वीरगञ्ज, २८ असार। बोर्डिङ्ग स्कुल चलाउने भए सरकारी जागिरबाट राजीनामा दिएर सञ्चालन गर्न गर्न वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अनुरोध गरेका छन्। वीरगञ्ज महानगरपालिकाले आयोजनामा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै दुवै हातमा लड्डु खोज्नेहरुलाई राजीनामा दिन सुझाव दिएका हुन्।
विद्यालयमा राजनीति गर्नेहरुलाई पनि शिक्षण पेशा छोडेर राजनीतिमा लाग्न मेयर सिंहको आग्रह छ । उनले भने, “अध्यापन कम राजनीति बढी गर्ने हो भने, शिक्षण पेशा छोड्नुहोस्, बोर्डिङ्ग चलाउने मन छ भने पनि शिक्षकबाट राजीनामा दिनुहोस्, राजनीति पनि गर्ने अनि तलब पनि खाने? दुईटै हातमा लड्डु खोज्ने काम नगर्ने?”
शिक्षामा कुनै पनि किसिमको सम्झौता नगर्ने बताउँदै उनले वीरगञ्जको शैक्षिक अवस्थामा परिवर्तन गरेरै छोड्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । आफ्नै पार्टीका शिक्षक भएको हुँदा सरुवा र बडुवामा मिलाइहाल्छु भन्ने भ्रमलाई आजैबाट त्याग्न पनि उनले आग्रह गरेका छन् ।