जनकपुर, ९ साउन।  जनकपुरधाम उपमहानगरपालिकाले एक नगर सभामा मात्रै ४३ लाखभन्दा बढी रकम खर्च देखाएर लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको पाइएकाे छ ।

mount school 333

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आव २०७७/७८ को प्रतिवेदन अनुसार जनकपुरधाम उपमहानगरपालिकाले सो आ.व. मा दुई दिनको नगर सभा सञ्चालनमा ४३ लाख ८ हजार १२८ रुपैयाँ खर्च भएको देखाइएको छ ।

सो वर्षको नगर सभामा केही वडाध्यक्षसहितका जनप्रतिनिधिहरुले गरेको विरोधका कारण भएको विवादले निवर्तमान मेयर लालकिशोर पक्षका केही जनप्रतिनिधि र आमन्त्रित व्यक्ति लगायत मुस्किलले ५०/६० जना मात्र उद्घाटन सत्रमा उपस्थित थिए । विवादकै कारण कडा सुरक्षा भएपनि उद्घाटन सत्र बीचमै बिथोलिएको थियो ।

विपक्षमा रहेका वडाध्यक्षसहितका सदस्यहरुले विरोध गर्दा प्रहरीद्वारा लाठी चार्ज समेत गरिएको थियो । विवादकै कारण उद्घाटन सत्रको घटनाकाबीच उद्घाटन सत्रको एक सातापछि बन्द सत्र सम्पन्न भएको थियो ।

नगर सभाबारे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का निवर्तमान अध्यक्ष जानकीराम साह भन्छन्, 'सो वर्षको नगर सभामा आफूहरुले विरोध गर्दा नगर सभा नै बिथोलिएपछि नगर सभाको नाममा ४३ लाखभन्दा बढी रकम खर्च देखाउनु भनेको खुल्ला रुपमा भ्रष्टाचार हो ।'

उनले नगर सभालाई सम्झँदै भने, 'त्यो दिन कार्यपालिका बोर्ड सदस्यसहित एक/डेढ सय जनाको सहभागिता थियो । तर आफूहरुले मेयरको कर्तुतबारे विरोध गर्दा विवाद भएपछि विपक्षमा रहेका आफूहरुसहित दुर्घटना हुन सक्ने आमन्त्रित व्यक्तिहरु बाहिरिएपछि मुस्किलले ५० जना पनि त्यो बन्द कोठामा थिएनन् तर खर्चको हिसाब हेर्दा प्रतिव्यक्ति एक लाख रुपैयाँ खर्च देखाइएको हो ।'

महालेखाको प्रतिवेदनमा पनि उपमहानगरपालिकाले सञ्चालन गरेको सो नगरसभामा कतिजना उपस्थित थिए त्यो खुल्न नसकेको भनिएको छ । तर उपमहानगरपालिकाले खाना, खाजामा ठूलो रकम खर्च गरेको देखाएको छ ।

महालेखापरीक्षकको कार्यालयले नगर सभामा उपस्थितिको संख्या नखुलेकाले पालिकाका कर्मचारी, पदाधिकारी र अन्य आमन्त्रित व्यक्ति गरी ५५० जनालाई आधार मानेपछि उपमहानगरले प्रतिव्यक्ति ७ हजार ८३३ रुपैयाँ खर्च गरेको जनाएको छ । महालेखाले प्रतिव्यक्ति ७ हजार ८३३ खर्च हुनु स्वभाविक नभएको भनेकाे छ ।

प्रतिवेदन अनुसार उपमहानगरपालिकाले नगर सभामा खसीको मासु ६५३ केजी १ हजारका दरले ६ लाख ५३ हजार र कुखुराको मासु १ सय ५० केजी ३ सय ८० को दरले ५७ हजार तिरेको छ । त्यस्तै, उपमहानगरले दुई दिनको खाना बनाए वापत ज्यालामा १ लाख २५ हजार, नगर सभाको प्रत्यक्ष प्रसारण वापत स्थानीय टेलिभिजनलाई ९५ हजार, स्टेज सजावट तथा खाना बनाउने आवश्यक भाँडामा ३ लाख ३७ हजार ८७०, केसरिया गम्छा ३६० को दरले १ लाख ४२ हजार ४४०, व्याग र छाता १४०/१४० थानको ५ लाख ७४ हजार ७४१, पाइलट पेन ५८० थानको ७७ हजार ९२१ रुपैयाँ खर्च गरेको छ ।

यसैगरी, चिनी, चियापत्ती, चामल, दाल तथा मसला आदिमा ४ लाख ९६ हजार ४५७, १५५ थान डायरीमा ९८ हजार ४८४, पेश्की रकम ८ लाख ६० हजार, खाजा, कोल्ड ड्रिंक्स लगायत मसला र तरकारी आदिमा ७ लाख ९० हजार २१५ रुपैयाँ उपमहानगरपालिकाले खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नगर सभाको खर्चबारे निवर्तमान मेयर साहलाई सम्पर्क गर्न खोज्दा फोन रिसिभ गरेनन् । यता जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युमन प्रसाद उपाध्यायले सो वर्ष नगर सभा आफू आउनु अघि नै भएको बताएका छन् । प्रतिवेदनमा खर्च त ठूलो रकम देखाइएको तर त्यस बेलाको वस्तुस्थितिबारे आफूलाई थाहा नभएकोले यसमा केही भन्न सक्ने अवस्था नरहेको उनले बताए । 

इकागजबाट।