वीरगञ्ज, १६ साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्गदेनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय व्यवस्था आवश्यक रहेको बताएका छन्। राप्रपा पर्साले वीरगञ्जमा आयोजना गरेको एक घर एक राष्ट्रिय झण्डा र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउने व्यवस्थाका लागि राप्रपा लडिरहेको जिकिर गरे।
उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय भूमिकाको राजा भए मात्रै देश समृद्धि बन्ने तर्क गरे। लिङदेनले भने, ‘यो देशमा पूर्ण समानुपाति निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित प्रधानमनत्री र अभिभावकीय संस्थाको रूपमा राजा रहनुपर्छ, अनि मात्र मुलुक बच्छ र समृद्ध बन्छ।’
संघीयता खारेज हुनुपर्ने धारणा राख्दै लिङ्गदेनले थपे, ‘स्थानीय र केन्द्र दुई तहको संरचना मात्र भए पुग्छ, प्रदेश सरकार खारेज गर्नुपर्छ। हाम्रो जस्तो सानो देशले धेरै मन्त्री र जनप्रतिनिधी पाल्न सक्तैन।’
संघियता कार्यन्वयन भएसँगै राष्ट्रीय ऋण बढ्दै गएको उनको भनाई छ। उनले भने, ‘राजाको पालामा राष्ट्रिय ऋण २९ अर्ब थियो। संघियता कार्यन्वयन हुनु अघि ५ वर्ष पहिले ८ खर्बमा पुगेको राष्ट्रिय ऋण संघियता कार्यन्वयनपछि साढे १८ खर्बभन्दा बढी पुगेको छ। जुन सबै नागरिकलाई भाग लगाउँदा प्रति व्यक्ति ६३ हजारभन्दा बढी हुन्छ ।’
राप्रपा पर्साका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमलाइ राप्रपाका सहमहामन्त्री मोहन यादव, मधेश प्रदेश प्रमुख भरत गिरी, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी संयोजक अञ्जना रावल, केन्द्रीय सदस्य अंगद ठाकुर, राप्रपा आन्दोलन परिचालन समितिका अध्यक्ष नगीना यादवलगायतले सम्बोधन गरेका थिए।