वीरगञ्ज, २७ जेष्ठ। जिल्ला समन्वय समिति (जिसस) पर्साको प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेका साझा उम्मेदवार निरञ्जन साह सोनार (अजय) प्यानलसहित बिजयी भएका छन्।

जिसस पर्साको शुक्रवार सम्पन्न निर्वाचनमा २ मत अन्तारले सोनार प्रमुखमा निर्वाचित भएका हुन्। उनले १५ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का साझा उम्मेदवार सरोज चौरसियाले १३ मत प्राप्त गरेका छन्।

उप सभापतिमा एमालेका पुरण प्रसाद कुर्मी, सदस्यमा जसपाका बैजन्ती देवी, राजपति देवी, बिनय प्रसाद कुर्मी, एमालेका श्रीकान्ती देवी, सुशिला कामी, रामप्रसाद यादव, सलिम मियाँ अन्सारी निर्वाचित भएका छन्।
अरु सबैले १५ मत पाउँदा जसपाका बिनय प्रसाद कुर्मीले भने १६ मत प्राप्त गरेको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए।

पर्सा जिल्लाका १४ स्थानीयतहमध्ये १ महानगर पालिका, ३ नगर पालिका र १० गाउँ पालिकामा प्रमुख र उपप्रमुख गरी २८ जना मतदाता रहेका थिए। पर्साका १४ स्थानीय तहमा कांग्रेसबाट १२, एमालेबाट १०, जसपाबाट ५ र लोसपाबाट १ गरि कुल २८ प्रमुख–उपप्रमुख निर्वाचित भएका छन्।