• रामरिझन यादव

जसरी चिनीयाँ रक्तक्रान्तिबाट माओविचारधारा तथा माओवादको उत्पत्ति भयो, ठीक त्यसरी नै भारतीय अहिंसात्मक स्वतन्त्रता संग्रामबाट गांधीवाद अस्तित्वमा आएका थिए। नेपालमा दस वर्षे जनयुद्धले झण्डै प्रचण्डपथ ग्रहण गर्न पुगेको थियो। अर्थात् नेपाल होस् वा विश्व जहाँ पनि क्रान्ति वा विद्रोह भएका छन्। एउटा न एउटा विचार स्थापित भएको पाइन्छ।

विक्रमको साठीको दशकमा नेपालको मधेसी भूभागमा भएको २३ दिने भीषण आन्दोलन एउटा जनविद्रोह थियो, जसबाट मधेसवादले मूर्त रुप धारण गर्यो। काठमाडौंको भित्ता होस् वा तराईका समतल फाँट जहाँ पनि मधेस शब्दले वर्चश्ब स्थापित गरेका थिए। कतिसम्म भने राष्ट्रिय पार्टीको रुप ग्रहन गरिसकेका नेपाल सदभावना पार्टीको जय मातृभूमिको नारालाई मधेस जनविद्रोहले जय मधेसमा रुपान्तरित गर्यो। पूर्वदेखि पश्चिमसम्मको तराई भूभाग जय मधेसको नाराले गुन्जमान भयो।

पहिलो संविधान सभाको रुप र रंगमा मधेस यसरी घोलिन पुगेका थिए कि नेपालको इतिहासमा पहिलो पटक मधेसले नेपालीय हुनुको अर्थको अनुभूति गरे। सिंहदरवारको सत्तालाई समेत हेरफेर गर्न सक्ने हैसियत मधेससंग थियो। पत्रिकाको डेस्क होस् वा लोकसेवा आयोग सबै ठाउँमा मधेसले आफ्नो अस्तित्व कायम गरेको तथ्य जगजाहेर छ। पहिचान र सामथ्र्यको आधारमा प्रदेश नामाकरणको एजेण्डामा प्रदेश न २ मात्र सफल हुनुको अर्थ मधेसवाद नै हो। तर, बीजारोपण भएको डेढ दशक ननाघ्दै मधेसवादको ग्राफ घट्यो। फलस्वरुप मधेसवादी पार्टीहरु आफ्नो घरमा समेत धरमराउदो अवस्थामा पुगेको देखिन्छ। २०७९ साल वैशाष ३० गतेको परिणामलाई व्याख्या र विश्लेषण गर्ने हो भने मधेसवादको धरातल कमजोर भएको देखिन्छ।

घर फुटे गवाँर लुटे ः
मधेसवादको सैद्धान्तिक अवधारणालाई जति सवल पारे त्यतिकै मधेस सक्षम र शक्तिमान हुने कुरा प्रष्ट छ। किनकि दर्शन, सिद्धान्त, विचार र दृष्टिकोणको आधारमा निर्मित संगठन नै टिकाउ हुन्छ। नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादको जडसूत्रीय सोच तथा नेकपा (एमाले) को नृजातीय राष्ट्रवादको दक्षिणपंथी अवधारणामाथिको प्रहार कारगर सावित नभएको देखिन्छ। मधेस जनविद्रोह ताका सयौं वर्षको शोषण, दमन तथा उत्पीडनको फलस्वरुप जनतामा एउटा विद्रोहात्मक जुन चेतको बीजारोपण भएको थियो त्यसलाई सत्तासंगको विनीमयले भुत्ते बनाईदिएका छन्। यो कुरा संघदेखि प्रदेशसम्म र अझ सबैभन्दा तल्लो निकायको रुपमा रहेका स्थानीय सरकारमा प्रष्ट रुपले दृष्टिगोचर भएका छन्। यसको सबैभन्दा दूरगामी प्रभाव वर्तमान संविधानको संशोधनमाथि परेको छ। आज जसपा र लोसपाबीचको वैमनस्यताले संविधान संशोधनको प्रश्न दिल्लीदूर जस्तै भैसकेका छन्। किनकि, यथास्थितिवादीहरुले मधेसमा आफ्नो जरो जमाउदै लगेको देखिन्छ। त्यसैले गठबन्धनमा रमाएका जसपालाई जति फाइदा भएको छ त्योभन्दा कैयौं गुणा बढी उसले गुमाएका छन्। मधेसको हकमा प्रगतिशील सोचलाई आत्मसात गरेका माओवादीको अवस्था त झन् कमजोर हुन पुगेको छ।

