काठमाडौं, १४ जेष्ठ। सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेलले लिपुलेक, कालापानीको नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाएको बताएको छ।
तत्कालीन शिक्षामन्त्री समेत रहेका नेता पोखरेलले सरकारको नीति तथा कार्यक्रमबारे संसदमा ओलीले राष्ट्रियताका कुरा गरे पनि उहाँले नै आफू प्रधानमन्त्री रहेकै बेला सो पुस्तक सार्वजनिक गर्न रोक लगाएको बताएको हो ।
शनिबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यसैकारण ओली पनि राष्ट्रियताको सवालमा कठघरामै रहेकोतर्क गरे । उनले राष्ट्रिय र प्रजातन्त्रलाई कूटनीतिक दाउपेचको विषय नबनाउन पनि ओलीलाई सचेत गराए । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको सवाललाई छोडेको भन्दै नेता पोखरेलले असन्तुष्टि समेत व्यक्त गरे ।
ुवास्तवमा यो सदनमा प्रतिपक्ष दलको नेता केपी ओलीले प्रजातन्त्र र राष्ट्रियताबारे लामो प्रवचन दिनुभयो । मैले सुनिरहेँ । वास्तवमा दुई पटक संसद विघटन गर्नु भयो उहाँले । त्यो गल्ती कतै उहाँले स्वीकार गर्नु भएन ।ु उनले भने, ‘राष्ट्रियताको कुरा गरिरहँदा शिक्षामन्त्री हुँदा तयार गरेको लिपुलेक, कालापानी सम्बन्धि पुस्तकलाई उहाँले रोक लगाउनु भयो । एउटा कार्यदल बनाउनु भयो । एक पटक पनि बैठक राख्नु भएन । र, किताब किन रोकियो ’ जवाफ पनि दिनु भएन । साच्चै प्रजातन्त्र र राष्ट्रियता तपाई पनि कठघरामै हुनुहुन्छ । राष्ट्रियता र प्रजातन्त्र र राष्ट्रियतालाई कुटनीतिक दाउपेचको विषय हुन सक्दैनन् भन्ने मलाई लाग्दछ ।’