वीरगञ्ज, १० जेष्ठ। स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत वीरगञ्ज महानगरपालिकामा जनप्रतिनिधि चयनका लागि मतगणना सम्पन्न भएको छ ।
वैशाख ३० गते निर्वाचन सकेर ३१ गतेदेखि वीरगञ्जस्थित नृसिंह माद्यामिक विद्यालयमा जारी मतगणना मंगलबार बिहान सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालय वीरगञ्जले जनाएको छ ।
वीरगञ्जका १ लाख २४ हजार ६४७ मतदातामध्ये कुल खसेको ९३ हजार ७८२ मत गणना गर्दा ४६ हजार २१५ मत ल्याएर पाँच दलीय गठबन्धनबाट वीरगञ्जको मेयर पदका उम्मेदवार बनेका जनता समाजवादी पार्टी नेपाल (जसपा) का राजेशमान सिंह निर्वाचित भएका छन्।
निकटम प्रतिस्पर्धी निर्वतमान मेयर एवम् नेकपा एमालेका विजयकुमार सरावगीभन्दा झन्डै दोब्बर मत ल्याएर वीरगञ्जको मेयरमा निर्वाचित भएका हुन् । सिंह र सरावगी बीच २२ हजार ४४४ मतको अन्तर रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा देखिएको छ । सरावगीले २३ हजार ६७१ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गिरिश गिरी ३ हजार ३ सय १३ मत ल्याएर तेस्रो भएका छन्।
सिंह अघिल्लो पटक मेयरको निर्वाचन हारेका व्यक्ति हुन्। २०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट मेयरको उम्मेदवार बनेका सरावगीसँग पराजित भएका थिए । तत्कालीन सङ्घीय समाजवादी फोरम (हाल जसपा) बाट मेयरमा उठेका सरावगीले १९ हजार ३९३ मत ल्याउँदा राजेशमान १२ हजार १६५ मत ल्याउँदै तेस्रो भएका थिए।
सरावगी जसपाबाट जितेपनि निर्वाचनको केहि महिना अगाडि उनले पार्टी परिवर्तन गरे । सुरुमा कांग्रेस जान खोजेका सरावगीलाई त्यहाँका नेताहरुले नपत्याएपछि उनि एमाले गएका थिए । जसपा भित्र केही नेताहरुले आफूलाई अप्ठ्यारो पारेको आरोप लगाउँदै एमाले प्रवेश गरेका उनी त्यसै पार्टीबाट मेयरको उम्मेदवर बने । सरावगी एमाले गएपछि उनलाई टक्कर दिन जसपाका सङ्घीय सांसद् प्रदीप यादवले राजेशमान सिंहलाई लोसपा त्याग्न लगाएर जसपा प्रवेश गराए र मेयरको उम्मेदवार बनाए । सिंह पनि त्यस अगाडि एमाले जाने सोचमा थिए । तर, उनिभन्दा पहिला सरावगी एमाले गएपछि उनले जसपालाई रोजे।
त्यसैगरी वीरगञ्जको उपमेयरमा पाँच दलीय गठबन्धनबाटै नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झा भन्दा तेब्बर मतले विजयी भएका छन् ।
कांग्रेसका इम्तियाज आलमले ३० हजार ७८ मत ल्याएका छन् भने प्रतिद्वन्द्वी लोसपाका झा ९ हजार ५ सय ६८ मत ल्याएर आफ्नो जमानत बचाउन सफल भएका छन् । आलमले झालाई २० हजार ५ सय १० मतले पराजित गरेका हुन् । आलम कांग्रेस पर्साका जिल्ला सचिव पनि हुन् । अघिल्लो निर्वाचनमा आलम तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवारसँग वडा अध्यक्षमा पराजित भएका थिए।
मधेश प्रदेशको एक मात्र महानगर वीरगञ्जको ३२ वटा वडा मध्ये सबैभन्दा धेरै वडा जित्दै जसपा पहिलो पार्टी बनेको छ । जसपाले मेयर र १३ वटा वडामा अध्यक्ष जीत्दा नेपाली कांग्रेसले उपमेयर र १० वटा वडा जितेर दोस्रो भएको छ । त्यस्तै नेकपा एमालेले ७ र लोसपाले २ वडा जित्दै क्रमस तेस्रो र चौथो पार्टी बनेको छ।