मधेसवाद जो सबै मधेस केन्द्रीत दलहरुलाई एउटै झण्डामुनी गोलबन्द पार्छ, त्यसलाई सत्तास्वार्थसंग भजाउने कामको प्रारम्भ केपी शर्मा ओलिको सरकारसंग भयो। मधेसको नामै सुन्न नचाहने व्यक्ति वा पार्टीसंग जसरी साँठगाँठ भयो त्यही दिनदेखि नै मधेसमाथि बज्रपात हुँदै आएको अनुभूति महन्थ ठाकुरसंग हुनु पर्छ। होइन भने आजको मधेस जसपाको मधेस हुन्थ्यो। तर विधिको विडम्बना आफ्नै घरमा लोसपालाई आज इज्जत धान्न पनि धौं धौं परेको छ। स्वयं मधेसवादी पार्टीको मूलधार बताउने जसपाको अवस्था पनि खस्केको छ।

यति हुँदाहुँदै पनि के पनि विर्सनु हुँदैन भने पार्टी फुटेको बेला पनि दुबैको एकीकृत मनोविज्ञानले नेपालको इतिहासमा पहिचानलाई स्थापित गर्यो। जो अन्य कुनै पनि प्रदेशले गर्न सकेका थिएनन्। अर्थात् प्रदेश न. २ को मधेस प्रदेश नामकरण भयो। मधेसवादको मनोविज्ञानसंग सधै नगिच भएर काम गरेका माओवादको उल्लेख्य सहयोग रह्यो। त्यसरी नै स्थानीय चुनावमा पनि गठबन्धन हुनसकेको भए नस्लीय सोचलाई उभो लाग्ने दिने थिएन। तर, गठबन्धनको संस्कृतिलाई मधेस प्रदेशले राम्ररी आत्मसात गर्न सकेनन्। विडम्बना के रह्यो भने जसपा र लोसपाको सांगठनिक विभाजनले सिंगो मधेसको मनोविज्ञानलाई क्षतविक्षत पार्यो। फलस्वरुप मिथिलाञ्चलमा प्रचलित एउटा भनाई मधेस प्रदेसमा चरितार्थ भयो ‘घर फुटे गवाँर लुटे।’

सत्ताको बेमेल खेल ः
मधेसवादको उत्पत्ति जहाँ भएको हो, त्यहाँ वर्षौ वर्षदेखि त्यसका विरोधीहरुको वर्चश्व थियो। इतिहासलाई पल्टाएर अध्ययन, अनुसंधान तथा अन्वेषण गर्ने हो भने नेपालमा प्रजातन्त्रको प्रादुर्भावपश्चात् नै तराई कांग्रेसले मुलुकमा आफ्नो आकार ग्रहण गर्न थालेका थिए। तर त्यसलाई समूल नष्ट गर्न नेपाली कांग्रेसले कुनै कसर बाँकी राखेनन्। नेपाली कांग्रेस मात्र होइन, खुंखार तानाशाह राजा महेन्द्रद्वारा प्रतिपादित निर्दलीय पंचायती व्यवस्थाले पनि हुर्कनै दिएनन्। नेपालीय मधेसका महान सपूत रघुनाथ ठाकुर मधेसीको कथा र व्यथा यसको ज्वलन्त प्रमाण हो। यो कुरा झन् त्यतिबेला पुष्टि भयो जतिबेला गजेन्द्र नारायण सिंह पनि नेपाली कांग्रेसमा टिक्न सकेनन्। तर २०१५, २०४८, २०५६ र २०७० को चुनावी परिणामलाई विश्लेषण गर्ने हो भने तराईमधेसको बलमा नै नेपाली कांग्रेस राज्यसत्ता प्राप्त गरेका छन्। कतिसम्म भने २०५२ सालको मध्यावधिमा पनि एमालेभन्दा बढी सिट उसले तराईमधेसमा पाएको हो।

यसरी तराईमधेसमा राम्रो पकड बनाएका नेपाली कांग्रेसको अवस्था त्यतिबेला कमजोर भयो जब मधेस विद्रोह भयो। अर्थात् नेपाली कांग्रेसको जगमा मधेसवादी पार्टीको निर्माण भयो भन्ने कुरा बुझ्दा बुझ्दै आज जसपा गठबन्धनको शिकार बन्न पुगेको तथ्यले पुष्टि गरेको छ। मधेस प्रदेशमा वीरगंज वाहेक कही कतै गठबन्धनबाट जसपालाई ठूलो लाभ भएको देखिन्न। यद्यपि सत्तारुढ दलको गठबन्धन सफल भएको भनिन्छ। तर, मधेस प्रदेशको हकमा असफल भएको छ। किनकि मधेसवाद, जसको जगमा मधेस प्रदेशको गठन भएको छ; त्यसका विरोधीहरुले सबैभन्दा बढी सिट जितेका छन्। कतिसम्म भने मधेस शब्द नै जसको पार्टीको शब्दकोशमा छैनन,् त्यो पार्टीले जसपा र लोसपाभन्दा बढी सिटको हकदार भएका छन् । यो भन्दा ठूलो चुनौती मधेसवादको लागि अर्को के हुन सक्छ?

