वीरगञ्ज, २९ असार। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले संघियता विरेधीहरु पहिचान मेटाएर एकात्मक शासनलाई निरन्तर कायम राख्ने षड्यन्त्रमा लागेको बताएका छन्। वीरगञ्जमा जारी जसपाको केन्द्रीय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघियतालाई जालसाँझीपूर्ण तरिकाले एकात्मक सैलिमा फर्काउन खोजेको उनले जनाए। भारतमा जात, भाषा तथा भूगोललाई आधार बनाएर नामाकरण गरेको बताउँदै अध्यक्ष यादवले नेपालमा जात, भाषा, भुगोललाई वेवास्ता गर्दै नामाकरण गरेर पहिचान मेटाउने काम भएको टिप्पणी गरे।

संघियता र लोकतन्त्र विरोधी प्रावधानलाई संशोधन गर्नुपर्ने भएकाले ७ प्रदेशको अवधारणा गलत भएको यादवले बताए। आफूहरु अझैपनि १० प्लस १ प्रदेशको अवधारणाका लागि अहिले पनि प्रयत्नरत रहेको उनले दावी गरे।

मेरो जात ठूलो, मेरो धर्म ठूलो, मेरो सम्प्रदाय ठूलो भन्ने नश्लबादीय चिन्तनले समाजलाई पछाडी धकेलेको हुँदा जसपाबाहेक अरु पार्टी समानुपातिक समावेशी नभएको यादवको आरोप रहेको छ। यादवले भने, ‘समानता, समृद्धि र लोकतन्त्र नहुँदासम्म समाज रुपान्तरण हुँदैन, हामी यही बाटोमा अग्रसर छौँ। हाम्रो भिजन क्लियर छ, हाम्रो पार्टीको घोषणा पत्र, राजनीतिक प्रतिवेदनहरु सँगै विभिन्न जिम्मेवारीमा रहेका व्यक्तीहरु पनि सही दिशामै हिँडीरहेका छौँ।’

संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई इंगित गर्दै उनले भने, ‘जसपाको ब्यानर बिज्ञापन गरेर काठमाडांैमा बसेको बैठक अवैध हो, त्यसले वैद्यानिकता पाउँदैन, राजनीतिक संस्कार नभएका व्यक्तिले गुटगत भेला गर्नुभएको छ।’ डा. भट्टराई स्थिर हुन नसक्ने बताउँदै अध्यक्ष यादवले अस्थिर मानसिकताले पार्टी र संगठन नचल्ने आरोप लगाए।

नागरिता समस्याको समाधानका लागि पटक–पटक आवाज उठाएको स्मरण गर्दै उनले पूरानो नागरिकता विद्येयकलाई संशोधन गरेर नागरिकताबिहिनहरुलाई नागरिकता दिलाउने दृढता पनि व्यक्त गरेका छन्।
यादवले थपे, ‘शैक्षिक गुणस्तर खस्किदा अहिलेका शिक्षालयहरु खाडी मुलुकका लागि कामदार उत्पादन गर्ने कारखाना भएका छन्, यसमा परिवर्तन गर्नुपर्ने आवश्यक्ता खट्किएको छ। शिक्षासँगै हरेक क्षेत्रको परिवर्तनका लागि हाम्रो पार्टी प्रतिबद्ध छ।’

बाबुरामले बेइमानी गरे : अशोक राई

जसपाका सहअध्यक्ष अशोक राईले पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बेइमानी गरेको आरोप लगाएका छन्।

वीरगञ्जमा बैठक बोलाएकै दिन काठमाडौंमा भ्रम छर्न पार्टीकै व्यानर प्रयोग गरी बैठक बोलाएर समूहको भेला राख्नु डा.भट्टराईको बेइमानी भएको राईले बताए।

नयाँ पार्टी गठनका लागि भनेर भेला बोलाउनु स्वभाविक हुने भए पनि जसपाको व्यानर राखेर भेला बोलाउनु पार्टीको नीति र विधि विपरित भएको राईको भनाई थियो।

