सिरहा, २५ वैशाख । गोलबजार नगरपालिकामा पार्टीले तय गरेको उम्मेदवार विरुद्ध बागी उम्मेदवार र उम्मेदवारलाई सघाएको भन्दै नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटीले रामचन्द्र महतो सहित छ जनालाई कारबाही गरेको छ ।
गोलबजार नगरपालिकामा माओवादीका बागी मेयर पदका उम्मेदवार महतो, उपमेयरका उम्मेदवार वास्ना मोक्तान, नेताहरू प्रवेश लामा, मनोज सिंह, कमल स्याइवो र पुजन सिंहलाई पार्टी निर्णय विपरित प्रतिगमनकारी शक्तिलाई सहयोग पुग्ने गरी उम्मेदवारी दिएको भन्दै कार्वाही गरेको हो।
माओवादी मधेस प्रदेशका इन्चार्ज गणेश शाहद्वारा जारी कार्वाही पत्रमा गोलबजार नगर समिति, सिराहाबाट कारबाहीको लागि सिफारिस भइ आएको र उनीहरुलाई पार्टी अनुशासन पालना नगरेको देखिएकोले पार्टी विधानको धारा ११ को दफा १ (ग) अनुसार पार्टी केन्द्रको निर्देशन बमोजिम कारबाही गरिएको उल्लेख छ ।