भारतका प्रधानमन्त्री मोदी आज ६ घण्टाका लागि लुम्बिनी आउँदै, के के छन् कार्यक्रम?

    • जेठ २, २०७९
    • ७०२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, २ जेष्ठ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान लुम्बिनी भ्रमणमा आउँदै छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीको औपचारिक भ्रमणमा आउन लागेका हुन्। 
    मोदी लुम्बिनीमा हुने बुद्ध जयन्ती बिशेष समारोहमा भाग लिनेछन्। सरकारी अधिकारीहरुका अनुशार मोदी बिहान १० : ३० देखि ११ बजे भित्र लुम्बिनी उत्रिनेछन्। उत्तर प्रदेशको कुशिनगर बिमानस्थलसम्म जहाजमा र त्यहाँबाट लुम्बिनीसम्म मोदी हेलिकोप्टरमा आउनेछन्। 
    परराष्ट्र मन्त्रालयका अनुसार लुम्बिनी आए लगत्तै मोदी ११ बजेदेखि मायादेवी मन्दिरमा बिशेष पूजाआजामा सहभागी हुनेछन्। त्यसपछि उनी बौद्ध सांस्कृतिक केन्द्रको शिलान्यास कार्यक्रममा भाग लिनेछन्। दिउँसो २ बजे भारतीय प्रधानमन्त्री मोदी र समकक्षी देउवाले अन्तर्राष्ट्रिय बुद्ध ध्यान केन्द्र तथा सभाहलमा आयोजित विशेष समारोहलाई संयुक्त रुपमा सम्बोधन गर्नेछन्। त्यसलगत्तै पररास्ट्रमन्त्री नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीलाई शिष्टाचार भेट गर्नेछन्। 

    त्यसपछि प्रधानमन्त्री देउवा र मोदीबीच लुम्बिनीको होटर पवन प्यालेसमा द्विपक्षीय भेटवार्ता हुनेछ। त्यसपछी दुई प्रधानमन्त्रीको उपस्थितीमा लुम्बिनी बौद्ध विश्वबिद्यालयमा इन्डिया चेयर स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछन्। 

    प्रधानमन्त्री देउवाले मोदीलाई दिवाभोज दिनेछन्। लुम्बिनी भ्रमण सकेर प्रधानमन्त्री मोदी अपरान्ह ५ : ३० बजे नयाँदिल्ली फर्किनेछन्।

    ​देउवा मोदीबीचको वार्ताका एजेन्डा के छन्? 

    प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच लुम्बिनीमा सोमबार मध्याह्न भेटवार्ता हुने भएको छ। 

    देउवा र मोदीबीच ४४ दिनपछि भेट हुन लागेको हो। चैत १९ गते देउवा र मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा पहिले एकल र त्यसपछि प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय बैठक भएको थियो। त्यसको डेढ महिनापछि देउवा र मोदीबीच फेरि दिवा भोजसहितको बैठक तय भएको हो। 

    देउवा र मोदीबीच भेटवार्ता बाक्लिन थालेका छन्। देउवा गत वर्ष असारमा प्रधानमन्त्री भएपछि मोदीसँग तेस्रोपटक प्रत्यक्षरूपमा भेट्दैछन्।

    यसअघि दुई प्रधानमन्त्रीबीच गत नोभेम्बर पहिलो साता संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनका दौरानमा स्कटल्यान्डमा भेट भएको थियो। त्यसपछि देउवा चैत १८ देखि २० सम्म मोदीको निम्तोमा नयाँ दिल्ली गए।

    लुम्बिनीमा हुने भेटमा देउवा र मोदीबीच देउवाको पछिल्लो भारतका सहमति कार्यान्वयनबारे छलफल हुनेछ। 

    त्यसैगरी लुम्बिनीलाई भारतका बोधगया, सारनाथ र कुशीनगरसँग जोडेर बौद्ध सर्किट अघि बढाउने विषयमा समेत दुई प्रधानमन्त्रीबीच छलफल गर्ने तयारी छ। 

    मोदीसँगको भेटमा पश्चिम सेती जलविद्युत् आयोजना भारतीय कम्पनीलाई निर्माणको ठेक्का दिने बारेमा पनि कुरा हुने देउवाले खुलासा गरिसकेका छन्। 

    दुई दिनअघि गृहजिल्ला डडेलधुरामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भनेका छन् ‘पश्चिम सेती बनाउने विषयमा मोदीजीसँग कुराकानी हुन्छ।’

    देउवाले पश्चिम सेती आयोजना अघि बढाउन भारतसँग यही बर्षभित्र सम्झौता गर्ने पक्षमा आफू रहेको बताएका थिए। 

    चिनियाँ कम्पनी थ्री गर्जेजसँगको ठेक्का सम्झौता खारेज भएको झन्डै पाँच वर्षपछि देउवा सरकारले भारतलाई उक्त परियोजना निर्माणको ठेक्का दिने तयारी गरेको हो। 

    थ्री गर्जेजले पश्चिम सेती बनाउन नसक्ने बताएपछि ओली नेतृत्वको सरकारले कम्पनीसँगको सम्झौता खारेज गरेको थियो। त्यसयता परियोजना निर्माण अनिश्चित बनेको थियो।
    लुम्बिनीमा हुने २५६६ औं बुद्ध जयन्ती विशेष समारोहलाई देउवा र मोदीले सम्बोधन गर्नेछन्। 

