लहान, ११ जेष्ठ। मधेश आन्दोलनको उद्गम स्थल सिरहा जिल्लामा मधेश केन्द्रीत दलहरु नै कमजोर देखिएको छ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुदाँ सिरहामा मधेश केन्द्रीत दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कमजोर बनेको हो।
सिरहाको १७ स्थानीय तह मध्ये जसापले चार वटा स्थानीय तह जित्दाँ अर्काे मधेश केन्द्रीत दल लोपसाले जिल्लामा खाता समेत खोल्न सकेन्।
सिरहामा एमाले पहिलो र ठुलो शक्ति बन्दा जिल्लामा जसपा दोश्रो शक्तिको रुपमा उभिएको छ। जसपाले अघिल्लो निर्वाचनमा जितेको जति परिणाम ल्याउन नसकेपनि दोश्रो शक्तिको रुपमा कायम भएको छ।
गत २०७४ सालको निर्वाचनमा सिरहाको छ वटा स्थानीय तह जितेको जसपाले यसपालिको निर्वाचनमा चार वटा स्थानीय तह मात्र जितेको छ। जसपाले पहिला जितेको सिरहा नगरपालिका, भगवानपुर गाउँपालिका, बिष्णुपुर गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका र बरियारपट्टी गाउँपालिका मध्ये यसपालि बरियापट्टी गाउँपालिकामा मात्र आफ्नो पुरानो साख कायम राख्न सकेको छ। जसपाले पहिला जितेको पाँच वटा पालिका गुमाउँदा नयाँ तीन वटा पालिका जितेको छ।
औरही गाउँपालिका र अर्नमा गाउँपालिका माओवादीसँग खोसेको जसपाले काँग्रेसबाट नवराजपुर गाउँपालिका खोसेको छ। कतिपय स्थानीय तहमा जित नजिक पुगेपनि परिणाम आफ्नो उम्मेदवारको पक्षमा नआएको जसपाका नेताहरुले बताएका छन्। सप्तरीमा तीन वटा स्थानीय तह जितेको लोसपा सिरहामा भने एउटा पनि पालिका जित्न सकेको छैन्।
मधेश आन्दोलनको बेला सिरहामा बलियो पकड बनाएको मधेश केन्द्रीत दलहरु आपसमा बिभाजित हुनु, बिस्तारै नेताहरुमा बिलासिता बढ्दै जानु र अवसर पाएका बेला जनअपेक्षा अनुसार काम गर्न नसक्नु जस्ता कारणले मधेश केन्द्रीत दलहरु कमजोर बनेको बिश्लेषकहरुको भनाई छ।
सिरहामा मधेश केन्द्रीत दलसँगै अन्य दलहरु कमजोर बन्दाँ नेकपा एमाले भने ठुलो दलको रुपमा बर्चस्व कायम गरेको छ।
एमालेले सिरहाको १७ पालिका मध्ये एक्लैले नौ वटा स्थानीय तह जितेर सबै भन्दा ठुलो दलको रुपमा बर्चस्व कायम गरेको हो।
गत २०७४ सालको स्थानीय तह निर्वाचनमा सिरहाको चार वटा स्थानीय तह मात्र जित्न सकेको एमालेले पाँच बर्षपछि नौ वटा स्थानीय तह जित्न सफल भएको छ।
अघिल्लो निर्वाचनमा जितेको लहान नगरपालिका, सुखीपुर नगरपालिका, नरहा गाउँ पालिका र सखुवानन्कारकट्टी गाउँपालिका मध्ये यसपालि एमालेले सुखीपुर नगरपालिका र नरहा गाउँपालिका मात्र दोह¥याएर जित्न सकेको छ ।
तर पहिलाको दुई वटा गुमाउँदा एमालेले यसपालि थप सात वटा पालिका आफ्नो पोल्टामा पारेको छ।
अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रले जितेको धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका यसपालि एमालेले जित्दाँ सबै भन्दा बढी वडा भएको लहान नगरपालिका भने एमालेले गुमाएको छ । त्यहाँ काँग्रेसले प्रमुख र जनता समाजवादी पार्टी (जसपा) ले उपप्रमुख जितेको छ।
