिइरहेका छन् । अस्पताल भर्ना हुनेमध्ये ८० प्रतिशत नसर्ने दीर्घरोगकै हुने गरेका छन् । अचेल चाडपर्वमा हैन, अस्पतालमा मेला छ । यो प्रमाण नेपाल र भारतका नसर्ने दीर्घ रोगका अस्पताल र तिनमा लाग्ने यस्ता बिरामीहरूको लाइन; खेतीमा अत्यधिक कृत्रिम रसायन र विषादी प्रयोग गर्दै आएका शान्तिनगर, हल्दीबारी, भेडेटार, लालबन्दी, चितवन, पाँचखाल, धार्के, चरौंदी, कपुरकोट, गुराँसेलगायतका किसान र तिनका परिवारहरूले दिइरहेका छन् । बुझ्नु, नबुझ्नु या बुझ पचाउनु बेग्लै कुरा हो ।
हामी धेरैलाई थाहा छ, चितवनको भरतपुर नेपालकै ठूला सहरी केन्द्रहरूमध्ये एक हो । यो क्षेत्र कृषि तथा पशु उद्योग, अस्पताल र शिक्षाको केन्द्रसमेत हो । नारायणगढ बजारको सहिद चोकवरपर सयौं एग्रोभेट छन् । यी एक हिसाबले विष भण्डार हुन् र यस भेगका धेरै ठाउँमा विष पुर्याउने काम गर्छन् । नेपालकै एक मात्र कृषि विश्वविद्यालय यहीँ छ । विडम्बना, यसले यी विषको कसरी (दुर्) उपयोग गर्ने भन्नेबारे पढाउँछ । उता, भानूदय उच्च माविमा विषको खराबीबारे चर्चा भइरहँदा कक्षा १० मा कृषि पढ्ने एक छात्राले सोधेकी थिइन्, ‘यस्तो खराब विषको मात्रा मिलाउन हामीलाई किन सिकाउने हो ?’ यो प्रश्नले विश्वविद्यालय र यस मातहतका क्याम्पसले नै विषको व्यापार बढाएको यथार्थ छर्लंग पार्छ ।
त्यो भारतीय प्रस्तुति हेर्दा माटो र खानामा थपिँदै गएको विषले हाम्रो जीवनका धेरै आयाममा यति छिट्टै र यति गहिरो संकट निम्त्याउला भन्ने लागेको थिएन । चितवनको क्यान्सर अस्पताल, सहरी क्षेत्र र यसैसँग जोडिएको पहाडको छोटो हिँडाइ र भेटघाटमै यहाँको माटो र खाना दुवै यति धेरै संकटग्रस्त भइसकेछ भन्ने थाहा पाउँदा मैले त्यो भारतीय कार्यत्रम सम्झिरहें । खास गरी क्यान्सर अस्पतालमा मानिसको घुइँचो देखेर राजस्थान जाने यात्रुले सोधेको प्रश्न झलझली याद आयो ।
अहिले बिरामी र कुरुवाको भीडले सबैतिरका अस्पतालहरूमा मेला जस्तै छ । यस्तो मेला भने भरतपुरको क्यान्सर अस्पतालमा सबैभन्दा ठूलो छ । सँगै, यहाँको सहरी क्षेत्र होस् या गाउँ, सबैतिर क्यान्सरलगायतका नसर्ने दीर्घरोगीहरू भेटिन्छन् । स्थानीय बासिन्दाहरूले केही वर्ष पहिलेसम्म यो अस्पतालमा बाहिरबाट मात्र उपचार गर्न आउँछन् होला भन्ठानेको तर अचेल यस्ता बिरामी आफ्नै गाउँघरमा बढिरहेको कुरा गर्न थालेका छन् । आफैंले नभोगेका धेरै मानिसलाई यो कुरा पत्यार नलाग्ला तर केही वर्षयता नसर्ने दीर्घरोग वास्तवमै व्यापक बन्दै गएको छ । प्लास्टिकको झोलामा सेता ट्याब्लेट नभएको घर पाउन मुस्किल छैन । यो सब खानामा मिसिएको विष र अहिलेको जीवनशैलीको प्रभाव हो । विडम्बना, हामी यस्ता ट्याब्लेटका भरमा बाँच्ने पुस्ता बनेका छौं र यही नियति भविष्यको पुस्तालाई जिम्मा लगाउन उद्यत छौं ।