पार्टी छाडेर जो कोही पनि जान सक्ने भन्दै उनले कोही पनि जेलमा बसेको कैदी जस्तो नभएको स्पष्ट पारे । ‘जेलमा बसेको कैदीले सजाय भुक्तान नगरेसम्म बाहिर निस्कन नसक्ने जस्तो अवस्था होइन पार्टी,” उनले भने, “कसैको विचार फेरियो, बुद्धि फेरियो भने उसले पार्टी त्याग्न सक्छ।’

तर जसपामै छु भन्ने आभास गर्ने गरी पार्टीको व्यानर दुरुपयोग गरेर समानान्तर पार्टी चलाउन खोज्नु गलत भएको उनको भनाई छ।

बाबुराम अमुक समूहको भेलामा रमाए : मन्त्री श्रेष्ठ

आफ्नो कुरा पार्टीले मान्नुपर्छ भन्ने सोच निरंकुशताको पराकाष्टा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रबहादुर श्रेष्ठले बताएका छन्।

जारी बैठकलाई सम्बोधन गर्दै उनले डा.बाबुराम भट्टराई यस्तै सोचका साथ अघि बढेको आरोप लगाए।

पार्टीको केन्द्रीय कार्यकारिणी सदस्यसमेत रहेका मन्त्री श्रेष्ठले अहिले आफूहरु पार्टी निर्माणको महान अभियानमा अघि बढिरहेको भन्दै पार्टी फुटाएर अलग्गिन खोज्नेहरुका कारण केही समस्या उत्पन्न भएको स्वीकार गरे।

वीरगञ्जमा चलिरहेको बैठकमा संघीय परिषद् अध्यक्षसमेत रहेका डा.भट्टराईको समेत उपस्थिति हुने आशा राखेको भए पनि उनी काठमाण्डौमा अमुक समूहको भेलामा रमाएर बस्नु दुर्भाग्य रहेको मन्त्री श्रेष्ठको भनाई छ।

पार्टीको नियमविपरित केन्द्रीय बैठक राख्ने अधिकार डा. भट्टराईलाई कसले दियो भन्दै उनले प्रतिप्रश्न गरे । पुराना पार्टीहरुमा एकल जाती र एकल बर्चस्व हावी हुँदा समानुपातिक समावेशी ढंगले नयाँ पार्टी सञ्चालन भएको श्रेष्ठले बताए । पार्टीभित्रका समस्याहरुको समाधान गर्ने अधिकार भएका व्यक्तिले नै पार्टीभित्र समस्या सृजना गरेर विधि र विद्यान विपरितको काम डा. भट्टराइले गरेको मन्त्री श्रेष्ठको धारणा छ।

पार्टी सिध्याउने षड्यन्त्र सफल हुँदैन : बन मन्त्री यादव

वन तथा वातावरण मन्त्री प्रदीप यादवले मधेश प्रदेशमा सशक्त रहेको जसपा अब देशव्यापी रुपमा मजबुत बन्दै गएको दावी गरे।

मन्त्री यादवले वीरगञ्ज महानगरसहित पर्सा जिल्लाका सबै निर्वाचन क्षेत्रमा जसपाले झण्डा गाढ्ने जिकिर गरे। २०७४ सालको स्थानीय तहसँगै प्रदेशदेखि संघिय निर्वाचनमा पनि अधिकांश स्थानमा जित हाँसिल गरेको जसपाले अब यसपटक पनि जितेर देखाउने मन्त्री यादवको अडान छ।

पार्टीलाई अहिलेसम्मको अवस्थामा पु¥याउन पार्टी अध्यक्ष उपेन्द्र यादवको साहसिक निर्णय र नेतासँगै कार्यकर्ताहरुको उत्साह भएको बताउँदै उनले पार्र्टीभित्र मतभेद हुनु स्वभाविक भएको बताए । बिचार नमिल्नु र मतभेद हुनु सामान्य रहेको बताउँदै मन्त्री यादवले नेता फुटेपनि कार्यकर्ताको एकताले नै जसपालाई शक्तिशाली बनाउँदै गएको दावी गरे।