२०७४ सालको निर्वाचनमा जसपाले जितेको जिल्लाको सिरहा नगरपालिका, भगवानपुर गाउँपालिका, बिष्णुपुर गाउँपालिका यसपालि एमालेले आफ्नो जित निकालेको छ । यस्तै अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसले जितेको सिरहाको कल्याणपुर नगरपालिकाको प्रमुख र उपप्रमुख यसपालि एमालेले नै जितेको छ ।
पार्टीको सही निर्णय, नेता कार्यकर्ताहरुको सक्रियता र मतदाताहरुको विश्वासका कारण जिल्लाको धेरै स्थानीय तहमा आफ्नो पार्टीका उम्मेदवारहरुले जित निकाल्न सफल भएको नेकपा एमालेका नेता एवंम् पुर्वमन्त्री लिलानाथ श्रेष्ठले बताए।
‘हामीले सही मूल्यांकन गरी उपयुक्त व्यक्तिलाई टिकट दियौं’, उनले भने, ‘नेता कार्यकर्ताहरुलाई पनि खटायौं, उहाँहरु इमान्दारितापुर्वक खट्नु पनि भयो र मतदाताहरुले पनि हाम्रा उम्मेदवारहरुलाई विश्वास गर्नुभयो।’ त्यसके परिणाम स्वरुप आज हामी जिल्लामा बलियो पकड बनाउन सकियौं, उनको भनाई थियो ।
दुई छिमेकी जिल्लाहरु धनुषा र सप्तरीमा बलियो पकड बनाएको नेपाली काँग्रेस सिरहामा भने तेश्रो शक्तिमा सिमित भएको छ।
काँग्रेसले सिरहामा पुर्ववत अवस्थामा देखिएको छ । अघिल्लो निर्वाचनमा दुई वटा पालिका जितेको काँग्रेसले यसपालि पनि दुई वटा पालिका जितेको छ।
काँग्रेसले पहिला जितेको कल्याणपुर नगरपालिका र नवराजपुर गाउँपालिका गुमाउँदा यसपालि लहान नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिका जितेको छ।
पार्टीभित्रको घात अन्तरघात तथा मतदाताहरुमा भएको व्यापक रकमी चलखेलका कारण आफुहरुले चाहे जस्तो नतिजा निकाल्न नसकेको काँग्रेस सप्तरीका सभापति रामचन्द्र यादवले बताउनुभयो।
अघिल्लो चुनाबमा पुर्वपश्चिम राजमार्गमा पर्ने अधिकांश पालिकासहित सिरहाको छ वटा पालिका जितेर ठुलो पार्टी बनेको नेकपा माओवादी केन्द्र यसपालि भने एउटा पालिकामा सिमित भएको छ।
अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको जिल्लाको धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, औरही गाउँपालिका र अर्नमा गाउँपालिका मध्ये यसपालिको चु्नाबमा मिर्चैया बाहेक सबै पालिका गुमाएको छ । जितेका सबै पालिकामा माओवादी केन्द्रले पुनः पुरानैलाई दोह्याउन उम्मेदवार बनाएको थियो। ती मध्ये मिर्चैया नगरपालिकाका प्रमुख र उपप्रमुख मात्र जित्न सकेको छ । बाँकी सबै गुमाएको माओवादी केन्द्रका नेता दिलिप साहले बताए।
पार्टीभित्रको गुट उपगुट, घात अन्तरघात र पुरानै उम्मेदवारलाई निरन्तरता दिने जस्ता कारणले पार्टीले अधिकांश स्थानीय गुमाएको उहाँको कथन छ ।
एउटा गाउँपालिकाको अध्यक्ष जितेर नेकपा एकिकृत समाजवादी पार्टीले सिरहामा आफ्नो शक्ति स्थापित गरेको छ। नेकपा एसले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्ष जितेको छ। सो गाउँपालिकाको उपाध्यक्ष भने काँग्रेसले जितेको छ।