सिरहा, २ जेष्ठ। सिरहाको भगवानपुर गाउँ पालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उग्र नारायण यादव उपाध्यक्ष र बहुमत वडासहित विजयी भएका छन्। विपक्षी जनता समाजवादीका उम्मेदवार तथा निवर्तमान अध्यक्ष बेचन प्रसाद यादवलाई १ हजार ६३ मतले पछि पार्दै यादव निर्वाचित भएका हुन्।

उग्र नारायण ४ हजार ३ सय २ मत प्रप्त गरी निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वि बेचन प्रसादले ३ हजार ३ सय ३९ मत र नेकपा (एकीकृत समाजवादी)का चन्द्र नारायण यादवले १ हजार ४८ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा पनि नेकपा एमालेकै रेखा कुमारी यादव ३ हजार ९ सय ६० मत सहित विजयी हासिल भएकी छिन्। उनका प्रतिद्वन्द्विहरु जसपाका जिवछी देवी यादवले ३ हजार २ सय १० र नेकपा एसका रेनु देवी पण्डितले १ हजार १ सय ४४ मत प्राप्त गरेकी छिन्।

नेकपा एमालेको तर्फबाट वडा नम्वर १ मा मिरा देवी यादव ६ सय ३, वडा नम्वर २ मा सूर्य नारायण यादव ९ सय १२, वडा नम्वर ३ मा बिनोद कुमार यादव ६ सय ७२ र वडा नम्वर ५ मा अमरलाल यादव ९ सय ३१ मत सहित वडा अध्यक्ष निर्वाचित भएका छन्।

वडा नम्वर ४ मा भने जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवारी दिएका राम कुमार यादव ९ सय २६ मतले विजयी भएको छ।

सिरहाको पूर्वदक्षिण भारतसँग सीमा जोडीएको यस पालिकामा ७ हजार २ सय ९९ पुरुष र ६ हजार ५ सय ३३ महिला गरी जममा १३ हजार ८ सय ३२ मतदाता रहेकोमा १० हजार ६ सय ५२ मतदान भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ।