उदयपुर, १६ जेष्ठ। उदयपुरको त्रियुगा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बसन्त कुमार बस्नेत विजयी भएका छन्।
सोमबार सम्पन्न मतगणनाको परिणाम अनुसार निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका भागवत राउतलाई दुई हजार बढी मतान्तरले बस्नेत नगर प्रमुखमा विजयी भएका हुन्।
बस्नेतले १३ हजार ९५९ मत पाउँदा एमालेका राउतले ११ हजार ८७३ मत र अर्का प्रतिस्पर्धी निवर्तमान नगर प्रमुख नेकपा एकीकृत समाजवादीका उम्मेदवार बलदेव चौधरीले ९ हजार १४७ मत पाएका छन्।
नगर उपप्रमुखमा एमालेकी महेश्वरी राई विजयी भएकी छन्। उनी १३ हजार ७०३ मत सहित उपप्रमुखमा विजयी भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी सरिता राइले ११ हजार ९८१ मत र नेकपा माओवादी केन्द्रका गीता खड्का कार्कीले ६ हजार ५६८ ल्याएकी छन्।
१६ वडा रहेको नगरपालिकाको बहुमत वडा नेपाली काँग्रेसका उम्मेदवारहरुले जितेका छन्। नेपाली काँग्रेस ९ वटा वडा, नेकपा एकालेले ४ वटा वडा र नेकपा माओवादी केन्द्रले ३ वडा वडामा विजयी हासिल गरेका छन्।
नेपली काँग्रेसका तर्फबाट वडा नम्वर १ मा मोहन कुमार चौधरी, ३ मा तीलक बहानुर कटुवाल, ४ मा बद्रि बस्नेत, ५ मा उदव कुमार थापा, ८ मा राज कुमार राउत, ९ मा राज कुमार दनुवार, ११ मा सुमान्त कोईराला, १२ मा चुडाराज काफ्ले र १३ मा नविन कुमार चौधरी वडाअध्यक्षमा विजयी भएका छन्।
नेकपा एमालेबाट वडा नँवर २ मा घमान सिं खत्र, ६ मा योगेन्द्र बहादुर दहाल, ७ मा अमर बहादुर दनुवार र १० मा किरण पाण्डे वडा अध्यक्ष बनेका छन्।
माओवादी केन्द्रको तर्फबाट वडा नम्वर १४ मा हिमराज मगर, १५ मा गणेश प्रसाद तिम्सीना र १६ मा मान बहादुर राई वडा अध्यक्ष विजयी भएका छन्।