जनकपुर, २५ बैशाख। ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धनुषाको धनुषाधाम नगरपालिकालाई पर्यटकीय नगरीको रुपमा विकास गर्ने योजनालाई समेटिएर धनुषाधाम नगरपालिकामा नेकपा माओवादी केन्द्रले प्रतिज्ञापत्र सार्वजनिक गरेको छ।
धनुषाधाम नगरपालिकाको नगरप्रमुख पदमा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिनुभएका देवेन्द्र कुमार यादव (दिपक) र उपप्रमुखका उम्मेदवार अम्बिका कुमारी विश्वकर्माले उक्त प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन्।
माओवादी केन्द्रले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धनुषाधाम नगरपालिकामा पर्यटन प्रबद्र्धनका लागि करिब २५ किलो मिटर धार्मिक प्राकृतिक पदयात्रा मार्ग निर्माण गर्ने, नगरक्षेत्रमा रहेको धनुष मन्दीर र राम मन्दीरलाई थप सौन्दर्यीकरण र गुणस्तरीय सरसफाईलाई प्राथमिकतामा राखी धनुषाधाम धर्मशालालाई यात्री निवासको रुपमा विकास गरिने तथा सांस्कृतिक संग्राहालयको स्थापना र वाल उद्यानको निर्माणलाई प्राथमिकता दिईने उल्लेख गरिएको छ।
सम्बृद्ध नगरको लागि कृषि भन्ने नाराका चुनाबी प्रतिष्पर्धामा आएको आफुहरु निर्वाचित भएपछि तत्कालै नगरप्रमुखको अध्यक्षतामा कृषि नगर विकास समिति गठन गरी कृषकहरुले बर्षौदेखि खेप्दै आएका मलखाद्य, बिउबिजन, कृषि सामग्री लगायतका समस्याहरुलाई समाधान गरिने नगरप्रमुखका उम्मेदवार यादवले बताए ।
एक गाउँ एक उत्पादनको नीतिलाई प्राथमिकताका साथ लागु गरिने उल्लेख गर्दै उनले कृषि बिमा लागु गरिने र दूध उत्पादक सहकारी मार्फत हरेक वडामा दूध सङ्कलन केन्द्र स्थापनालाई जोड दिने जनाए।
नगरक्षेत्रका सडकहरुको स्तरोन्नति गर्दै हरेक बर्ष ५ देखि १० किलो मिटर कालोपत्र सडक निर्माण गर्ने, सबै वडामा सेवा पुग्ने गरी तीन वटा नगर बस सञ्चालन गर्ने र अलपत्र अवस्थामा रहेको बसपार्क सञ्चालनमा ल्याउने आफुहरुको प्रतिबद्धता रहेको नगरप्रमुखका उम्मेदवार यादवले सुनाए।
सो अवसरमा उपप्रमुखका उम्मेदवार अम्बिका कुमारी विश्वकर्माले दक्ष जनशक्ति निर्माणका लागि सबै माध्यमिक विद्यालयहरुलाई स्तरोन्नति गरी प्राबिधिक तथा व्यवसायिक विद्यालयको रुपमा विकास गर्ने आफुहरुको प्रतिबद्धता रहेको बताए।
फरक क्षमता भएका, गरिब, बिपन्न, दलित एवंम् जनजाती समुदायलाई ल्यापटपको व्यवस्था गर्ने, प्रति विद्यार्थी १० हजार रुपैयाँ छात्रबृति तथा अतिविपन्न समुदायका विद्यार्थीलाई एक इन्जिनियर र दुई ओभरसियर कोर्ष अध्ययन गर्नका लागि सम्पूर्ण छात्रबृति दिईने व्यवस्था गरिने आफुहरुको योजना रहेको उनले उल्लेख गरे।