रामरिझन यादव
मुलुकको सबैभन्दा बढी जनसंख्य मधेश प्रदेशको हो । त्यसैले त्यहाँ मतदातासंगै पद संख्यापनि बढी छ । पद भएपछि प्रतिस्पर्धा हुनु झन स्वभाविक हो । यस अर्थमा सबैको चासो प्रदेश मधेश भएको छ । अहिले त्यहाँ कसको पलरा भारी छ भन्ने कुरा कसैले सोध्यो भने निसंकोच नेपाली कांग्रेसको नाम उच्चारण हुन्छ । किनकि, मधेस प्रदेशको ८ वटै जिल्लाको अधिकांश पालिकाको धेरैजसो ठाउँमा अन्य सबै पार्टीको टक्कर नेपाली कांग्रेससंग छ । अर्थात् नेपाली कांग्रेसलाई कसैले राम्रो नेतृत्व दिन सकेको भए संघीय निर्वाचनको बेला उसले मधेश प्रदेशमा आफ्नो पूर्ववत् अवस्था कायम गर्न सक्ने प्रचूर सम्भावना छ । हो पनि, नेपालको इतिहासमा जतिपटक नेपाली कांग्रेसले सत्तासुखको स्वाद चाखेका छन् त्यो मधेसको कारणले नै हो ।
गत स्थानीय निर्वाचनमा पनि मधेश प्रदेशको १३६ पालिकामध्ये नेपाली कांग्रेसले ४० वटामा आफ्नो वर्चश्व स्थापित गरि सबैभन्दा ठूलो पार्टीको रुपमा नाम दर्ज गराएको थियो । त्यो पनि त्यतिबेला जतिबेला मधेश आन्दोलनको राप र ताप आलै थियो । सबैलाई थाहा भएकै कुरा हो शहीदहरुको रगत चिसो भएको बेला सम्पन्न निर्वाचनमा मधेशी समुदायको भावनात्मक एकता मधेसवादी उम्मेदवारहरुसंग थियो । नेपाली कांग्रेस प्रदेश भरिमा पहिलो भएर पनि निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा सिमित हुन पुगेको थियो । पहिलो र दोस्रोमा तात्कालीन समाजवादी फोरम तथा राजपा थिए ।
तराई मधेशमा जे जति पार्टी गठन भएका छन् त्यसमा ८० प्रतिशत योगदान नेपाली कांग्रेसको छ । जसपा होस् वा लोसपा सबैको जग निर्माण नेपाली कांग्रेसबाट आएकाहरुले गरेका हुन् । त्यसैले नेपाली कांग्रेस कमजार भएकै मधेसवादी पार्टीहरुको कारणले हो । त्यसमा पनि उपेन्द्र यादव र महन्थ ठाकुरको नेतृत्वदायी भूमिकाले कांग्रेसको अवस्था स्खलित भएको हो । यद्यपि उपेन्द्र यादव वामपंथी पृष्टभूमिका हुन् । तर, उनीसंग दक्षिणपंथी धार भएकाहरुको ठूलो जमात छ । अशोक राई र बाबुराम भट्टराईको आगमनले मात्र जनता समाजवादी पार्टीमा कम्युनिष्ट कलर देखिएको हो । अझ राजपाका दक्षिणपंथी धारले लोकतान्त्रिक समाजवादी पार्टी लोसपा गठन गरिसकेपछि महेन्द्र यादवको उपस्थितिले जसपालाई सम्पूर्ण रुपमा वामपंथी पार्टीको रुपमा रुपान्तरण गरेको छ । वैकल्पिक शक्तिको रुपमा दावा गर्ने यसको सबैभन्दा सवल आधार यही हो । जो नेपाली कांग्रेस र नेपाली कम्युनिष्टसंग समदूरी निर्माण गरी आफूलाई सत्ताको केन्द्र विन्दूमा स्थापित गर्न खोजिरहेका छन् । यसपालीको स्थानीय निर्वाचनमा पनि यसको मूल नारा त्यही हो । किनकि, संघ र प्रदेशमा सत्ता स्थापित गर्न स्थानीय निर्वाचनको अहम् भूमिका हुन्छ ।
