वीरगञ्ज, २७ असार। पर्सा क्षेत्र नम्बर ३ का निलम्बित प्रतिनिधी सभा सदस्य हरिनारायण रौनियारले अख्तियारलाई सत्तारुढ दलको सुदर्शन चक्रको संज्ञा दिएका छन् । अख्तियार दुरुपयाोग आयोग सत्तारुढ दलसँगै प्रधानमन्त्रीको ईशारामा चल्ने निकाय भएको रौनियारको आरोप छ।
वीरगञ्जमा सोमवार पत्रकार सम्मेलन गर्दै निलम्बित सांसद रौनियारले भने, ‘जसको सत्ता हुन्छ र जो प्रधानमन्त्री हुन्छ, अख्तियार उसैको ईशारामा चल्ने रहेछ ।’ अख्तियारकै सुदर्शन चक्र चलाएर सत्ताधारीले विपक्षीको राजनीतिक हत्या गर्ने रौनियारको भनाई छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अख्तियारका तत्कालिन प्रमुख आयुक्त नवीन घिमिरेले आफु माथि झुठो मुद्धा दर्ता गरेर फसाएको रौनियारको आरोप छ।
पर्सा क्षेत्र नम्बर ३ मा एमालेका उम्मेदवारलाई पराजित गरेको रिसीबी साँध्न र आगामी निर्वाचनमा मलाई लड्न नदिन षड्यन्त्र गरेर फसाइएको उनले बताए।
उनले भने, ‘पप्पु कन्स्ट्रक्शनले निर्माण गरेको पुलमा त्रुटी भेटिए पनि म त्यसमा दोषी नै छैन। २०७२ सालमै मैले पप्पु कन्ट्रक्सनको अध्यक्षबाट राजीनामा दिएर २०७३ मा तत्कालीन संघीय समाजवादी फोरममा प्रवेश गरि २०७४ मा चुनाव लडेर एमालेलाइ हराउदै जितेर देखाए ।’ आफु संलग्न नै नभएको कम्पनीको त्रुटीमा आफुमाथि मुद्धा दायर गरेर फसाइएको भन्दै उनले आपत्ति जनाएका छन्।
चुनाव जितेको ६ महिना नबित्दै बिना कसुर आफु विरुद्ध भ्रष्टचारको मुद्धा दर्ता गरि सांसद पदबाट निलम्बित गरेपछि न्यायका लागि आफुले आफ्नो कुनै किसिमको संलग्नता र आवद्धता नभएको हुँदा निलम्बन फुकुवा गर्न हरेक दलका शीर्ष नेता, सभामुख र प्रधानमन्त्रीहरुलाइ पटक पटक गुहारे पनि कसैले नसुनेको उनको गुनासो छ।
आफनै दल जसपा र पार्टी अध्यक्ष उपेन्द्र यादवले पनि कुनै सहयोग नगरेको रौनीयारले दुःख व्यक्त गरे।
जसपालाई फुटाउनका लागि एमाले अध्यक्ष एवम् तत्कालिन प्रधानमन्त्री ओली र जसपाकै नेताले ५ करोड रुपैयाँ र भ्रष्टाचारको मुद्धा फिर्ता गर्ने प्रलोभन दिएको उनले खुलासा गरे।
बर्दियाको पुल निर्माणमा भ्रष्टचार गरेको आरोपमा विशेष अदालतमा मुद्धा दायर भएपछि रौनियार सांसद पदबाट निलम्बित भएका हुन् । पप्पु कन्स्ट्रक्शनको सञ्चालक आफ्ना छोरा सुमित रौनीयार भएपनि उक्त निर्माण कम्पनिमा २०७२ पछि आफ्नो कुनै आबद्धता र संलग्नता नभहेको रौनीयारले बताए।