सर्लाही, १२ जेष्ठ। सर्लाहीको हरिवन नगरपालिकाले गरिबीको कारण पढाइबाट बञ्चित भएका बालबालिकाको पढाइको सम्पूर्ण दायित्व लिने भएको छ। 

हरिवन नगरपालिकाका नवनिर्वाचित मेयर रमेश बुढाथोकी (कमल)ले बुधबार पदभार ग्रहण गर्दै यस्तो घोषणा गरेका हुन्। ‘चरम गरिबीमा रहेका अभिभावकका छोराछोरीलाई नगरपालिकाले नै पढाइदिने छ,’ मेयर बुढाथोकीले भने, ‘त्यस्ता बालबालिकाको पढाइको सम्पूर्ण दायित्व नगरपालिकाले लिने छ।’
उनले यसै आर्थिक वर्षबाट हरिवन नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने निर्णय गरिएको पनि जानकारी दिए।

पदभार ग्रहण कार्यक्रममा उनले नागरिकका माग र गुनासो सम्बोधनका लागि ‘हेल्लो हरिवन सरकार’ कार्यक्रम सञ्चालन गरिने बताए।

त्यसैगरी असक्त जेष्ठ नागरिक र अपांगता भएकाहरुलाई घरमै सामाजिक सुरक्षा भत्ता पुर्याउने, दुई सन्तान जन्माउने सुत्केरीलाई सुत्केरी भत्ता बापत ४ हजार रुपैयाँ प्रदान गर्ने निर्णय पनि हरिवन नगरपालिकाले गरेको छ।

नगरका सबै वडामा योग अभ्यास केन्द्र सञ्चालन गर्ने, नगरका सबै खेतीयोग्य जमिनमा सिंचाइको सुविधा पुर्याइने, अव्यवस्थित बसोबासीलाई व्यवस्थित गरिने, सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न भूमि आयोगसँग समन्वय गर्ने, हरिवन बजारलाई रातको १० बजेसम्म सञ्चालन गर्ने वातावरण सिर्जना गरिने जस्ता निर्णय पनि हरिवन नगरपालिकाले गरेको छ।

बुढाथोकी माओवादी केन्द्रको तर्फबाट हरिवन नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन्। उनी माओवादी केन्द्रबाट हरिवनमा निर्वाचित हुने एकमात्र जनप्रतिनिधि हुन्। 

माओवादीले हरिवनमा कुनै पनि वडामा वडासदस्यसमेत नजित्दा पनि बुढाथोकी भने निवर्तमान मेयरसमेत रहेका एमालेका गणेश प्रसाइँलाई पराजित गर्दै मेयरमा विजयी भएका हुन्।                        नेपालखवरबाट।