विमलेन्द्रको जीत शेरवहादुरको हार:
पंचायतकालमा कम्युनिष्ट पार्टीहरुमा फूट देखेर नेपाली कांग्रेसका तत्कालीन महामंत्री गिरिजा कोइराला भन्ने गर्थे माले, मसाले र मण्डले एकै हुन् । अर्थात् कम्युनिष्टहरु जति फुटे पनि पंचायतका मानसपूत्रहरु मण्डले जस्तै हुन् भन्ने उनको आशय हुने गर्थ्यो । तर गिरिजा कोइरालाले जुन ब्यवस्थाको वकालत गर्थे त्यो संसदीय व्ब्यवस्था हो । संसदीय निर्वाचनमा टिकट नदिएको कारण थुप्रैले पार्टी परित्याग गरेको र विद्रोही बनेको उदाहरणहरु छन् । यसरी के देखिन्छ भने सत्ता र शक्तिको कारण नेपाली कांग्रेस कार्यकर्ताहरुको मनोविज्ञान कहिल्यै एक हुन सकेन । भनिन्छ ब्रह्माले पनि नेपाली काग्रेसलाई एक पार्न सक्दैन रे ! हो पनि, यसपालीको मधेश प्रदेशको स्थानीय निर्वाचनलाई याख्या र विश्लेषण गर्ने हो भने मधेस प्रदेशको केन्द्र जनकपुरधामको चुनावी परिदृश्यले कांग्रेस एकताको भण्डाफोर गर्दछ ।
गठबन्धनको आचार संहितानुसार पहिले जितेको ठाउँमा उही पार्टीले टिकट लिने प्रावधान अनुसार जनकपुरधाम उपमहानगरपालिकाको टिकट जसपाले पायो । तर, विश्लेषकहरु अनुसार प्रम शेरबहादुर देउवाले नेता विमलेन्द्र निधिलाई तह लगाउन जनकपुरको टिकटमाथि कुनै दावा नगरेका हुन् । यद्यपि जनकपुरमा कांग्रेससंग टक्कर लिन सक्ने हैसियत कसैको थिएन । एक्लै पनि सजिलै नेकाले चुनाव जित्थ्यो भन्ने विश्लेषकहरुको भनाई छ । गत निर्वाचनमा मधेस आन्दोलनको राप र तापको कारण मधेसवादी राजपाको उम्मेदवारले चुनाव जित्न सफल भयो । यसपाली उसको उपस्थिति नगन्य देखिन्छ । आफ्नो कार्यकालमा गरेको कार्य, व्यक्तित्व तथा पार्टीको संगठनात्मक अवस्था नै सबैको निर्वाचन जित्ने पूँजि हो ।
जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले आफ्नो कार्यकालमा गरेको कार्य, आफ्नो व्यक्तित्व र जसपाको संगनात्मक अवस्था बाहेक २० प्रतिशतभन्दा बढी कांग्रेसीहरुको मत पाउने अवस्था देखिन्न । किनकि, विमलेन्द्र निधिले शेरवहादुरको गठबन्धन विरुद्ध पार्टीको बागी उम्मेदवार मनोज साहलाई खडा गरेका छन् । राजनीतिक रुपमा केन्द्रदेखि प्रदेशसम्म विमलेन्द्र निधिको पक्षले पार्टीको आन्तरिक निर्वाचनमा हार यहोरेपछि डुब्न लागेको आफ्नो राजनीतिलाई एउटा बलियो खम्बाको रुपमा मनोज साहलाई विद्रोही बनाएका छन् । मनोज जिते भने शेरवहादुरको हार र विमलेन्द्र निधिको जीतको रुपमा धेरैले अर्थाएका छन् ।
