सिरहा, ५जेष्ठ। सिरहाको धनगढीमाई नगरपालिकाको मतगणना स्थलमा नेपाली काँग्रेसशअ कार्यकर्ता र प्रहरी विच झडप भएको छ। धनगढीमाई नगरपालिका वडा नम्वर ८ को मतगणना गर्दा मतदान अधिकृतको हस्ताक्षर नरहेको १७ वटा मतपत्र भेटिएको विषय विवादमा परीणत भएपछि कांग्रेसका कार्यकर्ता र प्रहरी विच झडप भएको हो।
कांग्रेस कार्यकर्ताहरु प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेका छन्। प्रहरीले बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिएपछि अहिले सर्वदलीय बैठक बस्दैछ। विना हस्ताक्षरको मतपत्र फेला परेपछि धाँधली भएको भन्दै काँग्रेस कार्यकर्ताहरूले विरोध गरिरहेका जनाउँदै आएका थिए। उनीहरुले सो मत पत्र वदर गर्नुपर्ने बताउँदै आएको छ।
सो क्रममा कांग्रेसकै कार्यकर्ताले एमाले कार्यकर्ताहरु बसेको टेन्टमा समेत ढुंगा हानेपछि दुबै पार्टीका कार्यकर्ताबीच झडप भएको थियो।
मेयरमा काँग्रेस जिल्ला सभापति समेत रहेका संविधानसभा रामचन्द्र यादव उम्मेदवारी दिएको छ। उनी पछाडि परेकाले कार्यकर्ताहरु झन आक्रोशित भएको एक पक्षको भनाई छ।
नेकपा एमालेका मेयर पदका उम्मेदवार शिवशंकर महतो सुरुदेखि नै अग्रता कायम राखेका छन्। करिब ३ सय मत मात्र गन्न बाँकी रहेको र काँग्रेस हार्न लाग्दा बखेडा झिकेर लफडा गर्न खोजेको एमालेको आरोप छ।
निर्वाचन अधिकृतको कार्यालयका एक कर्मचारीका अनुसार विना हस्ताक्षरको मतपत्र फेला परेपछि विवाद हुँदा तत्काल मतगणना स्थगित भएको छ। तर यो विवाद सर्वदलीय बैठकबाट समाधान गरिने प्रयास जारी छ।
ढुङ्गामुडा हुँदा रोकी राखिएको २ वटा गाडीको सिसा समेत फुटेको छ।