वीरगञ्ज, २४ असार। देशकै सबैभन्दा कान्छो पालिका प्रमुखले जितेको भन्दै चर्चा बटुलेको पर्साको कालिकामाई गाउँपालिकाको गाउँसभा अनिश्चित बनेको छ। जनता समाजवादी पार्टी (जसपा) बाट २१ वर्षीय बशिष्ट कुमार गुप्ता गाउँ पालिका अध्यक्षमा निर्वाचित भएपछि चर्चा बटुलेको कालिकामाईको गाउँ सभा उपाध्यक्ष राजमती देवी बरैनीसहित १५ जना जनप्रतिनिधीले बहिष्कार गरेपछि अनिश्चित बनेको हो।

laif 1

१५ जाले बहिष्कार गरेपछि कोरम नपुग्दा शुक्रवार बोलाइएको गाउँसभा स्थगित भएको छ। गाउँ पालिकाका अध्यक्ष गुप्ताले विधी तथा प्रक्रियाविपरित स्वेच्छाचारी ढंगबाट गाउँसभा राखेको उपाध्यक्ष बरैनीको आरोप छ। वडाको बिकास बजेट कटौती गरेर खरिद, इन्धन र कर्मचारी भर्नामा करिब ९ करोड रकम बिनियोजन गरेको भन्दै उनले आपत्ति जनाएकी छिन्।

Bahiskar garne haru 1

शिक्षा स्वास्थ्य एवम् पूर्वाधारलाई वेवास्ता गरेर इन्धन, कर्मचारी भर्ना, खरिदमा ९ करोड रकम बिनियोजन गर्नु शंकास्पद भएको भन्दै गाउँ सभा बहिष्कार गरिएको वडा नम्बर २ का वडाअध्यक्ष सोनालाल प्रसाद चौरसियाले बताए।

स्थानीय सरकार सञ्चालन ऐनले निर्धारण गरेको मापदण्ड र प्रक्रिया पूरा गरेर विधिवत रुपमा आर्थिक वर्ष २०७९/८० को गाउँ सभा गर्नुपर्ने उनीहरुले माँग गरेका छन्।

वडा नम्बर ४ का अध्यक्ष संजय कुमार साह, वडा नम्बर ४ का वडा सदस्यहरु उमाशंकर मुखिया, सिमा देवी, मोलाजिम मियाँ मंसुरी, निर्मला देवी चौरसिया, वडा नम्बर २ का वडा सदस्यहरु लालसा देवी चमैन, संजय ठाकुर लोहार, बिजय प्रसाद मलाह, वडा नम्बर १ का वडा सदस्यहरु महन्थ प्रसाद पटेल, गिता देवी कुर्मिन, जसोदिया देवी, कार्यपालिका सदस्य रामराज प्रसाद चौरसियाले पनि उपाध्यक्ष बरैनीलाई समर्थन गरेका छन्।

अध्यक्ष गुप्ताले भने उपाध्यक्ष बरैनीले भागबण्डा माग्दा गाउँ सभा हुन नसकेको प्रतिक्रिया दिँदै आएका छन्। गाउँ सभा गर्नुभन्दा अघि उपाध्यक्षले नै बैठक राखेर छलफल गर्नुपर्नेमा अहिलेसम्म नगर्नुले गाउँसभा हुन नदिने नियत स्पष्ट भएको अध्यक्ष गुप्ताको भनाई छ। गुप्ताले भने, ‘गाउँ सभा नहुनुको पछाडी उपाध्यक्षकै हात छ। उहाँले आफ्नो भागबण्डा मागिरहनुभएको छ। यो भन्दा अघि पनि अस्तव्यस्त रहेको पालिकालाई बिकास गर्न म आएको हुँ। मेरो साथमा जनता हुनुहुन्छ। त्यसैले म उहाँहरुसँग सहमति गरेर बजेट यताउती गर्दिन।’

उपाध्यक्ष बरैनीका श्रीमान योगेन्द्र चौरसिया पालिकाका स्वास्थ्य संयोजक हुन्। चौरसिया संयोजकत्वमा पालिकाको स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक भएको पनि अध्यक्ष गुप्ताको भनाई छ।

nabikaran