बागी बनाम कम्युनिष्टः
अघि नै कोट्याइसकेको तथ्य के हो भने संसदीय राजनीतिको मेसो चुनाव हो । नेपाली कांग्रेसले कहिल्यै पनि चुनावको बेला एकीकृत मनोविज्ञान निर्माण गर्न सकेनन् । जसको प्रभाव अब अन्य पार्टीहरुमा पनि प्रचुर मात्रमा पर्न थालेका छन् । आफूलाई कम्युनिष्टको लौह अनुशासनको रबाफ फलाक्ने पार्टीहरुको अवस्था पनि मधेसमा काँग्रेस जस्तै हुन थालेको छ । कतिसम्म भने पार्टीभित्र गुटबादको कारण आफ्नै उम्मेदवारलाई हराउन कम्युनिष्टहरु अहर्निस लागेको देखिन्छ । सप्तरी र सिरहामा यस्ता कैयौं उदाहरणहरु छन् जहाँ माओवादी पार्टीका नेताहरु समेत आफ्नो पार्टीको उम्मेदवारलाई हराएर गोजीको उम्मेदवारलाई जिताउन भरमग्दुर प्रयास गरिरहेका छन् । नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको धरोहरको रुपमा चिनिने सिरहा जिल्लामा पनि यसप्रकारका अभ्यासहरु बाखुबी रुपमा देखिन्छन् ।
तर पार्टीले यसप्रकारको अनुशासनहीन कार्य गर्नेहरु माथि अहिलेसम्म कार्वाही गरेको देखिन्न । यसबाट पनि के देखिन्छ भने कम्युनिष्टहरु पनि नेपाली कांग्रेस पथमा गंगास्नान गर्न उद्यत्त छन् । गोलबजार तथा कर्जन्हा नगरपालिका जहाँबाट पार्टी अध्यक्ष प्रचण्ड स्वयं एक पटक संविधान सभाको निर्वाचन लडेका थिए अहिले बागी उम्मेदवारको कारण अवस्था कमजोर भएको छ ।
कतिसम्म भने पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध प्रदेश समितिको सदस्यले उम्मेदवारी दिएका छन् । माओवादी पार्टी यसप्रकारको विद्रोही उम्मेदवार पहिलो पटक सिरहामा देखिएको हो । माओवादीले अघिल्लो निर्वाचन जितेको नगरपालिका हो यो ।
धनुषाका ‘क’ श्रेणीका ठेकेदारको रुपमा परिचति बलराम साहले निर्वाचन आयोगको उर्दी अनुसार आफ्नो कार्यभार छोराको टाउकोमा हाले । माओवादीबाट टिकट मागे । नदिएपछि स्वतन्त्र उम्मेदवार भएका छन् । क श्रेणीका ठेकेदार बलराम साह गत निर्वाचन ताका माओवादी भएका थिए । किनकि, उनले जनकपुर स्थित प्रचण्ड बसेको महँगो होटलको विल तिरेका थिए । प्रचण्डसंग डिनर खाने शर्तमा उनी त्यो हेटलको विल भुक्तानी गरेका थिए रे !
कसको पलरा भारी ?