सत्तासुखको दुखान्त अन्त्यः
मनोवैज्ञानिक रुपमा विमार सामजको लागि सत्ता नै सबैथोक हुन्छ। लेनिनले पनि सत्तावाहेक सबैथोक भ्रम हो भन्ने कुरा भनेका छन्। मधेसी समाजका अगुवाहरुले विगत ५० वर्षदेखि कसरी शासकसंग सत्तासुखको लागि सम्झौता गर्दै आएका छन् भन्ने कुराको फेहरिस्त जारी गर्ने हो भने वर्तमानले यसको निरन्तरताबाट पुष्टि गर्दछ। तर, त्यसको दुखान्त अन्त्य त्यतिबेला भयो जतिबेला त्यसले प्राप्त सत्तालाई सुखसयलमा रुपान्तरित गरे। प्राप्त सत्ताबाट अगामि दिनको लागि बाटो बनाउनेहरु न्यून देखिए। त्यसैले अधिकांश पराजित भएका छन्। पराजित हुनेहरुमाथि विविध किसिमका आरोप छन् त्यसमा भ्रष्टाचार प्रमुख छन्।

सबैलाई थाहा भएकै कुरा हो भच्रष्टाचार नेपाली समाजको कोढ हो। यसप्रति सून्यसहनशील्ताको डिङ्ग जतिसुकै हाँके पनि हाक्नेहरु नै चुर्लुम्म भ्रष्टाचारमा डुबेका हुन्छन्। तर तुल्नात्मक रुपमा पहाडभन्दा मधेसमा भ्रष्टाचारको ग्राफ धेरै उच्चो छ। खुलेयाम भ्रष्टाचार गरिन्छ। कतिपय अवस्थामा सयकडा ५० प्रतिशतभन्दा बढी भ्रष्टाचार भएको भेटिन्छ। ५० प्रतिशत भ्रष्टाचार त यहाँ संस्कारको रुप धारण गरिसकेको छ। त्यसैले सत्ता यहाँ व्यापार भएको छ। यो व्यपारमा तिनै व्यक्तिहरु बढी संलग्न देखिन्छन् जो हिजो आन्दोलन ताका लच्छेदार भाषण गर्थे। त्यसमा मधेसवादी मात्र होइन, माओवादी, प्रजातन्त्रवादी तथा वहुदलीय जनवादी सबै एउटै घडाका पानी हुन् ।
सबैभन्दा बढी आक्रोस पोख्ने पक्ष के हो भने सत्तामा रहेको बेला खुलेयाम भ्रष्टाचार गरेर ठूलठूला घर ठड्याएका छन्। ती घर ठड्याउनेहरुमध्ये अधिकांशलाई जनताले नराम्री पराजित गरेका छन्। तर अख्तियारले मुश्किलले कसैमाथि कार्वाही चलाएको देखिन्छ।

सिके राउतको पारी ः
वालेन साहको उदयसंगै डा सिके राउतको चर्चा गर्नु बान्छनीय देखिन्छ। तर वालेन साहले जुन किसिमको अप्रत्याशित पारे खेले त्यो भने सिके राउतले खेल्न सकेनन्। यद्यपि उनले हानेको बलबाट जसपाका दुईवटा हेभिवेट उम्मेदवार आउट भएका छन्। वास्तवमा डा राउत पहिलेदेखि नै जसपाप्रति आक्रमक थिए। प्रत्येक भाषणमा उनले जसपालाई तारो बनाउदै आएका छन्।

यसरी मधेसवादको झण्डामुनी गोलबन्द भएका जसपा, लोसपा र जनमत पार्टीबीचको सैद्धान्तिक र वैचारिक सामिप्यता भए पनि कार्यगत एकतासम्म नगर्ने तर जोसंग सिद्धान्त र विचारमा कहिल्यै एकता हुँदैन त्योसंग गठबन्धन निर्माण गर्नेजस्ता प्रश्नले मधेस प्रदेशमा बौद्धिक छलफल हुन थालेका छन्। मूलतः अगामि निर्वाचनमा मधेसी मनोविज्ञानलाई एकाकार पार्न नै यसप्रकारको विचार अभिव्यक्त भएको हुनु पर्छजस्तो मलाई लाग्छ।