वीरगञ्ज, २४ जेष्ठ । जिल्ला समन्वय समिति पर्साको नयाँ नेतृत्व चयनका लागि सत्ता गठबन्धन बाहिर गएर जनता समाजवादी पार्टी नेपाल (जसपा) ले नेकपा एमालेसँग गठबन्धन गरेको छ ।
मंगलबार भएको जिल्ला समन्वय समिति निर्वाचनका लागि जसपा र एमालेले गठबन्धन गरेर उम्मेदवारी दर्ता गराएको छ भने नेपाली कांग्रेसले एक्लै उम्मेदवारी दर्ता गराएको छ ।
वीरगञ्ज महानगरको मेयर उपमेयर र बोर्ड सदस्यको निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेको जसपाले जिल्ला समन्वय समितिको निर्वाचनमा भने एमालेसँग गठबन्धन गरेको हो । समन्वय समितिको प्रमुख र ३ सदस्य लिँदै जसपा एमालेसँग गठबन्धन गर्न पुगेको बुझिएको छ ।
महानगरमा कांग्रेस र जसपा मिलेर मेयर उपमेयर तथा बोर्ड सदस्य भागवण्डा लगाएका थिए । तर समन्वय समितिमा भने कांग्रेसले नेतृत्वको दावी गरेपछि जसपा एमालेसँग मिल्दै नेतृत्व हत्याउन पुगेको हो ।
१४ स्थानीय तहमध्ये १२ प्रमुख उपप्रमुख कांग्रेसको हुँदा एमालेको १०, जसपाको ५ र लोसपाको १ रहेको छ ।
बढी मत आफुसँग रहेकाले नेतृत्व आफूले पाउनु पर्ने सत्तागठबन्धनमा कांग्रेसले दावी गरेपछि नेतृत्व जसले दिन्छ उसैसँग जिससको निर्वाचनमा तालमेल गर्ने रणनीति अपनाएर जसपाले छलफल अघि बढाएको थियो ।
एमाले जसपालाई नेतृत्व सुम्पदै उपप्रमुखमा चित्त बुझाउन राजी भएपछि जिल्ला समन्वय समितिको आउँदो २७ गते हुने निर्वाचनमा एमाले र जसपाबीच तालमेल भएको जसपाका एक नेताले बताए ।
जस अनुसार जिल्ला समन्वय समितिको प्रमुखका लागि जसपाले वीरगञ्ज १५ बाट वडासदस्यमा निर्वाचित निरञ्जन साह सोनार (अजय सर्राफ)लाई उम्मेदवार बनाएको छ ।
उपप्रमुखका लागि भने बहुदरमाई नगरपालिकाका पुरन कुर्मीलाई एमालेले अघि सारेको छ । एमालेले उपप्रमुखसहित ४ सदस्य लिएको छ भने जसपाले प्रमुखसहित ३ सदस्य भागमा पाएको छ ।
यसैबीच नेपाली कांग्रेसले पनि जिसस नेतृत्वका लागि आफ्नो एकल उम्मेदवारी दिएको छ । कांग्रेसले जिराभवानी गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेका सरोज चौरसियालाई प्रमुखको उम्मेदवार बनाएको छ भने वीरगञ्ज वडा नम्बर ९ की सदस्य कुमारी सोनी पासवानलाई उपप्रमुखको उम्मेदवार बनाएको छ ।
निर्वाचनमा जसपा नै निर्णायक रहेकाले एमाले र कांग्रेस जसपालाई हातमा लिन लागि परेका थिए । महानगको मेयर छाडेको र बोर्डमा पनि समान हिस्सा दिएको कांग्रेसले जिससमा भने आफ्नो नेतृत्व ल्याउन चाहेको थियो ।
तर जसपाले नेतृत्व नछाड्ने अडान लिँदै एमालेसँग तालमेल गर्न पुगेपछि कांग्रेस बहुमत नभए पनि उम्मेदवारी दर्ता गरेर औपचारिकता निभाउन बाध्य भएको छ ।
एमाले र जसपाले तालमेल गरेसँगै उनीहरुको मतसंख्या १५ भएको छ । कांग्रेस एक्लैसँग १२ छ । त्यसैले निर्वाचनमा प्रतिनिधिले मत क्रस नगरे जित एमाले जसपा गठबन्धनको हुने देखिन्छ ।
यसले विगतमा पनि जिससमा पुग्न नसकेको कांग्रेस यस वर्ष पनि जिससमा पुग्नबाट वञ्चित हुने देखिएको छ ।