माटो, वातावरण र प्रकृतिमा थोपरिएको मन्द विष नै अहिले हाम्रो जीवनको मुख्य संकट हो । यही कुरा विचार गरी हाम्री तीसवर्षे विवाहित छोरीले आफूले भन्दा बढी दुःख पाउने देखेर बच्चा नजन्माउने निर्णय गरेको सुनाउँदा मलाई धेरै अचम्म त लागेन, तर सबैले यस्तै सोच्ने दिन आयो भने यो परिस्थिति निम्त्याउन सघाउने हाम्रो पुस्ताले के जवाफ दिने होला भन्ने कुराले पिरोलिरह्यो ।
माटो र खाना विषले भरिँदा संकट हाम्रो दैलोमै आइसकेको योभन्दा बलियो प्रमाण अर्को के चाहिएला र ? आगामी पुस्ताका मानिसले आजभन्दा बढी दुःखकष्ट झेल्नुपर्नेमा अब धेरै द्विविधा छैन । अहिले नै प्रकृतिमा देखिएका केही उत्ताउला प्रवृत्तिहरूले, खास गरी जलवायु परिवर्तन, कोभिड–१९ र खानामा विषका कारण फैलिरहेका नसर्ने दीर्घरोगहरूका कारण निकट भविष्यमै मानव सभ्यतामै संकट आउने सम्भावनाले सबैलाई आतंकित तुल्याएको छ । तर यसलाई सम्बोधन गर्न जिम्मेवार हुनुपर्ने हाम्रो राजनीतिक नेतृत्व निरोझैं बाँसुरी बजाएर बसिरहेको छ ।
त्यसो भए अब के गर्ने त ? पहिलो कुरा, फेरि पनि अहिले देखिएका संकटहरूको संकेतले हामीलाई सतर्कतापूर्वक बिराएको बाटो पहिल्याउने र मानवीय विवेक सच्याउने आधार बनाउने मौका दिएको छ । यसको सबैभन्दा बलियो अवसर पनि हामीलाई नै छ किनकि अन्य क्षेत्र र समुदायका तुलनामा हामीले अरूले बिराएर धेरै काटिसकेको बाटो धेरै हिँडिसकेका छैनौं । यो विकासे यात्रामा हामी सबैभन्दा पछाडि छौं । यो नै हामी नेपालीको उन्नत मानव समाजको अगुवा बन्ने अवसर हो । विडम्बना, हामी यो मौकासमेत गुमाउन उद्यत छौं ।
दोस्रो, यसबारे कुरा गर्नुअघि हामीले तय गर्न खोजेको समृद्धि–यात्राबारे प्रस्ट हुन जरुरी छ । यो यात्राको जगमै ठूलो खोट छ । यसको मूल कारण नबुझी यसलाई फेर्ने दृष्टिकोणसमेत बन्दैन । मुख्य कुरा, खेतीपाती र खाना जोगाउने पक्षमा उभिन आँट गर्ने राजनीतिक नेतृत्वलाई साथ दिएर मात्र हामीले बिराएको बाटो फेर्ने यात्रा सुरु हुन्छ । तर यसको व्यावहारिक अभ्यास गर्न खानामा आत्मनिर्भर हुनु पहिलो सर्त हो ।
तेस्रो, आज हामीले जस्तो बाटो हिँडेर समृद्ध हुने सपना बाँडेका छौं, त्योबाटै गलत छ । यो अहिलेको पुस्तामा फैलिएको क्यान्सर हो भने भावी पुस्ताका लागि भयंकर त्रासदी । आधुनिक हुने नाममा बाँडिएको मृगमरीचिका मात्र हो यो । यसलाई प्रश्न बनाउन नदिन सफल भएको राजनीतिक नेतृत्वले त अहिलेसम्म सबै जित्यो तर हामी आम नागरिक भने सबै हिसाबले हार्यौं । यस्तो नेतृत्वले थोपरेको नियतिलाई निकम्मापन, निरीहता र पलायन जे भनेर अर्थ्याए पनि हुन्छ । यस्तो नेतृत्वले विषयुक्त माटो र खानाले निम्त्याएको आसन्न संकटको सामना गर्ने र यसलाई सच्याउने आँट र सुझबुझ राख्छ भन्ने आशा गर्न सकिँदैन ।
