वीरगञ्ज, २ जेठ। पर्साको छिपहरमाई गाउँपालिकाको अध्यक्षका उम्मेदवार नविन कुमार सिंहले मतगणनामा अनियमितता भएको आरोप लगाएका छन् । गाउँपालिकाको मतगणना गर्दा करारमा नियुक्ती गरिएका कर्मचारीको संलग्नताले अनियमितता भएको नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार सिंहले बताए।
सोमवार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै सिंहले निवर्तमान गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले नै करारमा नियुक्ती गरेका कम्प्युटर अप्रेटर सञ्जित यादव र पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शम्भु साहले मत गणनामा षड्यन्त्र गरेको आरोप लगाएका छन्।
मत गणना गर्दा १ हजार ५ सय ९० आएकोमा निर्वाचन आयोगको वैवसाइटमा इन्ट्री गर्दा बढाएर १ हजार ६ सय २० बनाएको सिंहको आरोप छ। करारमा नियुक्ती गरेका कर्मचारीलाई मतगणनामा सहभागी नबनाउन उनले माग गरेका छन्।
त्यस्तै छिपहरमाई गाउँपालिका वडा नम्बर २ मा मृत्यु भएका र बैदेशिक रोजगारीको क्रममा रहेका व्यक्तिको नाममा पनि मत आफै हालिदिएको सिंहले पत्रकार सम्मेलनमा बताए। निर्वाचन आयोगबाट रुजु भएको मतदाता नामावली उपलब्ध गराउनुपर्ने र सो ठाउँमा पुनः निर्वाचन गराउनुपर्ने सिंहको माग छ।
यस विषयमा गाउँपालिकाका निर्वाचन अधिकृत मुकुन्द निरौलासँग कुरा गरेपनि कुनै पहल नभएकोमा सिंहले आपत्ति जनाएका छन् ।
यता नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार मनोज कुमा गुप्ताले भने हार मानसिकताको उपजस्वरुप विरोध गरेर बिथोल्ने प्रयास भएको प्रतिक्रिया दिएका छन् । निर्वाचन आयोगले नै कर्मचारी नपठाएर यहाँकै कर्मचारीलाई प्रयोग गरेको बताउँदै गुप्ताले मत गणनामा कुनै अनियमितता नभएको दावी गरेका छन् ।
निर्वाचन अधिकृत मुकुन्द निरौलाले आफुसँग मतदान रद्द गर्न र पुनः निर्वाचन गराउन माग गर्दै निवेदन परेको बताए । शुरुमा गणना हुँदा सबैले सहमती भएर हस्ताक्षरसमेत गरीसकेको र पछि लेख्दा खेरी १ सय ६५ हुनुपर्नेमा १ सय ९५ भएको निरौलाले स्विकार गरेका छन् । पछि पुनः जोड्दा गल्ती भएको भेटिएपछि त्यसलाई सच्च्याइसकेको हुँदा पुर्ण रुपमा निष्पक्ष ढंगले गणना भएको निरौलाको जिकिर छ ।
छिपहरमाई गाउँपालिका वडा नम्बर १ का ३ वटा बुथकै मत गणना भइसकेको छ । वडा नम्बर २ को ५ वटा बुथमध्ये ३ वटाको गणना हुँदै गर्दा विवाद उत्पन्न भएर मतगणना रोकिएको छ ।