सुरेन्द्र कामती

जिल्लाका १७ स्थानीय तहमा एक सय ३२ महिलाले उपमेयर–उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। जसमा ४० वर्षमुनिका ७० जना र ६० वर्षमाथिका १० जना छन्। जिल्लामा उपमेयर/उपाध्यक्षको उम्मेदवार बनेकी सबैभन्दा कम उमेरकी २२ वर्षीया प्रियंका राम छिन्। सबैभन्दा धेरै उमेरकी ८० वर्षीया लोचनीदेवी साह हलुवाई पनि उम्मेदवार बनेकी छिन्।

लोचनीदेवी हलुवाई (८०)

मिर्चैया नगरपालिका– ६ घर भएकी ज्येष्ठ नागरिक ८० वर्षीया लोचनीदेवी हलुवाई उपप्रमुखको उम्मेदवार बनेकी छिन्। महिलाहरू निकै हेपिनुपरेको, दलितहरू पीडित भएको तथा ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता लिन असहज भएकाले आफूले नेपाल संघीय लोकतान्त्रिक पार्टीबाट मिर्चैया नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएको उनी बताउँछिन्।

पछिल्लो साढे चार वर्ष राम्रोसँग विकास नहुँदा मिर्चैयामा बाढीले नागरिकको घर डुबानमा परेकोजस्ता समस्या रहेको उनले सुनाइन्। ८० वर्षको उमेरमा पनि निकै जोसका साथ उम्मेदवारी दिएको भन्दै लोचनीदेवीले भनिन्, ‘एक रोजगार, एक मकान, एक व्यापार हुनुपर्छ । जसको जे काम छ, त्यो गर्नुपर्छ।’

सामुदायिक विद्यालयमा बालबालिकाको पढाइ कस्तो हुन्छ भन्ने कुराको खोजीनिती गर्ने भन्दै उनले अहिले पनि दलितलाई ‘जुत्तामुनि’ राख्ने प्रवृत्ति रहेको बताइन्। ‘दलितको बालबालिका नांगै हिँड्नुपर्ने अवस्था छ। दलितको घरनजिकैको बाटो बनेको छैन,’ उनले भनिन्, ‘महँगीले गर्दा जनता मारमा छन्। म जनता खुस हुने काम गर्छु।’

प्रियंका राम (२२)
२२ वर्षीया प्रियंका राम सिराहाका सबै स्थानीय तहका उपमेयर–उपाध्यक्षका उम्मेदवारमध्ये सबैभन्दा कम उमेरकी हुन्। धनगढीमाई नगरपालिकामा जनमत पार्टीबाट उपमेयरमा उम्मेदवारी दिएकी उनलाई अहिले घरदैलो गर्न भ्याइनभ्याई छ। उनले प्लस टुसम्मको अध्ययन पूरा गरेकी छिन्।

अढाई वर्षीया काखे छोरी सासूलाई जिम्मा लगाएर बिहानैदेखि चुनावी प्रचारप्रसारमा व्यस्त रहेको उनले सुनाइन्। ‘नयाँ पार्टी भए पनि आफूहरूप्रति जनताको राम्रो समर्थन छ,’ उनले भनिन्, ‘परिवर्तन ल्याउन उम्मेदवारी दिएकी छु। मतदाताले मत दिएर सही निर्णय गर्नेछन्।’

एक त कम उमेरकी, त्यसमाथि पनि दलित चमार समुदायबाट चुनावी मैदानमा उत्रिएकी उनलाई सहज भने छैन।  त्यसैले उनलाई सघाउन पति मिथुनकुमार राम कतारको वैदेशिक रोजगारी छाडेर गाउँ आएका छन्। 

६० वर्षमाथिका १० जनाको उम्मेदवारी
सिराहामा ६० वर्षदेखि ८० वर्ष उमेरका १० महिलाले उपमेयर–उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। जसमा नेकपा (एमाले)बाट बरियारपट्टी गाउँपालिका उपाध्यक्षमा ७० वर्षीया मदनकुमारी कुर्मी, अर्नामा गाउँपालिका उपाध्यक्षमा ६६ वर्षीया रामपुकारी देवी कोइरिन, नरहा गाउँपालिका उपाध्यक्षमा ६५ वर्षीया गुलावदेवी चौधरी रहेका छन्। चौधरी गाउँपालिकाको निर्वतमान उपाध्यक्षसमेत हुन्।

यस्तै, मिर्चैया नगरपालिका उपमेयरमा माओवादी केन्द्रबाट ६६ वर्षीया जीवछीदेवी साहले उम्मेदवारी दिएकी छिन्। साह निवर्तमान उपमेयरसमेत हुन्। लोकतान्त्रिक समाजवादी पार्टीबाट लहान नगरपालिका उपमेयरमा ६१ वर्षीया संसरीयादेवी महतो, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुखीपुर नगरपालिका उपमेयरमा पानोदेवी महरा, नेपाल मजदुर किसान पार्टीबाट सुखीपुर नगरपालिका उपमेयरमा ६० वर्षीया लीलादेवी पासवान, लक्ष्मीपुर पतारी गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र रपमा ७७ वर्षीया मलारी पासमान र कर्जन्हा नगरपालिका उपप्रमुखमा ६० वर्षीया कल्याणीकुमारी ढुंगानाले उम्मेदवारी दिएकी छिन्। ढुंगानाले माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएकी हुन्।                                      नयाँ पत्रिकाबाट।