बर्दिवास, ५ जेष्ठ। महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा प्रह्लादकुमार क्षेत्री विजयी भएका छन्। प्रह्लाद त्यही व्यक्ति हुन जसको टिकट कांग्रेस सभापति शेरबहादुर देउवाले खोसेका थिए। त्यो पनि मनोनयन दर्ता गर्ने दिन।

मनोनयन दर्ता गर्ने दिन १२ वैशाखमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहितको पत्र लिएर दुई जना मेयरको मनोनयन दर्ता गर्न पुगेका थिए।

जसमा एक जना क्षेत्री थिए भने अर्का चिरञ्जीवी हमाल।

तरपछि निर्वाचन अधिकृतको कार्यालयलाई सभापति देउवाले पत्र पठाउँदै हमाल आधिकारिक उम्मेदवार भएको पत्र पठाए। आयोगले हमाललाई नै कांग्रेसको आधिकारिक उम्मेदवार बनाएर मनोनयन दर्ता ग¥यो।

टिकट पाए पनि दर्ता गर्ने बेलामा आधिकारिकता नपाएपछि प्रल्हादकुमार क्षेत्रीले स्वतन्त्रबाट उम्मेदवारी दिए। उनले आफूले मात्र उम्मेदवारी दिएनन् स्वतन्त्रको प्यानल नै बनाए। उपमेयरमा तारा देवी स्वतन्त्रबाट उम्मेदवार बनिन्।

१४ हजार २ सय १० मत ल्याएका क्षेत्री आफूले मात्र जितेनन्, उमपेयरमा तारा देवीले पनि जितिन्। उनले ९ हजार ७ सय ३६ मत ल्याइन्।

खत्रीकै प्यानलबाट वडा नम्बर १ मा भोला खड्का, ७ मा रामस्वगारथ यादव १३ मा लक्ष्मण सिंह र १४ मा विजयकुमार महतो वडाध्यक्ष निर्वाचित भए।

क्षेत्रीले स्वतन्त्रबाट चुनाव जित्दा कांग्रेसका आधिकारिक उम्मेदवार चिरञ्जीवी हमाल १ हजार २ सय ६३ मतसहित चौथो स्थानमा रहे।

उपमेयरमा पनि कांग्रेसकी आधिकारिक उम्मेदवार अमिनकुमारी महतो १ हजार ७ सय ५८ मतसहित चौथौ नै भइन्। प्रमुख र उपप्रमुख दुवैमा नेकपा माओवादी केन्द्र दोश्रो र नेकपा एमाले तेश्रो भयो।

२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका विधुर वहादुर कार्की मेयर पदमा विजयी भएका थिए।