बर्दिवास, १३ साउन। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक लोकतन्त्रले मात्र मुलुकको आमूल परिवर्तन सम्भव नरहेको बताए छ। जनता समाजवादी पार्टी (जसपा ), नेपाल मधेश प्रदेश समितिले शुक्रवार बर्दिवासमा आयोजना गरेको स्थानीय तहमा नवनिर्वाचित प्रमुख र उपप्रमुखहरुको सम्मान कार्यक्रममा अध्यक्ष यादवले मुलुक मा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि आमूल परिवर्तनका लागी थप संघर्षको आवश्यकता औल्याए। उनले भने ‘राजनीतिक लोकतन्त्रको स्थापनाले राजनीतिक परिवर्तन ल्याएको छ। तर, आर्थिक र सामाजिक परिवर्तनको लागी अझै संघर्ष जरुरी छ।’
सामाजिक लोकतन्त्र र आर्थिक लोकतन्त्र विना मुलुकको आमूल परिवर्तन सम्भव नरहेको उल्लेख गर्दै उनले अब पार्टीको कार्यदिशा नै सामाजिक र आर्थिक लोकतन्त्र हुने बताए। समाजको मुलधार भन्दा बाहिर रहेको समुदायलाई मुलधारमा ल्याउन सामाजिक लोकतन्त्र र आर्थिक समानता कायम गर्न आर्थिक लोकतन्त्र आवश्यक रहेको उनको भनाई थियो।
वर्तमान निर्वाचन प्रणालीले राजनीतिक लोकततन्त्रलाई विकृत बनाईरहेको उल्लेख गर्दै, अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली, पूर्ण समानुपातिक संसदीय निर्वाचन र दलविहिन स्थानिय तह आजको मुल आवश्यकता रहेको बताए।
जसपा प्रदेश अध्यक्ष रामबाबु यादवको अध्यक्षमा भएको सम्मान कार्यक्रममा प्रदेश कमिटीका उपाध्यक्ष शम्भु झा, रामपृत पासवान, लिला हरी खतिवडा सहितले शुभकामना मन्तब्य व्यक्त गरेका थिए।
कार्यक्रममा जसपाको तर्फबाट मधेश प्रदेशमा निर्वाचित नगरप्रमुख, उपप्रमुख तथा गापा अध्यक्ष र उपाध्यक्षहरुलाई सम्मान गरिएको थियो ।