सिरहा, ७ जेष्ठ। सिराहाको सुखीपुर नगरपालिकामा नेकपा एमालेका उम्मेदवार पुनः विजयी भएका छन् । मेयरमा रामऔतार यादव र उपमेयर रेणुदेवी साह विजयी भएका हुन् ।

मेयर यादवले ४ हजार ४ सय ३४ र उपमेयर रेणुदेवी साहले ४ हजार ६ सय १४ मत प्राप्त गरेका छन्। यादवका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका जीवछ यादवले ३ हजार १ सय १२ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका हरि वंश महतोले २ हजार ५ सय ९७ मत प्राप्त गरेका छन्।

उपमेयर पदमा निकटतम प्रतिस्पधी जसपाकी सज्ञानदेवी महतोले ३ हजार एक सय ५६ मत र नेकाप एकका कान्तिदेवी यादवले १ हजार ८ सय ६ प्राप्त गरकी छिन्।

कुल १० वडा रहेको सुखीपुरमा एमालेले २, ३, ५, ६, ७, १०, नेपाली कांग्रेसले ४, ८, माओवादी केन्द्रले १ र नेकपा (एकीकृत समाजवादी) ले ९ नम्बर वडामा जित निकालेको छ।

सुखीपुर नगरपालिकामा मेयर यादव र उपमेयर साह दुवैजना दोहोरिएका जनप्रतिनिधि हुन्। शनिबार अपरान्हसम्म मतगणनाको अन्तिम नतिजा घोषणा गरिएका आठ गाउँपालिका र ७ नगरपालिकामा सखुवानन्कारकट्टी गाउँपालिकामा निवर्तमान अध्यक्ष केदारनाथ यादव अध्यक्ष, मिर्चैया नगरापालिकामा श्रवण कुमार यादव र जिवछी देवी मेयर उपमेयर र नरहा गाउँपालिकाकी उपाध्यक्ष गुलावदेवी चौधरी पुनः उपाध्यक्ष पदमा दोहोरिएका छन् भने त्यसबाहेकका स्थानीय तहका मुख्य पदमा नयाँ अनुहार निर्वाचित भएका छन्।