वीरगञ्ज, २७ असार। बन तथा वातावरण मन्त्री प्रदीप यादवले चुरे क्षेत्रमा बन माफियाको गिद्धे नजर लागेको बताए। वीरगञ्ज महानगरपालिका ४ मा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले बन माफियाहरुले चुरे दोहन गरेर मधेशलाई मरुभुमीकरण गर्ने खेलतर्फ लागेको बताए।
बन माफियालाई कानुनी कठघराभित्र ल्याउने प्रतिबद्धता पनि उनले जनाएका छन्। उनले भने, ‘चुरे क्षेत्रभित्र खुलेका अवैध क्रसर उद्योगहरुमा कुनै न कुनै नेताको आशिर्वाद छ। ठूला शक्ति केन्द्रको संरक्षण छ। तर ३ महिनाभित्र सबै अवैध क्रसर उद्योग बन्द हुनेछन्।’ चुरे जोगिए मात्रै मधेश जोगिने बताउँदै उनले वातारण संरक्षण्का लागि चुरे क्षेत्रको संरक्षण अपरिहार्य भएको बताए।
‘जनताको रहर, हरित शहर’ कार्यक्रम सञ्चालन गरेर हरेक सडकको वरिपरी हराभरा बनाउन बृक्षरोपण गरिने मन्त्री यादवले जानकारी दिए। तराई मधेशका १ सय ५ पालिकामा वृक्षरोपण गर्नुका साथै श्रावन महिनाभरीमा देशैभर १ करोड वृक्षरोपण गर्ने मन्त्री यादवको योजना छ। वृक्षरोपणका लागि श्रावन महिना उपयुक्त भएको हुँदा श्रावनमा रोपिएका विरुवा बढ्ने पनि उनको बिश्वास छ।
पर्सा जिल्लाका विभिन्न सडकहरुको वरीपरी पनि विरुवा रोपेर हरियाली बनाई वातावरणको संरक्षण गर्ने अभियानमा हातेमालो गर्न पनि उनले आग्रह गरेका छन्। वीरगञ्जमा देशकै नमुना चिडियाखाना बनाएर जंगली जनावरको अवलोकन गर्नका लागि वीरगञ्ज आउने वातावरणको सृजना गरी पर्यटनको बिकास गर्ने मन्त्री यादवको भनाई छ।
वडा नम्बर ४ मा वडाअध्यक्ष जगत साह कानु र वडा नम्बर ८ मा वडाअध्यक्ष रितेश गुप्ताको अध्यक्षतामा मन्त्री यादवलाई सम्मान गरिएको थियो।
पर्साका जनताकै साथ र सहयोगका कारण सांसद हुँदै मन्त्री बन्न सफल भएको बताउँदै उनले खुशी व्यक्त गरे । गृह जिल्लाका जनताको आशिर्वाद लिनका लागि र जनतालाई धन्यवाद भन्नका लागि अँझै केही दिन यतै बस्ने उनको भनाई छ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहले वीरगञ्जको बिकासका लागि वडाअध्यक्ष, मेयर र मन्त्रीको समन्वयात्मक भूमिका हुने बताए । वीरगञ्जलाई नमुना शहर बनाएर वीरगञ्जको मुहार कायापलट गर्ने दावी गर्दै मेयर सिंहले अब वीरगञ्ज बास्तवमै समृद्ध बन्ने बिश्वास व्यक्त गरे । वडाको बिकाससँगै विद्यालयको शैक्षिक गुणस्तर एवम् भौतिक पूर्वाधारको सुधारमा कुनै कसर बाँकी नराख्ने मेयर सिंहको प्रतिबद्धता छ । वीरगञ्जको बिर्ता मन्दिर सडक बिस्तार भएपछि स्थानान्तरण गर्नुपर्ने भन्दै उनले उपयुक्त स्थानको खोजी गर्ने काम भइरहेको पनि जानकारी दिए ।