वीरगञ्ज, ७ साउन। बेद्धलाई ठक्कर दिएर घाइते बनाई फरार भएका सुमो चालकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका २४ बहुअरीमा स्थानीय ७० वर्षीय बृद्ध शिबदयाल राउत अहिरलाई ठक्कर दिएर घाइते बनाउने ना १ ज १९२१ नम्बरको टाटा सुमोका चालक पर्साकै बहुदरमाई नगरपालिका ७ विश्रामपुरका २१ वर्षीय अलाउदिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो।
सुमोले बिहिवार साउन ५ गते ठक्कर दिएर राउतलाई घाइते बनाई फारार भएका थिए। घाइते भएका राउतलाई उद्धार नगरेर सुमोसहित फरार भएका अन्सारीलाई प्रहरीले बिशेष सूचनाको आधारमा पक्राउ गरेको हो।
घाइते वृद्धको उपचारको क्रममा वीरगञ्जस्थित नारायणी अस्पतालमा शुक्रवार मृत्यु भएको थियो। वृद्धको मृत्युपछि स्थानीयले चालकलाई पक्राउ गर्न माग गर्दै सडकमा टायर बालेर प्रदर्शनसमेत गरेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीका अनुसार फरार रहेका चालक अन्सारीलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ विन्दवासिनी चोकबाट गाडीसहित पक्राउ गरिएको हो।
चालक अन्सारीविरुद्ध सवारी ज्यानसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले जानकारी दिए।