मधेस प्रदेशको शासन सत्ता अहिले जनता समाजवादी पार्टीको नेतृत्वमा गठबन्धन सरकारको हातमा छ । यो भन्दा पहिले उपेन्द्र यादव र महन्थ ठाकुरले नेतृत्व गरेको पार्टीको हातमा थियो । अर्थात् उपेन्द्र यादव तथा महन्थ ठाकुरको मिलनले मधेस प्रदेशमा मधेसवादले वर्चश्व स्थापित गरेको थियो । सबैभन्दा बढी पालिका जितेका नेपाली कांग्रेस पनि मधेशवादी भन्दा पछाडि परेका थिए । तर पार्टी विभाजन पश्चात अवस्थामा ठूलो परिवर्तन भएको छ । मधेसवादी कहलिएका जनता समाजवादी पार्टी मजबूत भएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी कमजोर अवस्थामा छन् । मधेस प्रदेशको पूर्वी जिल्लाहरुमा अधिकांश ठाउँमा जनता समाजवादी पार्टीसंग नेपाली कांग्रेसको भिडन्त छ । सिरहा र सप्तरीमा नेपाली कांग्रेस जतिसुकै बलियो भए पनि अवस्था भने जनता समाजवादी पार्टीको राम्रो छ । यसको मूलकारण कांग्रेसभित्रको कलह हो । त्यसैले यी दुई जिल्लामा जसपापछि कम्युनिष्टहरु आउने सम्भावना छ । जसमा एमाले र माओवादी पर्छन । सप्तरी डा. सिके राउतको गृह जिल्ला भए पनि उनलाई एउटा पनि सिट जित्न हम्मे हम्मे पर्ने विश्लेषकहरुको भनाई छ । लोसपा भने यी दुई जिल्लामा कही कतै बलियो स्थितिमा देखिन्न ।
धनुषा र महोत्तरीको हकमा लोसपाले एक दुई स्थानमा हात पार्ने सम्भावना छ । तर धेरैजसो स्थानका नेपाली कांग्रेस, जसपा, माओवादी तथा एमाले जित्ने देखिन्छ । अघिल्लो निर्वाचनमा लोसपाले यी दुई जिल्लामा राम्रो पक्कड बनाएका थिए । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा दुइटा पत्रकारबीचको भिडन्त चाखलाग्दो छ । नेपाल पत्रकार महासंघ महोत्तरीका वर्तमान अध्यक्ष कमलेश कुमार मंडल तथा भूपू अध्यक्ष हरि मंडलबीचको प्रतिस्पद्र्धाले जिल्लामा व्यापक चर्चा छ । भूपू अध्यक्ष मंडल यस अघि पनि मटिहानी नगरप्रमुख भएर कार्य सम्पादन गरिसकेका छन् ।
सर्लाहीमा पनि नेपाली कांग्रेस, जसपा, एमाले र माओवादीले जित्ने सम्भावनाहरु छन् । तर रौतहटमा प्रभ् साहको घर भएको मौलापुर बाहेक एमाले जित्ने सम्भावना न्यून छ । बरु एमालेबाट निस्केका नकपा(एस) ले केही स्थान ओगट्न सक्ने अडकल काटिएको छ । नेपाली कांग्रेस र जसपाबीच भिडन्तको नै बढी चर्चा छ ।
बारा र पर्सामा पनि नेपाली कांग्रेस र जसपा कै भिडन्त छ । गठबन्धनको हिसावले वीरगंज महानगरपालिका जसपाको हिस्सामा परेको छ । जहाँ उसको जित्ने सम्भावना पनि प्रबल छ । यी दुई जिल्लामा नेपाली कांग्रेस र जसपाबीचको भिडन्त हो । कही कही फाटफुट रुपमा एमाले देखिन्छ । तर नेकपा(एस) त्यति देखिन्न । सिमरा उपमहानगरपालिकामा माओवादीको हिस्सामा परेको छ । जहाँ एमालेसंग कसिलो प्रतिस्पद्र्धा छ ।
अन्त्यमा, मधेस प्रदेशमा नेपाली कांग्रेस आफ्नो अघिल्लो निर्वाचनमा प्राप्त गरेको सफलतालाई पुनरावृत्ति गर्न चाहन्छन । जसपा भने आफ्नो आधार अझ कसलिो बनाएको देखिन्छ । केही ठाउँमा उसको थप नाफा हुने सम्भावना छ । एमाले र माओवादीको अवस्था यथावत रहे पनि लोसपालाई आफ्नो इज्जत धान्न हम्मे हम्मे पर्ने देखिन्छ । तर एक आध ठाउँमा नकपा(एस)ले जित्न सके कुनै आश्चर्य मानिने छैन । जनमत पार्टी नजिते पनि अवस्था भने सुध्रिदो छ । धन्यवाद ।