    पाँचौँ भ्रमणमा लुम्बिनी जाने धोको पूरा हुँदै 
    मोदीको यो पाँचौँ नेपाल यात्रा हुनेछ। नेपाल आउँदा कुनै न कुनै धार्मिकस्थलको भ्रमण मोदीको प्राथमिकतामा परेको देखिन्छ। 

    उनी पहिलोपटक सन् २०१४ अगष्टमा नेपाल भ्रमणमा आएका थिए। त्यतिबेला उनी जनकपुर र लुम्बिनी जान चाहे पनि भ्रमण हुन सकेन। 

    त्यसपछि उनी १८ औँ सार्क शिखर सम्मेलनमा भाग लिन सन् २०१४ को नोभेम्बरमा काठमाडौं आए। उक्त भ्रमणमा मोदी जनकपुर र लुम्बिनी जान चाहेपनि अन्तिम समयमा कार्यक्रम रद्द गरिएको थियो। 

    मोदी तेस्रो पटक सन् २०१८ को मे महिनामा नेपाल आएका थिए। उनको नेपाल भ्रमण जनकपुरबाट शुरु भयो। 

    मोदीलाई स्वागत गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर गरे। मोदीलाई जनकपुरमा भव्य नागरिक अभिनन्दन गरियो। 

    त्यसपछि उनी काठमाडौं आएर उच्चस्तरीय भेटवार्ता गरे। पशुपतिनाथ र मुक्तिनाथको भ्रमण गरेर उनी फर्केका थिए।  

    मोदीको चौथो भ्रमण २०१८ अगस्टमा भयो। नेपालले आयोजना गरेको बिमस्टेक शिखर सम्मेलनमा मोदीले सहभागिता जनाएका थिए। उनले त्यसबेलै लुम्बिनी भ्रमण गर्न चाहे पनि सम्भव भएन। मोदीको पाँचौ नेपाल यात्रा चाहिँ लुम्बिनी मात्रै हुँदैछ। अधिकारीहरुका अनुसार मोदीसहितको भारतीय प्रतिनिधिमण्डलको अवतरणका लागि चारवटा हेलिप्याड निर्माण जारी छ। 
    लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सभा हलको पश्चिम तथा दुई नम्बर गेटको दक्षिणमा हेलिप्याड निर्माण भएको छ। 

    भारतीय प्रधानमन्त्री मोदीले भारत र नेपालबीच सभ्यतामा आधारित जनस्तरको अतुलनीय सम्बन्ध रहेको बताएका छन्। 

     लुम्बिनी भ्रमणको एक दिनअघि मन्तव्य जारी गर्दै मोदीले दुई देशको सम्बन्धबारे बताएका हुन्।

    भारतीय प्रधानमन्त्री कार्यालयबाट जारी वक्तव्यमा मोदीले भनेका छन्, ‘म बुद्धजयन्तीको पावन अवसरमा मायादेवी मन्दिरमा पूजाआजा गर्न पाउँदा उत्साहित छु। भगवान बुद्धको जन्मस्थलमा श्रद्धा अर्पण गर्न लाखौं भारतीयसँगै लुम्बिनी जान पाउँदा म गौरवको महशुस गरिरहेको छु।’ 

    मोदीले नेपाली समकक्षी देउवासँगको भेटवार्तामा जलविद्युत्, विकास र कनेक्टिभिटीलगायतका क्षेत्रमा सहयोग विस्तार गर्नेबारे कुराकानी गर्ने बताएका छन्।

    ‘प्रधानमन्त्री देउवाको गत महिना उनको भारत भ्रमणका क्रममा भएका फलदायी छलफलपछि म फेरि भेट्न पनि उत्साहित छु। हामी जलविद्युत, विकास र कनेक्टिभिटी लगायतका विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्न हाम्रो साझा समझदारीलाई निरन्तरता दिनेछौँ’, उनले वक्तव्यमा भनेका छन्। 

    पवित्र मायादेवी मन्दिरको दर्शनका अलावा लुम्बिनी विहार क्षेत्रमा रहेको इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेजको ‘शिलान्यास’ समारोहमा पनि सहभागी हुने मोदीले उल्लेख गरेका छन्। 

    ‘म नेपाल सरकारले आयोजना गर्ने बुद्ध जयन्तीको अवसरमा हुने समारोहमा पनि सहभागी हुनेछु’, उनले भनेका छन्। 

    सन् २०१४ मा प्रधानमन्त्री बनेपछि मोदी पाँचौँपटक नेपाल भ्रमणमा आउन लागेका हुन्। २०१९ मा प्रधानमन्त्रीमा फेरि निर्वाचित भएपछि उनको यो पहिलो भ्रमण हो।

    भ्रमण शताब्दीयौँ पुरानो तथा अन्तर्मिलनको परिणामस्वरुप ऐतिहासिक रुपमा अघि बढेका समयानुकूल सम्बन्धहरूलाई अझ गहिरो बनाउन हुन लागेको मोदीले बताएका छन्।                              नेपालखवरबाट।

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल