महोत्तरी, ५ जेठ। महोत्तरीको बर्दिबास नगरपालिका ८ को अध्यक्षका दुवै जना उम्मेदवारले बराबरी मत ल्याए पछि गोला प्रथाबाट विजयी घोषणा गरिएको छ। गोलाप्रथा गर्दा नेकपा माओवादी केन्द्रका समसेर सिंह विजयी भए। मतगणना बाँकी छँदै उनी विजेता घोषणा भएका थिए। र उनले विजय उत्सव समेत मनाइसकेका थिए।
तर निर्वाचन कार्यालयले एउटा मतपेटिकाको मत गन्न छुटेको भन्दै उक्त मतपेटिकाको मत गणना कार्य अघि बढायो। मतगणनाको क्रममा नेकपा एमालेका रुद्रबहादुर किङगरिङ मगर र समसेर सिंह दुवै जनाले बराबरी मत (७६७) पाए।
बराबरी मत आएपछि गोलाप्रथा गर्दा अन्ततः समसेर सिंह नै भाग्यमानी ठहरिए र उनको खुशीमा पूर्ण विराम लागेन।
एउटा मतपेटिकाको मत गन्न बाँकी छँदै वडाध्यक्षमा विजय घोषणा हुँदा समसेरले ७ सय ५१ मत र मगरले ७ सय ४४ मत पाएका थिए ।