पार्टीलाई सिध्याउन विभिन्न षड्यन्त्र भएपनि ति षड्यन्त्रलाई परास्त गर्दै पार्टीले जनताको मन र बिश्वास जित्न सफल भएको जसपाका केन्द्रीय सदस्यसमेत रहेका यादवले बताए।

पार्टी फुटको संघारमा पुग्नु दुर्भाग्यपूर्ण : मुख्यमन्त्री राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले पार्टी फुटको संघारमा पुग्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । संविधानसभाबाट २०७२ मा जारी भएको संविधान सबैलाई स्वीकार्य बनाउने उद्देश्यसहित अघि बढिरहँदा पार्टी फुटको संघारमा पुग्नु दुर्भाग्यपूर्ण रहेको भन्दै उनले पार्टीले आफ्नो लक्ष्य नछाड्ने बताए । “पार्टीभित्र फरक मत उब्जन्छ, समस्या हुन्छन्, यो हरेक पार्टीमा हुन्छ” उनले भने “तर आएका समस्या समाधान गर्ने विधि र प्रक्रिया छ, त्यो बाट भागेर छलेर त हुँदैन नी।” पर्टीभित्र देखिएको समस्या समाधान गर्न पार्टी अध्यक्षसहित हेडक्वाटर बनाइएको स्मरण गराउँदै उनले त्यहीँबाट समाधान गरेर अघि बढ्नु पर्नेमा गुटगत भेला गर्दै हिँड्नु पार्टी नीति विपरित रहेको बताए।

वीरगञ्जमा चलिरहेको बैठक नीति र विधी अनुरुप चलिरहेको भन्दै उनले काठमाण्डौमा डा.बाबुराम भट्टराईले गरेको बैठक भने नीति हित विपरित स्वार्थ समूहको बैठक भएको टिप्पणी गरे । पार्टीको बैठक बोलाउने अधिकार अध्यक्षलाई रहेको भन्दै उनले कसैले कहीँ बोलाउँदैमा त्यो बैठक आधिकारिक हुन नसक्ने जिकिर गरे।

आर्थिक राजधानीको अनुभुती भएन : मेयर सिंह

वीरगञ्जबासीले आर्थिक राजधानीको अनुभुती गर्न नपाएको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बताए । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितीको बैठकमा सहभागीहरुलाई स्वागत मन्तव्यमार्फत स्वागत गर्दै मेयर सिंहले आर्थिक राजधानी भनिएपनि भनाईमा मात्रै सिमित रहेको बताए । जसपाका अध्यक्षसहित मन्त्री एवम् पदाधिकारीहरुको ध्यानाकर्षण गराउँदै मेयर सिंहले वीरगञ्जलाई गम्भिरताका साथ लिन आग्रह गरे उनले भने, “पार्टीका अध्यक्ष उपेन्द्र यादव ज्यु स्वास्थ्य मन्त्री बनेको बेला नारायणी अस्पतालमा योजना ल्याउनुभयो । त्यस्तै अब पनि वीरगञ्जलाई पार्टीले आफ्नै सोच्नेछ भन्ने बिश्वास छ ।” वीरगञ्जमा आएका पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यसहित सम्पुर्ण नेताहरुलाई स्वागत गर्दै वीरगञ्ज बैठक उपलब्धीमुलक होस् भन्ने बिश्वास पनि व्यक्त गरेका छन्।

वीरगञ्जको नगर सभा गृह (टाउन हल) मा बुधवारदेखि शुरु भएको केन्द्रिय समितिको बैठक बिहिवार समापन हुनेछ । बैठकमा कृषि मन्त्री मृगेन्द्र कुमार सिंह यादव, केन्द्रीय सदस्य आङ्काजी शेर्पा लगायतका नेताहरु सहभागी छन्।