काठमाडौं, १ असार। आज मधेश प्रदेश सरकार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउँदै छ।
असार १ गतेमा आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुरुप मधेश प्रदेश सरकारले पनि आज बजेट ल्याउन लागेको हो।
आज अपराहन्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा अर्थमन्त्री शैलेन्द्र साहले बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
चालु आर्थिक वर्षभन्दा बढी बजेट ल्याउने तयारीमा सरकार छ। करिब ४० अर्ब बजेट मधेश सरकारले ल्याउन लागेको हो।
संघीय सरकारबाट आर्थिक वर्षको लागि सशर्त अनुदानको १० अर्ब ६ करोड ५१ लाख, विशेष अनुदान २ अर्ब ५६ करोड, सामान्यकरण अनुदान वापत ७ अर्ब ८१ करोड ५८ लाख, राजस्व बाडफाँट करिब साढे ७ अर्ब र समपुरक बजेट ७८ करोड गरी २८ अर्ब ७२ करोड रकम मधेश प्रदेश सरकारले पाउने छ।
त्यसबाहेक प्रदेशको आन्तरिक अनुमानित आम्दानी साढे ३ अर्ब, चालु आर्थिक वर्षको बजेटमा खर्च हुन सक्ने अनुमानित रकम ९ अर्ब र आन्तरिक ऋण १ अर्ब समावेश गरी सरकारले करिब ४० अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरिरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। चालु आर्थिक वर्षको बजेट करिब ३४ अर्ब रहेको छ।
बजेटमा कृषिलाई उच्च प्राथमिकतामा राखेको बुझिएको छ। त्यस्तै शिक्षा स्वास्थ्य, पूर्वाधार, पर्यटन लगतलाई बजेटमा समेटिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।
बजेट ल्याउनु अघि गत जेठ २१ गते प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको थियो। नीति तथा कार्यक्रम सर्वसहमतिले पारित साइसकेको छ। नेपालखवरबाट।