वीरगञ्ज, १९ जेष्ठ। पर्साको बिन्दवासिनी गाउँपालिकामा गठबन्धनको निर्णयविरुद्ध नेपाली कांग्रेसले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग गठबन्धन गरेको छ । नेपाली कांग्रेस र लोसपासँग गठबन्धन गर्दै गाउँ कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ ।
३ जना लोसपा र १ जना कांग्रेसबाट महिला सदस्यमा निर्विरोध निर्वाचित भइसकेका थिए भने २ जना खुला सदस्यका लागि निर्वाचन भएको थियो । नेपाली कांग्रेसबाट धनपति तत्वी र लोसपाबाट कुशमी कुमारी देवी, रिमा कुमारी देवी र मान्ती देवी निर्विरोध निर्वाचित भएका थिए । त्यस्ते खुला तथा अल्पसंख्यक सदस्यमा नेपाली कांग्रेसका शम्भु प्रसाद बरै र अशोक कुमार गुप्ता निर्वाचित भएका छन् ।
दुवै जनाले २१/२१ मत प्राप्त गरेका छन् । गाउँ कार्यपालिका सदस्यमा निर्वाचित भएका अशोक कुमार गुप्ता नेपाली कांग्रेस पर्साका उपसभापति हुन् । २७ मतदाता रहेको बिन्दवासिनी गाउँपालिकामा १ मत बदर भएको निर्वाचन अधिकृत अरुण कोइरालाले जानकारी दिए ।
सत्तारुढ ५ दलीय गठबन्धनले आवश्यक्ताको आधारमा स्थानीय तहमा पनि ५ दलबिच गठबन्धन गर्न सकिने बताएपनि बिन्दवासिनी गाउँपालिकामा नेपाली कांग्रेसले विपक्षी दल लोसपासँग गठबन्धन गरेको हो ।
यस्तै बहुदरमाई नगरपालिकामा पनि जनता समाजवादी पार्टी (जसपा) ले नेकपा एमालेसँग गठबन्धन गरेको हो । सत्तारुढ दलहरुले गठबन्धनकै दलहरुबिच तालमेल गर्न निर्देशन जारी गरेपनि बहुदरमाईमा उक्त निर्देशनविपरित विपक्षी दल नेकपा एमालेसँग तालमेल गरेर नगर कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ ।
जहाँ नेकपा एमालेका ४ र जसपाका ४ जना कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । दलित वा अल्पसंख्यक सदस्यमा एमालेका मुखदेव साह कानु तथा जसपाका प्रदीप गुप्ता र रामरेखा सिंह निर्वाचित भएका छन् भने महिला सदस्यमा एमालेकी नगिया देवी, समसा खातुन र सुनिता देवी र जसपाबाट कुन्ती देवी र तेतरी देवी निर्वाचित भएका छन् ।