सिरहा, ७ साउन। करार सेवाको म्याद थप नगर्ने नगरपालिकाको निर्णय सच्याउनु पर्ने मागसहित करार कर्मचारी र नेकपा (माओवादी केन्द्र) आन्दोलनमा रहेका बेला म्याद नथपिएका करार कर्मचारीलाई नयाँ भर्ना प्रकृयामा सामेल हुन ढोका खुला रहेको गोलबजार नगरपालिकाले जनाएको छ।

mount school 333

नगरपालिकाले शुक्रबार अपरान्ह नगरपालिका परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर श्यामकुमार श्रेष्ठले म्याद नथपिएको भएपनि नयाँ भर्ना प्रकृयामा सामेल हुन ढोका सधैं खुला रहेको बताए । पत्रकार सम्मेलनमा मेयर श्रेष्ठले संविधान, स्थानीय सरकार संचालन ऐन २०७४, नियमावली, निर्देशिका तथा कार्यविधि बमोजिम वित्तीय व्यवस्थापनको बिश्लेषण गरी पारदर्शी ढंगले दक्ष कर्मचारी नियुक्त गरिने उल्लेख गरे।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा असार मसान्तमा करार सेवा अन्तर्गतका कर्मचारीहरुको म्याद स्वतः सकिने सन्दर्भमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपाल सम्बद्ध कार्यपालिका सदस्यहरुको समेत सहमति बमोजिम करार सेवाको म्याद थप नगरिएको उल्लेख छ। त्यस निर्णयप्रति असन्तुष्टि जनाउँदै करारका कर्मचारीहरुले शान्तिपूर्ण आन्दोलन गर्ने जानकारीसहितको ज्ञापन पत्र प्राप्त भइसकेको सन्दर्भमा ५ साउनमा भएको हुलहुज्जत, ढुंगामुढा, तोडफोड र सेवाग्राहीलाई घाइते बनाइएकोप्रति विज्ञप्तिमार्फत् खेद व्यक्त गरिएको छ । विज्ञप्तिमा घटनाको पूर्व सूचना हुँदाहुँदै स्थानीय सुरक्षा निकाय मुकदर्शक बनेको आरोप लगाउँदै ध्यानाकर्षण गराएको छ।

srijana school 2

मेयर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा नगरपालिकामा ५८ जना स्थायी कर्मचारीको दरबन्दी रहेकोमा २५ जना मात्र कार्यरत रहेकोमा थप कर्मचारीका संघीय सरकार, लोक सेवा आयोगसँग माग नगरी नगरलाई थप व्ययभार बढ्ने गरी एक सय २० जना करारका कर्मचारी भर्ना गरिएको दावी गरिएको छ। नगरलाई डिजिटल प्रविधि र पेपरलेस बनाउने नीति अवलम्बन गर्न अझ मानव श्रोत घटाउनु पर्ने बाध्यता रहेको विज्ञप्तिमा उल्लेख छ।

सोही क्रममा नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनौताले कर्मचारीको कार्यसम्पादन मूल्याङ्क नै नगरी एकमूष्ट ढङ्गले हटाउनु निती सँगत नभएको बताए। उनले कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन र आवशयकताको आधारमा राख्ने वा हटाउने गरेकोभए उत्तम हुने विचार राखे।

नगरमा माओवादी बाहेकको गठबन्धन
पहिलो स्थानीय तहको निर्वाचनमा बहुमतसहित मेयर उपमेयर जितेको माओवादी केन्द्र बाहेकका दलहरु करारका कर्मचारीको म्याद थप नगर्ने विषयमा एक ठाउँमा उभिएका छन् । नगरपालिकाको विज्ञप्तिसँगै नेपाली कांग्रेस गोलबजारका नगर सभापति राजदेव साह, नेकपा एमालेका राजकिशोर महतो, दल उल्लेख नभएको तर नगर अध्यक्षको रुपमा हस्ताक्षर गरेका हरिनारायण यादवले संयुक्त विज्ञप्तिमार्फत् नगरको ३० असारको करारका कर्मचारीको म्याद थप नगर्ने निर्णयको स्वागत गरेका छन्। विज्ञप्तिमा नगरपालिकाले सम्बन्धित निकायसँग थप कर्मचारी माग गर्ने र करार अन्तर्गत भर्ना गर्दा दक्ष तथा अनुभवीलाई पारदर्शी प्रकृया अपनाउन माग गरिएको छ।

नगरका निवर्तमान मेयर देवनाथ साहले संघीय सरकारले करार सेवा अन्तर्गत कर्मचारी भर्ना गर्न स्वीकृति दिएपछि नगरले बनाएको कार्यविधि अनुसार स्थायी दरबन्दीको कर्मचारी नआउञ्जेलका लागि करार सेवा अन्तर्गत कर्मचारी भर्ना गरिएको बताए । ‘कार्यविधि अनुसार योग्यलाई पारदर्शी ढंगले छनौट गरी भर्ना गरिएको हो’ उनले भने ‘तर नेतृत्व परिवर्तनसँगै सबैलाई प्रकृया नै नपुर्याई हटाउँदा गलत नजिर पनि बस्छ र सेवा प्रवाहमा पनि असहजता हुन सक्छ ।’

करारका कर्मचारीहरु विरुद्ध अन्य दलको गठबन्धन बनेपछि कर्मचारीहरुप्रति ऐक्यबद्धता जनाउँदै माओवादी केन्द्र एक्लै चरणबद्ध आन्दोलन गरिरहेको नगर अध्यक्ष जीवन यादवले बताए। म्याद नथप्ने निर्णय २४ घण्टाभित्र सच्याउन मागसहित १ साउनमा दिएको ज्ञापनपत्रको बेवास्ता गरिएपछि आफूहरु सिटी फुक्ने, मेयरलाई कार्यकक्षमा रोक लगाउने, मसाल जुलुश र पुतला दहन, मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दीसहितको आन्दोलन गरिरहेको उनले बताए।

sahakari copy (1)