देखासिकी र परनिर्भरतामा बाँचेको राजनीतिको यो पुस्ता तत्कालै फेरिएर विवेक फर्किन्छ भन्ने लाग्दैन । समाजको अगुवाइ गर्नुपर्ने राजनीतिक नेतृत्वले बजारमुखी दलाल अर्थतन्त्रमा भासिएर आफ्नो सुझबुझ हराउँदै गएको छ । यसको नेतृत्व विज्ञान र विज्ञताको अहंकारले अन्धो हुँदै गएको विवेकहीन मझौला कदको वैश्विक विद्वत् वर्गको प्रतिनिधिमूलक जमातले गरिरहेको छ । कुनै चमत्कार भएर यो विवेक फर्केछ भने त्यही दिन यी सबैलाई नमन गरौंला ।
यसरी हेर्दा, मुख्यतः, अहिलेकै जस्तो समृद्ध हुने परम्परागत सोच र तरिकाले प्रकृतिका फेरिएका व्यवहार सच्याउन सकिँदैन । यस अर्थमा, यो संकटको सम्बोधन गर्ने र यी सबै सम्हाल्ने जिम्मा नयाँ पुस्ताको काँधमा आएको छ । यसलाई सच्याउन सघाउने जिम्मेवारी भने हामी सबैको हो । तर सँगै हेक्का राख्नुपर्ने के छ भने, अहिलेको नेतृत्व पुस्ता जसले समग्रतामा सबै क्षेत्रबाट पलायन र समर्पणको बाटो समातेर नेपाली समाजलाई यो गतिहीनतामा पुर्यायो, यस्तो चाला भएको अगुवाको उत्पादन र पुनरुत्पादनको सहयोगी बन्यो या मूकदर्शक बनेर दिन काटिरह्यो र जानी–नजानी भावी पुस्तालाई उज्ज्वल भविष्यको बाटो देखाउने शिक्षा, दीक्षा र मानवीय मूल्यमान्यता सिकाउन छोडेर विकासे अलमलमा पारिरह्यो, अब पनि राजनीतिको बागडोर यसैले सम्हाल्न सक्छ भनेर पत्याउनु मूर्खताबाहेक केही हुन सक्दैन ।
अन्त्यमा, अब खाना र खेतीपाती सच्याउन समय छँदै सचेततापूर्वक सार्थक प्रयत्न नगर्ने हो भने धेरै ढिलो भइसक्नेछ । यो कुराको भेद थाहा पाउँदै गरेका देश, समुदाय र व्यक्तिहरू अझै पनि माटो र खाना विषमुक्त बनाउन सकिन्छ भनेर निरन्तर कोसिस गरिरहेका छन् । अरूको कुरै छाडौं, भारतका प्रधानमन्त्रीले गत महिना जुन ५ मा माटो बचाउन गरेको आग्रह मननयोग्य छ । आफ्ना परिवेश र चेतनाका आधारमा क्रमिक सुधार र बृहत् रूपान्तरणका प्रयासहरू थालेका यस्ता उदाहरण सबैतिर छन् । तर हाम्रो राजनीतिक वृत्त र समाजमा भने यो चेतनाको लहर अझै आएको छैन ।
तसर्थ विषमुक्त खेतीपाती र खानाका पक्षमा उभिन तयार नेतृत्वलाई मात्र अब भरोसा गर्न सकिन्छ । यस्तो नेतृत्वले मात्र हामीमा आशा जगाउन सक्छ । यदि खेतीपाती र खाना हाम्रो प्राथमिक सवाल होइनन् भने बेग्लै कुरा, अन्यथा खानाका लागि खेतीपातीको विकल्प के हो ? यसको जवाफ जिम्मेवार राजनीतिक नेतृत्वले दिने बेला भएको छ । यसको जवाफ खोज्नु नै हाम्रो उन्नतितर्फको पहिलो पाइला हो । कान्तिपुरबाट।