सिरहाको कल्याणपुर नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मेयर पदको उम्मेदवारी दिएकामध्ये अदालतको आदेशपछि खारेजीमा परेका रामबाबु यादव (मोदी कोट लाएको) र उम्मेदवारी कायम भएका प्रदिप साह।
सिरहा, २८ वैशाख। स्थानीय तह निर्वाचन अन्तर्गत सिरहाको कल्याणपुर नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मेयर र दुई वडाध्यक्ष पदमा उम्मेदवारी दिएर खोसिएका तीन जनाको उम्मेदवारी कायम गर्न सर्वोच्च अदालतले उत्प्रेषण आदेश जारी गरेको छ।
सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको एकल इजलाशले मंगलबार निर्वाचन आयोग नेपालको नाममा उत्प्रेषण आदेश जारी गर्दै कल्याणपुर नगरपालिकाका मेयर पदका प्रत्याशी प्रदिप साह, ५ नं. का वडाध्यक्ष पदका प्रत्याशी ओमप्रकाश यादव र १२ नं. का वडाध्यक्ष पदका प्रत्याशी गयारम यादवको उम्मेदवारी कायम गर्न आदेश दिएको हो।
११ र १२ वैसाखमा मनोनय पत्र दर्तापछिको उम्मेदवारको सूची प्रकाशन, १३ वैसाखमा दावी विरोधपछि १४ वैसाखमा प्रकाशित उम्मेदवारहरुको सूचीमा समेत निजहरुको नाम रहेको आदेशमा उल्लेख छ। त्यसपछि निर्वाचन अधिकृतको कार्यालय कल्याणपुरले १६ वैसाखमा प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा हस्तलिपीमा थप गरी मेयर उम्मेदवार साहको सट्टा रामबाबु यादव, ५ नं. वडाध्यक्ष प्रत्याशीमा दिपेन्द्र यादव र १२ नं. वडाध्यक्ष गौरीशंकर यादवको नाम राखिएको उल्लेख छ।
मनोनयन दर्तापछिको कार्यतालिका अनुसार निर्वाचन कार्यलयले तोकेको समयभित्र उजुरी नगरी उम्मेदवारको नामावली प्रकाशित गरिएको आदेशमा जनाइएको छ । त्यसपछि दलको १५ वैसाखको पत्र अनुसार पछि थप गरिएका उम्मेदवारहरु दलको आधिकारिकता भनी निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएपछि १६ वैसाखमा तीन जनाको नाम सूचीबाट हटाइएकाले उम्मेदवार हुन बञ्चित गरेको आदेशमा उल्लेख छ।
उम्मेदवार मनोनयन गरेको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीले १५ वैसाखमा मनोनयन आधिकारिकता भन्ने पत्र प्रेषित पत्र स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १८ बमोजिम मनोनयन दाखिला गर्ने निर्वाचन कार्यालयले तोकेको समय सीमाभित्र नपरेकाले निवेदकहरु सम्बन्धित पदको उम्मेदवार हुन ऐनको दफा १३ अनुसार अयोग्य नदेखिएको उल्लेख छ। यस्तो अवस्थामा निज निवेदकहरुलाई उम्मेदवार हुनबाट बञ्चित गर्ने विपक्षीहरुको कार्य प्रथम दृष्टि मा नै त्रुटीपूर्ण रहेकाले प्रदिप साह, ओमप्रकाश यादव र गयाराम यादवको उम्मेदवार सूचीबाट नहटाउन, जनता समाजवादी पार्टीको आधिकारिक चुनाव चिन्ह प्रदान गर्न इन्कार नगर्नु नगराउनु भनी आदेश दिइएको छ।
मतदान हुनुअघि ४८ घण्टाको मौन अवधि शुरु भइसकेको सन्दर्भमा मेयरसहित तीन जनाको उम्मेदवारी कायम गर्न अदालतले दिएको उत्प्रेषण आदेशबमोजिम के गर्ने भन्ने विषयमा निर्वाचन आयोगलाई पत्र लेखिएको सिाहाका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले बताए।
अहिले नै आफूले केही भन्न नसक्ने भन्दै मुख्य निर्वाचन अधिकृत खरेलले भने, ‘आफू आयोगले दिएको जिम्मेवारी पुरागर्ने ठाउँमा मात्र भएको भन्दै, हामीले अदालतको आदेशको जानकारी आयोगलाई गराईसकेका छौ, आयोगको आदेश अनुसार हामीले आयोगमा पत्र लेखेका छौं, आयोगको दर्नेशन अनुसार गर्छौ।’
खारेजीमा परेका मेयर पदका उम्मेदवार रामबाबु यादवले अव कसरी अगाडी बढ्नेभन्ने विषयमा साथीहरुसँग सरसल्लाह भईरहेको बतए। साथीहरुको सल्हापछिमात्र के गर्ने भन्ने विषयमा बताउने यादवले बताए।