सिरहा, २ जेष्ठ। गत ३० वैशाखमा भएको मतदानमा आफूहरूलाई भोट नदिएको भन्दै सिराहाको भगवानपुर गाउँपालिका २ नहरामा एक दम्पती कुटीएको छ। भगवानपुर २ मा नेकपा एमालेबाट प्यानलसहित वडाध्यक्ष जितेका सूर्यनारायण यादवको विजय जुलुस गर्ने क्रममा सोमबार बिहान नहरा गाउँस्थित घरमै बसिरहेका बेला करिव ४० वर्षिय दुनियालाल यादव र उकनी श्रीमती ३५ वर्षीया गीतादेवी यादव कुटपिट भएको हो।

घरमै वसेर जुलुस हेरीरहेका उनीहरुलाई विजय जुलुसबाट निस्केर दम्पतीमाथि कुटपीट गरेको स्थानीयले बताए।
‘घरमै बसिरहेकी थिएँ, जुलुसबाट एक्कासि आएर ‘हामीलाई किन भोट नदिएको’ भन्दै कुटपिट गर्न थाले,’ पीडित गीतादेवीले भनिन्। श्रीमतीलाई कुट्न थालेपछि छुट्याउन आएका श्रीमानलाई पनि कुटपिट गरेपछि छिमेकीहरूले छुट्याएर उपचारका लागि लहान ल्याइएको बताए।

कुटपिटमा घाइते भएका यादवदम्पती उपचारपछि सोमबार अपराह्न घर फर्किएका छन्। ‘गोप्य मतदानमा आफूले इच्छाएको उम्मेदवारलाई मत दियौँ, घरायसी रिसइवीको कारणले भोटको निहुँ झिकेर कुटपिट गरे,’ पीडित दम्पतीले भने।

विजय जुलुस गाउँमा आएपछि जुलुसबाट निस्किएर नवनिर्वाचित वडाध्यक्ष यादवका भतिजा अनिल यादवसहित देवनाथ यादव, कृष्णबन्धु यादवलगायतले कुटपिट गरेको पीडित दम्पती बताउँछन्। नवनिर्वाचित वडाध्यक्षले भोटको निहुँमा कुटपिट गर्नु गोप्य मतदान गर्न पाउने नागरिक अधिकारको हनन् भएको नाम उल्लेख नगर्ने सर्तमा स्थानीय एक युवाले बताए।