काठमाडौं, १५ जेष्ठ। सरकारले आज आउँदो आर्थिक वर्ष २०७९/०८० को लागि बजेट सार्वजनिक गर्दैछ। जेठ १५ गते संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आज बजेष्ट प्रस्तुत गर्न लागिएको हो।

अर्थमन्त्री जनार्दन शर्माले दिउँसो चार बजे आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्न लगेका हुन्।

देशको अर्थतन्त्र जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको अवस्थामा आउन लागेको बजेटलाई चासोका साथ हेरिएको छ। तर सरकारले आसन्न सङ्घीय र प्रादेशिक चुनाव लक्षित मतदाता रिझाउने गरी महत्वाकाङ्क्षी बजेट ल्याउने तयारी गरेको छ। नयाँ बजेटका लागि राष्ट्रिय योजना आयोगले १७ खर्ब ४५ अर्ब रुपैयाँको सीमा निर्धारण गरेको छ।

सरकारले तोकिएको सीमाभित्रै रहनेगरी बजेट ल्याउने जनाएको छ। बजेट १७ खर्ब हाराहारीको बनिरहेको अर्थमन्त्रालयका अधिकारीले बताएका छन् । बजेटमा सामाजिक सुरक्षा, कर्मचारीको तलब वृद्धि, करका दर परिवर्तन, आयकर छुट, भन्सार छुट, इन्धनमा १० रुपैयाँ कर कटौतीलगायतका कार्यक्रम समेट्ने तयारी छ।

उच्च आयात र घट्दो विप्रेषणका कारण भुक्तानी सन्तुलनमा चाप परेकाले आन्तरिक उत्पादनलाई जोड दिनेगरी नयाँ बजेट ल्याउने सरकारको तयारी छ। स्रोत र खर्च क्षमतालाई केन्द्रमा राखेर कार्यान्वयनमुखी बजेट ल्याउन विज्ञले पनि सुझाव दिएका छन्।

मूल्यवृद्धि नियन्त्रण गर्ने र उपभोक्तालाई राहत पुग्ने कार्यक्रम ल्याउन र ती कार्यक्रमको कार्यान्वयन पक्षमा ध्यान दिन पनि उनीहरुको जोड छ । चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट आएको थियो । तर अर्धवार्षिक समीक्षाबाट आकार घटाउँदै १५ खर्ब ४६ अर्ब रुपैयाँको बनाइएको थियो ।

नयाँ बजेटको कार्यान्वयनमार्फत ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हुने योजना आयोगको प्रक्षेपण छ। बजेट संसदमा पेस गर्नुपूर्व मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने हुन्छ।